स्थानीय चुनाव : रुपन्देहीमा कसरी थपिए ९० मतदान केन्द्र ? – Nepal Press

स्थानीय चुनाव : रुपन्देहीमा कसरी थपिए ९० मतदान केन्द्र ?

रुपन्देही । रुपन्देहीमा अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि रुपन्देहीमा ७ सय मतदान केन्द्र र २ सय ८ मतदानस्थल तोकिएका हुन् ।

यसअघिको प्रदेश एवम् प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा दुई सय आठ मतदानस्थलमा ६ सय १० मतदान केन्द्र थिए । मतदाताको संख्या बढेकोले मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले सरदरमा एक हजार मतदाताको लागि एक मतदान केन्द्र बनाउने योजना अनुरूप अगाडि बढेको बताए । २०७४ सालको चुनावमा पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए । पछिल्लो तथ्यांकअनुसार रुपन्देहीमा ६ लाख ३२ हजार तीन सय ६० मतदाता छन् ।

साउनयता मात्रै निर्वाचन कार्यालयमा ९९ हजार एक सय ४४ जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका थिए । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले रुपन्देहीको मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश धनसिंह महरा र १६ वटै स्थानीय तहको मुख्य निर्वाचन अधिकृत तोकेको छ ।

जिल्लामा रहेका ७९ राजनीतिक दलमध्ये ६ ठूला दलले स्वत चुनाव चिन्ह पाइसकेको र स्थानीय निर्वाचनका लागि रुपन्देहीमा ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालयका शाखा प्रमुख विनोद भट्टराईले जानकारी दिए । कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि ३२ दलले दल दर्ता गराएका छन् ।

कार्यालयका अनुसार राष्ट्रिय दलको मान्यता नपाउनेमा जनमत पार्टी, मंगोल नेसनल अर्गानाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशील पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशील पार्टी, सचेत पार्टी रहेका छन् ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), विवेकशील साझा पार्टी, नेपालकालागि नेपाली पार्टी, नेपाली कांग्रेस (बिपी), सामाजवादी एकता पार्टी, जनसमाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३२ वटा दल दर्ता भएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

योसंगै रुपन्देहीमा ३८ दलले दल चुनावी प्रतिस्पर्धा गर्न पाउने छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा सक्रिय रहेको निर्वाचन कार्यालय प्रमुख अयोधाप्रसाद भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर