अविवाहित कविसँग प्रेम संवाद: पूर्वप्रेमिकाहरु छोराछोरीको विहेमा डाक्छन् – Nepal Press
अन्तरंग

अविवाहित कविसँग प्रेम संवाद: पूर्वप्रेमिकाहरु छोराछोरीको विहेमा डाक्छन्

चाकुपाटस्थित कवि तथा लोक संस्कृतिविद् तुलसी दिवसको घरमा ‘मंकी पजल ट्री’का अग्ला-अग्ला तीनवटा रुख छन् । ५० वर्ष हाराहारीका ती रुख दिवसका बाआमा, भाइ, बहिनीले रोपेका हुन् । दिवस स्वयं ८१ वर्षका भइसके । तर, उनलाई ८१ वर्ष मिलिकमा सकिएझैं लाग्छ ।

घरका ती एक्ला रुखझैं एक्लै बाँचेका दिवसलाई थाहा छ, बितिसकेको समय जम्मा तीन सेकेण्डको मात्रै हुन्छ । कसैलाई पर्खनुपर्यो‍ भने मात्रै घडीको काँटा एकदमै विस्तारै चल्छ ।

उनले भिजिटिङ प्रोफेसर बनेर जापानका विश्वविद्यालयमा पढाए । भिजिटिङ स्कलर भएर हवार्ड विश्वविद्यालयमा, क्याम्ब्रिज विश्वविद्यालयमा पढाए । संसारका कुनाकुनामा पुगेर लोकसंस्कृतिबारे व्याख्यान दिएका दिवस अहिले चाकुपाटको आफ्नै घरमा बस्छन् । घरका झ्यालहरुमा, भित्ताहरुमा, पेन्टिङहरुमा सम्झनाका खतहरु खोजिबस्छन् । घरभन्दा ठूलो भएको लस्सीको फेदमा स्मृतिहरु बल्झाइबस्छन् । आफ्नै पुराना पुस्तकहरुमा पुराना मेमोयरहरु पल्टाइबस्छन् ।

लामो सुस्केरा तान्दै भन्छन्, ‘जिन्दगी सोचेजस्तो हुँदैन, चाहेजस्तो हुँदैन । जिन्दगीको आफैंमा कुनै अर्थ छैन । जिन्दगी बाँच्नेले जे गर्छ, त्यसैबाट अर्थ पनि पाउँदो रहेछ । जिन्दगी त खाली कागजको पन्ना हो, मान्छे स्वयंले अर्थपूर्ण बनाइदिनुपर्छ ।

अनि मान्छे स्वयंले दिएको अर्थले जिन्दगीको त्यति ठूलो क्यानभासलाई अर्थ्याउन सक्ला त ?

हरेक मान्छेको जिन्दगीको क्यानभासको साइज आ-आफ्नै हुन्छन् । मान्छेले एउटा टोलमै, गाउँमै जिन्दगी बिताइदिन सक्छ । उसका लागि विशाल ब्रह्माण्ड के हो, त्यो आवश्यक हुँदैन । जिन्दगीलाई बढी आदर्शीकृत गरेर हेर्नु हुँदैन । यथार्थको धरातलबाट हेर्नुपर्छ । जिन्दगीलाई एज इट इज ग्रहण गर्नु र जिन्दगीको आफ्नै सीमाभित्रबाट स्वीकार गरेर आफैंले अर्थ दिने कोसिस गर्नु राम्रो हो ।

तर, मान्छेहरु जिन्दगीलाई बढी आदर्शीकृत गरे, आदर्शको ढोङ ओडेर बाँच्दा रहेछन् !

जिन्दगी दर्शनमा मात्रै बाँच्दैन । दर्शन आवश्यक छ । तर, दर्शनकै निमित्त जिन्दगी समर्पण हुनुपर्छ भन्ने कुरामा विस्वास छैन मलाई । जिन्दगी व्यवहार हो । चिन्तन, दर्शन छन्, हुन्छन् । तर त्योभन्दा बढ्ता जिन्दगी आचरण र व्यवहार हो ।

हाम्रा अनेक दर्शन छन् । विविध सोचाइ, चिन्तन छन् । जीवनअघि र पछिका कुरा छन् । यस्ता अघि–पछिका कुराभन्दा पर जिन्दगीलाई जिन्दगीकै सीमाभित्र राखेर बाँच्नुपर्छ । अगाडि के थियो, पछि के हुन्छ भनेर हामीले अनुभव गर्नै नसक्ने कुराको अर्थ छैन । जसलाई हामी स्मृतिमा ल्याउन सक्दैनौं, अनुभूत गर्न सक्दैनौं भने त्यसबारे बढी सोच्नु अनावश्यक हो ।

मान्छे एक्लै बाँच्दैन । प्रत्यक्षरुपले समाज र परिवारसँग गाँसिएको हुन्छ मान्छे । त्यहाँबाट फुत्कन कोसिस गरे पनि सक्दैन । जिन्दगी चाहेजस्तो हुँदैन, हुन आवश्यक पनि छैन । जे घट्छ, जस्तो रुपमा आउँछ, त्यसलाई स्वीकार्नु अनिवार्य भइदिन्छ । अरु उपाय पनि छैन ।

मानिस समाज, परिवारमा बाँच्छ भन्दै गर्दा तपाईंले विवाह चाहिँ गर्नुभएन है ?

एक्लै भएर पनि मान्छे समाजमा बाँच्छ । समाज, परिवार भनेको विवाह गरेर छोराछोरी हुनु मात्रै होइन । विवाह नगर्दैमा मान्छे एक्लो हुँदैन । एक्लो भएर पनि मान्छे भीडमा हुनसक्छ, भीडमा भएर पनि मान्छे एक्लो हुनसक्छ । जिन्दगीलाई हिसाबको दृष्टिकोणबाट हेर्नु हुँदैन ।

विवाह नगरे पनि विवाहलाई हेर्ने तपाईंको आफ्नै दृष्टिकोण त होला !

निश्चित उमेर भइसकेपछि आवश्यकता हो विवाह । त्यसको नीति, नियम छ । रीति छ । नीति, नियमभित्र नबसी पनि विवाह हुन्छ । पन्चेबजा बजाइहाल्नुपर्ने आवश्यकता पनि हुँदैन । विवाह नै नगरेर पनि मान्छे सम्बन्धमा हुनसक्छ । कतिपय मान्छेले सम्बन्धमा भएर पनि विवाह नभएको जस्तो महसुस गर्न सक्छ । एउटा उमेर पुगेको मान्छेको मात्रै होइन, चराचर सबै प्राणीको सम्बन्ध हुन्छ । त्यसलाई विवाहकरण गर्ने कि नगर्ने, वैयक्तिक छनोट हो ।

मान्छेको जिन्दगी योजनाभित्र हुँदैन । जीवनको चामत्कारिक विशेषता भनेकै अनिश्चितता हो, अनियमितता हो । मान्छेले विवाह, जीवनलाई जसरी सोच्छन्, त्यो सोचाइसँग एकाकार हुने अवस्था र पक्षमा म छैन । अर्को मान्छेको कुरा भन्ने छुट पनि मलाई छैन । सामाजिक रिवाजहरु, एक अर्कोले गर्ने प्रेम, घृणा, वियोग सबै छन् यहाँ । प्रेम गर्नेले पनि घृणा गर्छन् । विवाह नगरी मर्छु भन्नेहरु पनि बाँचिरहेकै छन् ।

विवाह नगर्दा जीवनको एउटा पाटो छुट्छ भन्ने मान्छेहरु पनि भेटिन्छन् । तपाईंको केही छुटेको छैन वैवाहिक नहुँदा ?

मान्छेले जैविक स्थिति र अवस्थाअनुसारको आवश्यकतालाई आफ्नै ढंगले पूर्ति गर्नुपर्ने हुन्छ । हाम्रो ज्ञान अगाडि बढ्छ, समय अगाडि बढ्छ । एक समय दियालो बाल्थ्यौं, पछि कुपी आयो, लालटिन आयो, पेट्रोम्याक्स आयो । अनि बिजुली आयो । बत्ती नहुँदाको विस्वास र आस्था जो थिए, त्यो भत्किएर गए । त्यसैले विवाह नगर्दा नै धेरैथोक छुट्छ भन्ने म मान्दिनँ ।

एकातिर परिवारको जोडबलमा गरिएका विवाहका कारण फ्रस्टेसनमा गएका मान्छेहरु पनि भेटिन्छन् । अर्कातिर परिवारले खोजिदिएका आदर्श विवाहहरु पनि भेटिन्छन् । तपाईंले चाहिँ घरका मान्छेले दिएको विवाहको दबाबलाई कसरी पन्छाउनुभयो ?

मेरो सवालमा त्यस्तो दबाबको स्थिति र अवस्था आएन । मेरो परिवारको चाहना त थियो होला विवाह गरोस् । तर, मलाई दबाब नै दिने प्रवृत्तिको अनुभव गरिनँ । चाहँदाचाहँदै धेरै कुरा हुँदैन, त्यो नभएको कुरा विवाह भइदियो मेरा लागि । नचाहँदा नचाहँदै पनि धेरै कुरा हुन्छन्, त्यो कुरा प्रेम भइदियो मेरा लागि ।

यथार्थमा धेरै महिलाहरु सम्पर्कमा आए । विवाह गर्न चाहनेहरु पनि आए । देशभित्रको मात्रै होइन, संसारभरका महिला आएका थिए । तर पनि मैले विवाह गरिनँ । किनभने चाहेर पनि नहुने रहेछ, फेरि नचाहेर पनि धेरै कुरा हुने रहेछ ।

खोज्दैमा सबै चिज पाइन्छ र ? चाहँदैमा सबैथोक पाइन्छ र ? जीवनको सत्य यही हो । यो सत्यलाई नमानेर, हिसाबकिताबमा बाँचेर, स्वर्ग, नर्कका कुरा गरेर जिन्दगीलाई जटिल बनाइएको छ । म अहिले जहाँ छु, यही नै हो यथार्थ । यथार्थलाई स्वीकार गर्नुपर्ने अनिवार्य आवश्यकता सहित बाँच्छ मान्छे ।

तपाईंका प्रेम सम्बन्धहरु चाहिँ थुप्रा भए ?

त्यो पनि भयो । आफूले चाहेको होइन, उसैले चाहेपछि आफूले पनि नचाहेर धर नहुने भयो । सम्बन्ध भनेको सधैं अनप्रिडिक्टेबल हुन्छ ।

मान्छे हिँडिरहन्छ, त्यसैले सँगै त कोही पनि भइरहँदैन । गाडी त्यहाँसम्म सँगै हिँड्छ, जहाँसम्म प्यासेन्जरको लक्ष्य मिल्छ । एउटा नयाँ सडकको गेटमा उत्रिन्छ भने अर्को बाँसबारीमा उत्रिन्छ । एउटा प्यासेन्जर नयाँ सडकसम्म जान्छ अनि झर्छ । तर, महाराजगन्जसम्म हिँडेको छ भने अलि परसम्म जान्छ ।

बारबार प्रेम हुन सम्भव छ ? मान्छेहरु त भन्छन् कि प्रेम एकैपटक हुन्छ, अन्तिम हुन्छ ।

बारबार नै हुन्छ प्रेम । एउटै व्यक्तिमा सीमित हुने भन्ने हुँदैन । यदि कसैले त्यसो भन्छ भने त्यो अन्धो प्रेम हो । मसँग धेरै सम्पर्कमा आए । कोहीकोही धेरैबेरसम्म बसे । भौतिक नभए पनि आत्मिकरुपमा धेरै परसम्म साथ दिए । तर, ऊ नभए पनि जिन्दगी त हिँडिरहन्छ । जिन्दगी त चल्नुपर्यो, बग्नुपर्यो अनि हिँड्नुपर्यो । जमेर बसेर त भएन नि ! बाटो मिलेन भने छुट्टिन्छ मान्छे ।

छुटेपछि पछुतो हुँदैन ?

पछुतो भए पनि के अर्थ छ र ? हुन सक्ला । तर, पछुतोले के अर्थ दिन्छ र ? जे भयो त्यो भयो, त्यसलाई नभएको बनाउन सकिँदैन । जे भएन त्यो भएन, त्यसलाई भएको बनाउन पनि सकिँदैन । त्यो बनायो भने अर्कै स्थिति र परिस्थितिमा बन्छ । त्यही स्थिति र परिस्थिति आउँदैन । तर, त्यसैसँग टाँस्सिइरहन खोज्यो भने पेच खुस्किने सम्भावना हुन्छ ।

मेरो घरअघिको रुख ५० वर्ष हाराहारी भएको छ । जबसम्म म रहन्छु, यो रुख रोप्नेलाई सम्झिन्छु । सम्झनाहरु कहिलेकाही यसरी रुखसँग टाँस्सिन्छन् । सम्झना घरको झ्यालमा टाँस्सिन्छन् । आँगन, बूइँगलमा टास्सिन्छन् । बार्दली, कोठासँग टाँस्सिन्छन् । र ती ठाउँमा तरंगित भएर फ्लासब्याकमा जानसक्छ मान्छे । तर, हामी त धेरै वर आइसकेका हुन्छौं ।

ती सम्झना, स्मृतिहरुले कहिलेकाहीँ हिर्काउँछ होला है तपाईंलाई ?

त्यो पीडा दिने स्थितिबाट म मुक्त भइसकेँ । अब फेरि त्यो सम्झनाको आगोले आफूलाई पोलाउने स्थितिमा म छैन । सम्झना आउनु स्वभाविक हो । तर, सम्झनामै लट्टु भएर पागल हुने कुरा त आएन नि ! त्यहाँ त्याग गर्नैपर्छ । जुन कुरा प्राप्त हुँदैन, त्यही कुराको पछि लाग्न थाल्यो भने मान्छे आफैं बोल्न थाल्छ, हिँड्न थाल्छ । स्वस्थ मान्छे नै पागल हुन्छ ।

तर, तपाईंसँग प्रेममा जोडिएका मान्छेले विवाहको विन्दु खोज्थे होलान् । तपाईंले कसरी ट्याकल गर्नुभयो ?

विवाहलाई मैले मात्रै पन्छाइनँ । एकजनाले मात्रै पन्छाएर हुँदैन । हिँड्दाहिँड्दै भेटघाट हुन्छ, सँगै यात्रा गरिन्छ । सँगै हिँड्न चाहँदाचाहँदै अगाडि मृत्यु पनि छ । जिन्दगीलाई परम्परागत दृष्टिकोणबाट बाहिर ल्याउनुपर्छ । सिद्धान्तबाट जिन्दगीलाई किचेर, त्यही रङमा राख्ने, त्यही आकारमा ढालेर हेर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्छ । र सबै सम्भव छ ।

तपाईंका टुटेका ती सम्बन्ध नटुटेका भए हुन्थ्यो लाग्दैन ?

सायद त्यसरी सोच्नुको आवश्यकता नै छैन । त्यसरी सोच्न थालियो भने अगाडि बढ्न सकिँदैन । नातिनातिना खेलाइरहेका छन् ती मान्छेहरु, त्यहाँ फेरि जान सम्भव हुँदैन । जीवनको कोर्समा करेक्सन भन्ने नै हुँदैन । क्रस गरिसकेपछि गरियो । अर्को दोबाटोमा भेट्न सकिन्छ त्यो मान्छेलाई । तर, पहिला जस्तो थियो, त्यसरी भेट हुँदैन ।

कतिले मलाई उनका छोराछोरीको विवाहमा डाकेका छन्, म गएको छु । नेपालकै मात्रै होइन, जापानदेखि ब्रिटेनसँग, दक्षिण अमेरिकादेखि उत्तर अमेरिकासम्म फैलियो मेरो सम्बन्ध । हिँड्दा, डुल्दा धेरै देश र संस्कृतिका मान्छे सम्पर्कमा आउँछन् । अनि सम्पर्कमा आउँदा कहिलेकाहीँ च्वाट्ट आँखा लाग्नसक्छ, च्वाट्ट मन बसिदिन सक्छ । तर, त्यस्तो स्थितिबाट पनि छुटिन्छ मान्छे । जसरी आउँछन्, त्यसरी नै लिएर हिँड्नुपर्छ ।

मेरो घरमा अमेरिकन नै आएर बसेकी छे । ब्रिटिस त विवाह नै गर्न आएकी थिइन् । नेपाली पनि विवाह गर्ने भन्दाभन्दै गरिएन । तर, विवाह नगर्नुको कारण भने सामान्य नै हुन्छन् ।

अहिले पनि अफेयरमै हुनुहुन्छ ?

अफेयर नै भनेर छैन । कति मान्छे मसँग रिलेसन चाहनेहरु छन् । मैले वास्ता नगरेको पनि छु । ज–जसले चाहन्छन्, उनीहरुसँग हिँड्न सम्भव छैन । मेरो पनि त मन राख्ने, कतै दिलको खोपामा दियो बाल्ने हुनुपर्यो नि !

तपाईंका जीवनमा कस्ता कस्ता मान्छेहरु ठोक्किए ?

धेरै प्रकारका ठोक्किए । बुद्धि र सौन्दर्यले एकदमै सुन्दर मान्छेहरु पनि आए । तर, सोचेजस्तो हुँदैन रिलेसनसिप भनेको । यो अनिश्चत छ जिन्दगीजस्तै । त्यसैले रमाइलो छ । धेरै मान्छेको सम्बन्ध अनप्रेडिक्टेबल देखेको छु । खुब खुसीसाथ जिन्दगी बिताउला भनेको जोडी तीन महिनापछि छुटेको देखेको छु । र सम्बन्धमा कसैले ठोकुवा गर्ने आँट गर्नु हुँदैन ।

मैले त्रिचन्द्रदेखि पद्मकन्यासम्म पढाएँ नेपालमा । गुरुआमादेखि विद्यार्थीहरु कति हो कति चाहनेहरु थिए । म ब्याडमिन्टन खेल्ने, टेबलटेनिस खेल्ने, भलिबल, फुटबल खेल्ने, नाटक लेख्ने, नाटकमा खेलाइदिने, कविता लेख्ने मान्छे । गाउने, नाच्ने, पेन्टिङ गर्ने, फिल्मको हिरोजस्तो भइदिने । अनि यसै हल्ला चलाइदिन्थे ।

मेरो स्वभावैले धेरै सम्पर्कमा आउँथे । पद्मकन्यामा मैले कम्तीमा सात, आठ हजार अटोग्राफ लेखिदिएको छु । अटोग्राफमा चिठी आउँथ्यो । त्यसलाई आफ्नो ढंगले ग्रहण गर्नु, नगर्नु अर्को पाटो हो । कसैलाई सीधै पीडा दिने पक्षमा म छैन । उसको इमोसनसँग खेल्ने पक्षमा पनि म छैन । मेरो इमोसनसँग कसैले खेलेको पनि म हेर्न चाहन्नँ ।

अन्ततः अहिले आइपुग्दा जिन्दगी कस्तो लाग्छ ?

जिन्दगी बितिसकेपछि दुई मिनेट, दुई सेकेण्डजस्तो लाग्दोरहेछ । मलाई ८० वर्ष पुगेको भन्छन्, तर आठ सेकेण्ड जति बाँचेको पनि लाग्दैन । नबित्दा मात्रै समय लामो हो । बितिसकेपछि एक सेकेण्ड जस्तो लाग्दोरहेछ ।

जिन्दगीलाई करेक्सन गर्न पनि पाउँदैनौं । करेक्सन गर्न खोज्दा समय पनि परिवर्तन भइसकेको हुन्छ । मेरो घरअघिको रुखमा चराहरु आउँछन् । गुँड बनाउँछन् । बच्चा हुर्काउँछन् । अनि उडेर जान्छन् । तर, रुख त उड्दैन । जहाँ उभिएको छ, त्यहीँ सकियो । रुखको नियती र धर्म नै त्यही ठाउँमा उभिनु हो ।


प्रतिक्रिया

One thought on “अविवाहित कविसँग प्रेम संवाद: पूर्वप्रेमिकाहरु छोराछोरीको विहेमा डाक्छन्

  1. तुलसी सरका जिन्दगीमाथिको परिभाषा सटीक औ यथार्थ लाग्ने । उहाँले भनेजस्तै जीवन बाँच्न जाने धेरैले जिन्दगीको जीत हात पार्थे ।जीवनको साह्रै नजिकबाट हिँडेका उच्च विचार शृङ्खला …!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर