एमाले रुपन्देहीले पर्सिसम्म वडा अध्यक्षका उम्मेदवार टुंग्याउने – Nepal Press

एमाले रुपन्देहीले पर्सिसम्म वडा अध्यक्षका उम्मेदवार टुंग्याउने

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देहीले चैत २६ गते जिल्लाको १६ वटै पालिका अन्तर्गतका वडाहरुमा वडाअध्यक्ष तथा सदस्य पदका उम्मेदवारको छनौट गर्ने भएको छ ।

पार्टी जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले २८ गतेसम्ममा प्रस्तावित उमेदवारको नाम जिल्लामा पठाउने गरी निर्णय गरेको जिल्ला कमिटीका सचिव यज्ञ गैरेले बताए ।

बैठकले वैशाख ९ गते प्रत्येक पालिका कमिटीले घोषणा–पत्र तथा प्रतिवद्धता सार्वजनिक गर्ने, पार्टीका तर्फबाट जनप्रतिनिधि जितेका पालिकामा पाँच वर्ष भित्र गरिएका कामहरु तथा संघ र प्रदेशका तर्फबाट भएका कामहरु जनताको बीचमा लैजाने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी स्थानीय तहको निर्वाचन सम्पन्न गर्न ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको बैठकले निर्वाचन अभियानसंगै पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता विस्तार अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्माले रुपन्देहीको १६ वटै स्थानीय तहमा नयाँ इतिहास कोरिने गरी पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । एमालेप्रति बढदै गएको जनलहरले पनि एमालेको विजयलाई सुनिश्चित गरेको विश्वकर्माले दाबी गरे ।
वडा तथा पालिकाको उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत रुपमा सहमति कायम गर्नुपर्नेमा जोड दिदै उनले प्रतिस्पर्धाको नाममा कोही पनि गलत ढंगले प्रस्तुत हुन नहुने बताए ।

पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही सहइञ्चार्ज शिवराज सुवेदी, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेललगायतले बोलेको थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर