प्रधानपञ्चदेखि वडाध्यक्षसम्म: ४६ वर्षदेखि जितिरहेका जनप्रतिनिधिको फेरि उम्मेदवार बन्ने धोको
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको सरगर्मी बढेको छ । कतिपय स्थानीय नेता टिकटका लागि दौडधुप गरिरहेका छन् भने कतिले धमाधम आफ्नो दाबेदारी सार्वजनिक गरिरहेका छन् । तर करिब आधा दशकदेखि निरन्तर जनप्रतिनिधिका रुपमा काम गर्दै आएका ओखलढुंगास्थित सिद्धिचरण नगरपालिका– ९ का वडाध्यक्ष दानबहादुर बानियाँलाई भने न टिकटका लागि लबिङ गर्नुपरेको छ, न चुनाव नजित्ने चिन्ता नै छ ।
हो, ६८ वर्षीय बानियाँ २०३२ सालदेखि निरन्तर जनप्रतिनिधिको भूमिकामा छन् । २०३२ मा वडाध्यक्ष, २०३९ मा प्रधानपञ्च, २०४९ र ५४ मा गाविस अध्यक्षहुँदै २०७४ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेका उनी आगामी वैशाख ३० गते हुने निर्वाचनमा पनि वडाध्यक्षमै चुनाव लड्दैछन् ।
निरन्तर जनसेवामा काम गर्दा उनले गाउँको मुहार धेरै फेरेका छन् । जनताका लागि काम गर्दागर्दै उनको मुहारमा मुजा परेको छ, तर उनको सक्रियता घटेको छैन । र, आफ्नो रहरले भन्दा पनि गाउँलेको चाहनाले उनी आगामी वैशाख ३० गते पनि वडाध्यक्षमै चुनाव लड्दैछन् ।
२०१० सालमा जिल्ला सदरमुकाम नजिकैको ज्यामिरेमा जन्मिएका बानियाँले मोलुङ खोला खेखिमाथि ओखलढुंगा सदरमुकामसम्मको क्षेत्रमा ओहोरदोहोर गर्दै जनताको काममा नै जिन्दगीका ४७ वर्ष बिताइसके ।
बानियाँ अहिले पनि सबै उठेर हरेक दिन गाउँको एक फन्को मार्छन् । गाउँमा विकास निर्माणको काम आफैं अनुगमन गछन् । गाउँलेलाई परेको दुःखको आफैं निगरानी र सक्दो सहयोग गर्छन् । अनि घरमा खाना खाएर कार्यालय जान्छन् । कार्यालय पुगेर पनि सेवाग्राहीकै काममा सक्रिय हुन्छन् ।
कार्यालयको काम सकेपछि उनी सिधैं घर फर्कँदैनन् । गाउँलेका दुःख, सुखको सारथि बनिरहन्छन् । परिणामस्वरुप उनी आधा शताब्दीदेखि जनप्रतिनिधि हुन सफल छन् र गाउँलेले पनि उनको विकल्प सोचेका छैनन् ।
कांग्रेसका क्षेत्रीय सभापतिसमेत भइसकेका बानियाँ सानै उमेरदेखि राजनीतिमा प्रवेश गरेको बताउँछन् । उनका हजुरबुवा २०१५ सालमा गाउँका उपप्रधानपञ्च बनेका थिए । भोजराज नाम गरेका गुरु र फुपूका छोरा पृथ्वीबहादुर कार्कीको संगतले कांग्रेस राजनीतिबारे जान्ने मौका पाएको बाँनियाले बताए ।
२०२७ सालमै वडाध्यक्षमा उठ्न खोजेको तर उमेर नपुगेको भन्दै उठ्न नपाएको उनको अनुभव छ । ‘त्यतिबेला उमेर नपुगेर उठ्न पाइनँ’, उनले भने, ‘२०३२ सालदेखि भने जनप्रतिनिधि भएर जनताको सेवा गरिरहन पाएको छु, यसमा मलाई गर्व छ ।’
२०३६ को जनमत संग्रहमा तत्कालीन वडाध्यक्ष पद त्यागेर प्रजातन्त्रको पक्षमा विद्रोह गरेको उनको अनुभव छ । तर बहुदलले हारेपछि पुनः २०३९ सालमा प्रधानपञ्चमा लडेर निर्वाचित भए उनी । २०४६ सालको जनआन्दोलनमा कांग्रेसकै पक्षबाट आन्दोलनमा उत्रिएका उनी आर्थिक पारदर्शिता र जनताको सेवाले नै आफूलाई लोकप्रिय बनाएको दाबी गर्छन् । र, उनको दाबीलाई पुष्टि गरिदिन्छन्, स्थानीय नागरिक पनि ।
‘अब त उमेर पनि धेरै भइसक्यो, चुनाव नलडौं भन्छु’, उनी सुनाउँछन्, ‘तर वडाबासीले तपाईं नै उठ्नपर्छ भनेका छन्, कुनै पार्टीले टिकट नदिए स्वतन्त्रबाटै भए पनि चुनाव लड्छु ।’
उनले चुनाव हारिएला भन्ने डर नभएको बताए । ‘अहिले म आफैंले चुनाव लड्छु भनेको होइन । सबैले तपाईं चुनावमा उठ्नुपर्छ भनेपछि उठ्ने निधो गरेको हुँ । पहिले आफूखुसी लडेको थिएँ, यसपालि वडावासीले गर्दा लड्दैछु । वडावासीले मलाई फेरि जिताउँछन् भन्ने कुरामा विश्वस्त छु’, उनले भने ।
आफ्नो कार्यकालमा उनले गाउँमा तीनवटा प्राथमिक विद्यालय स्थापना गरेका छन् । अन्य विद्यालयको स्तरोन्नति पनि गरेका छन् । गाउँमै स्वास्थ्य चौकी स्थापना गरेका छन् । उनकै पहलमा टोलटोलमा सडक पुगेको छ । घरघरमा बिजुलीबत्ती र खानेपानी पुगेको छ । उनको कामबाट गाउँले खुसी छन् ।
उनी चुनावमा पनि अरू उम्मेदवारले जस्तो प्रचारमा पैसा खर्च गर्दैनन् । माइकिङ, पोस्टरलगायत केहीमा पनि खर्च नगर्ने उनी बताउँछन् । ‘मैले केही गरेको छैन । न त घोषणापत्र नै तयार गरेको छु । चुनाव चिह्न बोकेर घरघर जान्छु र भोट माग्छु’, उनी भन्छन्, ‘विश्वास छ जनताले मलाई भोट हाल्छन् ।’