गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको उजुरी नलिने प्रहरी र सरकारी वकिलविरुद्ध मुद्दा दायर – Nepal Press

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको उजुरी नलिने प्रहरी र सरकारी वकिलविरुद्ध मुद्दा दायर

राजनीतिक दबाबमा मुद्दा कमजोर हुने आशंकासहित अन्तरिम आदेश माग

काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी दर्ता गर्न नमानेपछि पीडितले प्रहरी र सरकारी वकिलविरुद्ध अदालतमा रिट दर्ता गरेकी छन् ।

गत मंसिर १३ गते आफूसँग विवाह गरेर त्यसको तीन महिनापछि अर्की श्रीमती ल्याइ राईले उल्टै कान्छीलाई ‘जेठी’ देखाउने गरी मंसिर २ को बिहे दर्ताको कागज बनाएपछि हिमालय राईले पाटन उच्च अदालतमा मुद्दा दायर गरेकी हुन् ।

महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल), महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र त्यहाँका सह-न्यायाधिवक्ता गंगाप्रसाद पोखरेललाई मुद्दामा विपक्षी बनाइएको छ ।

हिमालयले अदालतसमक्ष बहुविवाहको जाहेरी दर्ता गरी अनुसन्धान कार्य सुरू गर्न/गराउन ती निकायलाई अन्तरिम आदेश दिन माग गरेकी छन् । कसुरदारहरू राजनीतिक व्यक्ति भएको हुँदा राजनीतिक दबाब, प्रभाव र झूठा प्रमाणहरू सृजना गरी मुद्दालाई कमजोर बनाउन सक्ने सम्भावना भएको रिट निवेदनमा पीडितले उल्लेख गरेकी छन् ।

ती निकायहरूले कानूनबमोजिम अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भरमग्दुर प्रयास गर्दा पनि जाहेरी दर्ता गर्न इन्कार गरेको साथै इन्कार गर्नुपर्ने आधार र कारण लिखितरूपमा दिन नमानेको रिटमा उल्लेख छ ।

यो पनि पढ्नुस् : गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको जाहेरी लिन आलटाल, के भन्छन् बौद्धका डीएसपी ?

हिमालयले बुधबार दायर गरेको रिटमा- ‘आफूमाथि भएको अन्यायको विरुद्धमा आफूले सकेको प्रमाण जम्मा गरी न्यायको आश गरी विभिन्न प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय जाँदासमेत उपचार नपाएको कारणले गर्दा न्याय पाउने आशा मरेको र बेघर भइ साथीभाइ तथा आफन्तहरूको सहारामा बस्नु परेको’ उल्लेख छ ।

पछिल्लो समय चैत ११ मा महानगरीय प्रहरी बौद्ध, १४ गते कालिमाटीस्थित प्रहरी वृत्त महिला सेल १५ गते काठमाडौं सरकारी वकिल कार्यालयमा महेश राई र ‘जेठी’ बनाइएकी ‘कान्छी’ श्रीमती माया राईविरुद्ध बहुविवाहको उजुरी लिएर जाँदा दर्ता गर्न नमानेको र आफूहरूको कुरा कसैले नसुनेको पीडितको गुनासो छ ।

महेशले हिमालयलाई गत मंसिर १३ गते राई सम्प्रदायको परम्पराअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बूढानीलकण्ठ-१० कपनस्थित घरमा बस्दै आएकोमा भोजपुरको हतुवागढी-४ की ४५ वर्षीया माया राईले फागुन १६ मा आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको हिमालयको भनाइ छ । माया नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् ।

जेठी श्रीमतीको मृत्युपछि महेशले आफूलाई विवाह गरेर जेठीपट्टिकी छोरीसँग कपनमा राख्दै आएको भए पनि विवाह दर्ता प्रमाणपत्र नगरेको मौकामा आफूलाई निकालेर मायालाई भित्र्याउन खोजेको आरोप हिमालयको छ ।

यो पनि पढ्नुस् : गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर