च्याम्पियन्स लिगका लगातार खेलमा ह्याट्रिक: रियल म्याड्रिडमा रोनाल्डोलाई बिर्साइरहेका बेन्जेमा – Nepal Press

च्याम्पियन्स लिगका लगातार खेलमा ह्याट्रिक: रियल म्याड्रिडमा रोनाल्डोलाई बिर्साइरहेका बेन्जेमा

लण्डन । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रि क्वाटरफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले पहिलो हाफमा अग्रता लिएपछि रियल म्याड्रिड अगाडि बढ्न नसक्ने आँकलनहरु सुरु भएका थिए।

लियोनल मेस्सी, केलियन एमबाप्पे र नेमारजस्ता स्टार स्ट्राइकर सम्मिलित पीएसजीविरुद्ध २-० ले पछि परेको अवस्था उल्टाउनु रियल म्याड्रिडका लागि पक्कैपनि गाह्रो विषय थियो। तर घरेलु टोली दोस्रो हाफमा खह्रो उत्रियो र ७८ औँ मिनेटसम्म पुग्दा रियल म्याड्रिड ३-१ गोलले अगाडि बढ्यो।

त्यसपछि पीएसजीले गोल फर्काउन सकेन र रियल म्याड्रिड शानदार पुनरागमनको नतिजासहित क्वाटरफाइनल पुग्यो। स्पेनिस क्लबको जितमा ३४ वर्षे फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमा नायक बनेका थिए। रियलका तीनवटै गोल बेन्जेमाको नाममा रहेको थियो।

फेरि उनै बेन्जेमाको ह्याट्रिक मदतमा रियल म्याड्रिडले क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीलाई ३-१ गोलले हराएको छ। चेल्सीको मैदानमा भएको खेलमा बेन्जेमाले २१, २४ र ४६ औँ मिनेटमा गोल गरेका थिए।

सर्वाधिक १३ पटकको विजेता रियल म्याड्रिडले सन् २०१८ यता युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। त्यो त्यही सिजन थियो जसमा रियल म्याड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो। क्रिस्टियानो रोनाल्डोले पनि त्यसपछि रियल म्याड्रिड छाडेका थिए।

रोनाल्डो र बेन्जेमा एकै वर्ष, सन् २००९ मा रियल म्याड्रिड भित्रिएका हुन्। तर बेन्जेमा सँधै रोनाल्डोको छायाँमा परे। रियलमा रहँदा रोनाल्डोले चारपटक फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए भने तीनपटक युरोपियन गोल्डेन बुट जिते।
घरेलु लिगदेखि च्याम्पियन्स लिगसम्म रोनाल्डोले गोलहरुको वर्षा गरे। रियल म्याड्रिड भनेकै रोनाल्डो हो भन्ने अवस्था रह्यो। हुनपनि रोनाल्डोले छाडेयता रियल म्याड्रिडले फेरि च्याम्पियन्स लिग उपाधि जित्न सकेको छैन।

घरेलु लिग पनि एकपटक मात्र हात पारेको छ। च्याम्पियन्स लिगदेखि विश्वकपसम्म जितेका बेन्जेमाले जित्न बाँकी अब केही छ भने प्रतिष्ठित व्यक्तिगत अवार्ड। त्यसका लागि लामो समय रोनाल्डोको छायाँमा परेका बेन्जेमा विस्तारै खुल्दैछन्। बेन्जेमा सन् २०१९र२० सिजन ला लिगाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए।

म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्ड बेन्जेमा विस्तारै रोनाल्डोको छायाँबाट बाहिर आइरहेको बताउँछन्। उर्जाशिल समय रोनाल्डोकै गुनगान मात्र सुनेर विताएका बेन्जेमा करियरको अन्तिम समयतिर जमिरहेका छन्। रियल म्याड्रिडमा यतिबेला, विगतमा रोनाल्डोको झैँ, बेन्जेमाकै मात्र गुनगान चर्किरहेको छ।

यो सिजन रियल म्याड्रिड घरेलु लिगको शीर्षस्थानमा छन्। घरेलु लिगको उपाधिका लागि रियल म्याड्रिड बलियो दावेदार देखिन्छ। बेन्जेमा यो सिजन ला लिगामा २४ गोल र ११ असिस्टसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छ।
दोस्रो स्थानमा रहेका रियल म्याड्रिडकै जुनियर भिनिसियसको नाममा १४ गोल र ६ असिस्ट छ। बेन्जेमाले च्याम्पियन्स लिगमा पनि यो सिजन ११ गोल र १ असिस्ट छ।

१२ गोल र ३ असिस्टसहित बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की सर्वाधिक गोलकर्ता रहेका छन्। लेवान्डोस्की पछिल्ला दुई सिजनका फिफा वर्ष खेलाडी हुन्। उनले यो सिजन घरेलु लिगमा ३१ गोल र १ असिस्ट गरेका छन्। बेन्जेमाले प्रिमियर क्लब करियरमा ७ सय ६३ खेलमा ३ सय ९७ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *