इँटा उद्योगीको गुनासो : अभावै अभावमा उद्योग सञ्चालन गर्नुपरेको छ – Nepal Press

इँटा उद्योगीको गुनासो : अभावै अभावमा उद्योग सञ्चालन गर्नुपरेको छ

रुपन्देही । इँटा उद्योगीले अभावै अभावमा आफूहरूले उद्योग सञ्चालन गर्नुपरेको भन्दै सरकारप्रति गुनासो गरेका छन् ।

बुधवार भैरहवामा आयोजित नेपाल इँटा उद्योग महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन तथा तेह्रौँ वार्षिक साधारण सभामा बोल्ने उद्योगी–व्यवसायीले सरकारले कर लिने तर सेवा सुविधा कुनै नदिएको, मजदुर, माटो र भस्कट अभावका बिच पनि उद्योग सञ्चालन गर्नु रेको भन्दै गुनासो गरेका हुन् ।

उनीहरूले कोरोना महामारीले थला परेको, त्यसमा पनि बीमा नहुँदा वर्षेनी बेमौसमी वर्षाले करोडौँको काँचो इँटामा क्षति व्यहोर्नुपरेको गुनासो लुम्बिनी प्रदेश इँटा उद्योग संघका अध्यक्ष थानेश्वर घिमिरेले गरे ।

उद्योगीले भन्सारमा कोइलाको गुणस्तर जाँच गर्ने मसिन नभएको, दक्ष कामदार नहुँदा र विदेशबाट मजदुर कोइला आयात गर्दा ७० प्रतिशत पुँजी भारततर्फ गइरहेको बताए ।

उद्योगीले सरकारको कुनै सहयोग नहुँदा पनि प्रदूषण नियन्त्रण प्रयाससमेत गरेको नेपाल इँटा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सङ्कर बहादुर चन्दले बताए ।

उद्योगीका अनुसार इँटा उद्योग पूर्ण रूपमा चार महिना मात्र सञ्चालनमा आउँछन् । बर्सातको समयमा बन्द हुन्छन् । त्यसैमाथि बेमौसमी वर्षाले बर्सेनि क्षति पुग्दा उद्योगी झनै समस्या परेका छन् ।

उद्योगीका अनुसार यस वर्षको बेमौसमी वर्षाले रुपन्देहीमा मात्रै ८ करोडको काँचो इँटा नष्ट भएको थियो । साधारण सभामा बोल्ने उद्योगीले माटो, भस्कट, पेट्रोलियम पदार्थ र कोइलाको मूल्य अत्यधिक बढ्दा उत्पादन लागत वृद्धि भएको बताएका थिए । तर सरकारले यसमा सहयोग नगरेको उनीहरूको गुनासो छ ।

दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा सहभागी हुन मुलुकभरका इँटा उद्योगका प्रतिनिधि भैरहवा जम्मा भएका छन् । नेपालभर झण्डै एक हजार दुई इँटा उद्योग छन् ।

महाधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए ।

उनले प्रदेश सरकारले उद्योगी व्यवसायीको हितका काम गर्न लागिपरेको जनाए । मुख्यमन्त्री केसीले खुल्ला आकाश मुनी उद्योग सञ्चालन गर्नुभन्दा एकीकृत गरेर उद्योगीले पनि व्यवस्थित गर्नतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *