निर्वाचन आयोगको बैठकः छलफल नै नगरी प्रतिबद्धता मात्रै खोजेपछि साना दल भड्किए – Nepal Press

निर्वाचन आयोगको बैठकः छलफल नै नगरी प्रतिबद्धता मात्रै खोजेपछि साना दल भड्किए

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता र ऐन नियम कार्यान्वयनबारे प्रतिबद्धता लिन आयोजना गरेको बैठकमा राजनीतिक दलका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

आयोगमा छलफल गर्न स्थानीय तह निर्वाचनका लागि दर्ता भएका ७९ वटै दलका प्रतिनिधिहरू पुगेका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मन्तव्य राख्दै बैठकको सुरूआत गरेका थिए । उनले बोल्नेक्रममा निर्वाचन आचारसंहिताबारे धारणा राखे ।

त्यसपछि निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठक बोलाउनुको कारणबारे प्रष्ट्याउने कोसिस गरेका थिए । त्यसक्रममा उनले निर्वाचन ऐन, नियम र आचारसंहिताको व्यवस्थका बारेमा जानकारी दिएका थिए । त्यसपछि दलहरूको धारणा नै नलिई निर्वाचन आचारसंहिता परिपालनाका लागि दलहरूको प्रतिबद्धता मागेका थिए ।

प्रतिबद्धतामा ‘ऐन, नियमहरूमा उल्लेखित व्यहोरालाई नै उल्लेखित गरेर सारांशमा निकालिएको’ उनले बताएका थिए । त्यसपछि उनले प्रतिबद्धता लिएर समापन गर्न प्रमुख निर्वाचन आयुक्त थपलियालाई आग्रह गरे ।

त्यसक्रममा दलका प्रतिनिधिबाट ‘केही शब्द हामीहरू पनि राख्न चाहन्छौं । हामीले राखिसकेपछि मात्रै तपाईंहरू टुंग्याउन होला’ भनेर आपत्ति जनाएपका थिए ।

त्यसपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘यहाँहरूलाई प्रतिबद्धता पत्रमा सही गर्न बोलाएको हो । छलफल गर्न होइन्,’ भनेपछि उनीहरू थप आक्रोशित भए ।

‘होइन भने आपत्ति छ । सत्तामा बसेका दलहरूको कुरा सुनेर मात्रै निर्णय गर्ने, उनीहरूका कुरा सुनेर मात्रै तपाईंहरूले कार्यक्रम अगाडि बढाउने । अहिले आएर सबै दललाई साक्षी मात्रै राख्न पाइन्न’, हलमा एक नेताले भने ।

यसरी साना दलहरूले आपत्ति जनाउन थालेपछि अहिले बोल्न चाहने दलहरूलाई पाँच/पाँच मिनेटको समय दिएर छलफल अगाडि बढाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर