चुच्चे नक्सा बुच्चे बनाएर देउवाले भारतप्रति भक्तिभाव देखाए : ईश्वर पोखरेल – Nepal Press

चुच्चे नक्सा बुच्चे बनाएर देउवाले भारतप्रति भक्तिभाव देखाए : ईश्वर पोखरेल

चितवन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाएका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको विषय पछिल्लोपटक नेपाल प्रेसले सार्वजनिक गरेको थियो ।

नेपालको संसदले सर्वसम्मत रूपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन् । पोखरेलले भने, ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसाबले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न सक्नुभएन ।’

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केही उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिए ।

‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर बनाउने काम गर्नुभएको छ,’ उनले भने । प्रधानमन्त्री देउवा पत्नी आरजु राणासँग गएर भारत घुमेर मात्रै आएको उनले बताए ।

राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको उनले बताए । नेपाल र भारतको सहमतिमा गठन भएको ईपीजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उनले बताए ।

फरक प्रसंगमा उनले विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच गठबन्धन आए पनि एमाले एक्लै काफी हुने दाबी गरे । ‘हामीले गरेका काम र आगामी दिनमा गर्ने कामको प्रतिबद्धताका आधारमा चुनाव जित्ने हाम्रो प्रयत्न हो,’ उनले भने ।

सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उनले संवेदनशील विषयमा निर्णय गर्दा पनि आयोगले दलहरूसँग छलफल नै नगरेको बताए ।

‘मनोनयन दर्ता गर्ने समय दुई दिन रे । केका लागि दुई दिन ?’, उनले भने, ‘आयोगले पनि दलहरूसँग परामर्श गरेको छैन । मतपत्रको रङको विषय पनि अनौठो छ ।’

स्थानीय आवश्यकताका आधारमा स्थानीय तहमा चुनावी तालमेल हुनसक्ने उनले बताए । चुनावका लागि केन्द्रीय तहबाट भने गठबन्धन नहुने उनले बताए । ‘स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा अन्य दलसँग तालमेल गर्नु अलग कुरा हो । तर, केन्द्रीय तहबाट कुनै दलसँग चुनावी तालमेल हुँदैन,’ उनले भने ।

एमाले कुनै दलसँग गठबन्धन गर्ने पक्षमा नरहेको उनले बताए । प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै उनले माओवादी केन्द्रसँग गठबन्धन नहुने प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर