राप्रपा नेपाल प्रतिकूलतालाई चिर्दै अघि बढ्छ : कमल थापा – Nepal Press

राप्रपा नेपाल प्रतिकूलतालाई चिर्दै अघि बढ्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो समयको तयारीका बाबजुद पनि स्थानीय तह निर्वाचनमा पार्टीको सम्मानजनक उपस्थिति हुने भएको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष थापाले प्रतिकुलतालाई चिर्दै उच्च मनोबल सहित अघि बढ्ने उद्घोष गर्दै स्थानीय तह निर्वाचनमा होमिन नेताहरूलाई आग्रह गरे ।

थापाले बाह्य शक्तिको चलखेल बढेर गएको, अर्थतन्त्र धराशायी भएको, बेरोजगारी समस्या विकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रूपमा अनियन्त्रित ढङ्गले बढेको, धर्म परिवर्तनको डढेलो लागेको बेलामा वैकल्पिक मार्गचित्र आवश्यक भएकोले राप्रपा नेपाल पुनर्जागृत गर्नुपरेको बताए ।

उनले भने, ‘जनताको माझमा गएर विश्वास आर्जन गर्नुको विकल्प नभएकोले हामी सबै जनताको माझमा जान ढिलाइ गर्नु हुन्न’, थापाले भने । भ्रमहरूलाई चिर्दै अघि बढ्न थापाले नेताहरूलाई आग्रह गरे ।

बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो आफ्नो जिल्लाको सांगठनिक अवस्था र चुनावी तयारी बारे जानकारी गराएका थिए ।

घोषणा पत्र र चुनाव चिन्ह सार्वजनिक गर्न चैत २५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर