लेटाङमा हुर्कँदै गरेको हुर्रा नाच्ने कान्छो पुस्ता
इटहरी । ‘देशै रमाइलो…’ गीतमा जोडिँदै वृत्ताकार भएर हुर्रा भाकामा नाचिरहेका छन् युवा र बालबालिकासँगै वयस्कहरु पनि । नाचिरहेको हेर्दा ६३ वर्षका कमलसिंह मगरलाई ‘नाचै रमाइलो’ लागेको थियो । दुई वर्षअगाडि हुर्रा नाचबाट अवकास लिएका मगरलाई अहिले आफ्ना नाति जेनिस मगरले नाच्न सिकेको देख्दा आनन्द लाग्छ ।
कालो ज्याकेट लाएर नाचिरहेका आफ्ना जेठा छोराका छोरा जेनिस मगरतिर औंला देखाउँदै उनी भन्छन्, ‘उ त्यहीं हो मेरो नाति ।’ कक्षा एकमा पढ्ने जेनिस मगर केही दिनअघि राजारानीमा हुर्रा नाच्ने टोलीका सबैभन्दा कान्छा सदस्य थिए । छ वर्षका उनी अरुले नाचेको हेर्दै नाच्दै दिए । मादल, मुरली र झ्याम्टाको लयमा उनी हात समाएर हुर्राको मज्जा लिँदै थिए ।
हुर्रा नाच्दा कस्तो लाग्छ ? भन्दा उनको तत्कालको उत्तर थियो– देउसी खेले जस्तो ।
जेनिससँगै नाच्ने अरु साथीहरुमा थिए, सात वर्षका कक्षा एकमै पढ्ने आयुश मगर, आठ वर्षका कक्षा दुईमा पढ्ने प्रयास मगर र रिया मगर । दश वर्षका कक्षा चारमा पढ्ने विवश मगर पनि जेनिसकै टोलीमा थिए । जेनिशले मौलिक पहिरन लाएका थिएनन् । स्थानीय बालविकास विद्यालयमा पढ्ने बाँकी साथीहरु भने मगर पहिरनमा सजिएका थिए ।
मगर पहिरन पाएकोमा आयुश, प्रयास, विवश र रिया सबैले तिहारमा कपडा पाएको सुनाए । मगर पहिरन नलाएका जेनिसले अर्को तिहारबाट आफ्नो पनि मगर पहिरन हुने सुनाए ।
उत्तरी मोरङको लेटाङ नगरपालिका– १ को पहाडी क्षेत्र राजारानीका यी कान्छो पुस्ताका हुर्रा नर्तकहरु हेरेर कमलसिंह मगरले आफ्नै बाल्यकाल सम्झिए । ६३ वर्षअगाडि धनकुटाको कुरुलेको खोपी गाउँमा जन्मेका उनले गाँउमै हुँदा हुर्रा सिके, नाचे ।
२०२४ सालमा धनकुटाको कुरुलेको खोपी गाँउबाट बसाइ सरेर मगर लेटाङ– १ को राजारानी क्षेत्रमा आए । उनीसँगै आयो उनको हुर्रा नाच । राजारानी ताल नजिकै मुकाम बनाए । उनले धनकुटाबाट बोकेर ल्याएको हुर्रा संस्कृति अहिले उनको तेस्रो पुस्तामा पुगेको छ । दुई छोरा र एक छोरीका सन्तानहरु सबैले हुर्रा नाच्न जानेकोमा उनी खुशी छन् ।
मगरलाई हुर्राको पुरानो तय क्रमशः बिग्रन थालेकोमा भने चिन्ता छ । संस्कृति जोगिए पनि पुरानो पद्दति भने ज्यूँका त्यूँ नरहेकोमा उनलाई खिन्नता छ । ‘हुर्रामा एकोहोरी र दोहोरी हुन्छ’, हुर्रा नाच देखाउँदै नेपाल प्रेससँग बोल्दै मगरले भने, ‘सबैले एकै स्वरमा गाउँने हुर्रा एकोहोरी हो । एक टोलीको जवाफ अर्कोले फर्काउने हुर्रा नाच दोहोरी हो ।’ आजकाल एकोहोरी हुर्रा चले पनि दोहोरी भने नचलेको उनी सुनाउँछन् । भन्छन्, ‘अहिले दोहोरी हुर्रा नाच्ने गाउँने त गाँउमा कोही पनि छैनन् ।’
हुर्राको दोहोरी र एकोहोरीमा एकखाले तरिका मात्रै चलेकोमा केही खिन्नता बोकेका मगर निराश भने छैनन् । कम्तिमा एकोहोरी भएरै हुर्रा नाच जोगिएकोमा उनी खुशी नै छन् ।
हुर्राको मगर समुदायभन्दा बाहिर आकर्षण बढेकोमा उनी झनै खुशी छन् । ‘पहिले पहिले मगरले मात्रै नाच्ने हुर्रामा अहिले अरु जातको पनि थपिन्छन् । मगरबाट सुरु भए पनि हुर्रा अब सबैको नाच हो’, मगरले सुनाए । उनले थपे, ‘पहिले पहिले चाडबाडमा नाचिन्थ्यो । अहिले अरु कार्यक्रमहरुमा पनि हुर्रा खोजिन थालिएको छ ।’
स्वदेशी र विदेशी पर्यटकहरु समूहमा गाउँमा आउँदा हुर्रा हेर्न खोज्नाले लोकप्रीय भएको मगरको अनुभव छ । लोकप्रीय भएकैले हुर्रा आगामी पुस्ताले बोकेर लानेमा उनी आशावादी छन् ।