विश्व नम्बर १ धनाढ्यको कथाः यस्तो छ ५०० देखि २९० अर्ब डलरसम्मको यात्रा – Nepal Press

विश्व नम्बर १ धनाढ्यको कथाः यस्तो छ ५०० देखि २९० अर्ब डलरसम्मको यात्रा

काठमाडौं । फोर्ब्सले यस वर्षको विश्वका धनाढ्यहरूको सार्वजनिक गर्दा कुल २९०.३ अर्ब अमेरिकी डलर सम्पत्तिका साथ विश्वका सर्वाधिक धनी व्यक्तिको रूपमा उदाएका छन् एलन मस्क । चार वर्षदेखि शीर्षस्थानमा रहेका जेफ बेजोसलाई दोस्रो स्थानमा धकेल्दै उनी नम्बर १ धनाढ्य बनेका हुन् ।

एलन मस्क बहुचर्चित विद्युतीय गाडी उत्पादन गर्ने कम्पनी टेस्ला तथा एरोस्पेस कम्पनी स्पेसएक्सका संस्थापक हुन् । यी दुई कम्पनीका बाबजुद मस्कका सोलार सिटी, हाइपर लूप, न्यूरा लिन्क, द बोरिङ्गलगायतका कम्पनीलाई पनि अत्यधिक सफल कम्पनीको रूपमा लिने गरिन्छ । प्रसिद्धी र सफलताको पर्यायको रूपमा स्थापित भएका एलन मस्क धेरैका लागि प्रेरणा र उत्प्रेरणाको स्रोत हुन् ।

भनिन्छ, मस्कजस्ता विलक्षण प्रतिभावान व्यक्ति शताब्दीमै एकाध मात्रै जन्मिन्छन् । सन् २०१२ मा पहिलोपटक २ अर्ब अमेरिकी डलर कुल सम्पत्तिका साथ अर्बपतिको सूचीमा परेका मस्क यो वर्ष विश्वकै धनी व्यक्तिको रूपमा स्थापित भए ।

उनको व्यवसायिक यात्रा भने १२ वर्षको उमेरदेखि सुरू भएको थियो । १० वर्षको उमेरदेखि कम्प्युटर प्रोग्रामिङको स्वअध्ययन सुरू गरेका मस्कले १२ वर्षको उमेरमा कम्प्यु गेम बनाएका थिए । जुन गेमलाई ५०० डलरमा बेचेर व्यवसायिक यात्रा सुरू गरेका थिए ।

इन्टरनेट, नवीकरणीय ऊर्जा र स्पेस ट्राभलले आफूलाई सदैव आकर्षित गर्ने बताइरहने मस्कले सन् १९९५ मा जिप २ नामक कम्पनी स्थापना गरेका थिए । जिप २ कम्पनी एक टेलिफोन डाइरेक्टरी किसिमको कम्पनी थियो । आफ्नै भाइसँग मिलेर खोलिएको उक्त कम्पनी छोटो समयमै सफल व्यवसायको रुपमा स्थापित हुन पुग्यो । उक्त कम्पनीमा उनले अन्य लगानीकर्तालाई पनि भित्र्याउन सफल भए ।

तर, आफैंले स्थापित गरेको जिप २ कम्पनीबाट उनी स्वयं निकालिए । पछि उक्त कम्पनी कम्याक नामक अर्को कम्पनीलाई बेचियो । जीप २ को विक्रीपश्चात् उक्त कम्पनीको सात प्रतिशत सेयर होल्ड गरिरहेका मस्कले २२ करोड अमेरिकी डलर प्राप्त गरे ।

र उनले एक्स डटकम नामक कम्पनी सुरू गरे । अनलाइनमार्फत आर्थिक कारोबार गर्ने कम्पनी थियो त्यो । जुन सन् २००० मा कन्फिनिटी नामक कम्पनीसँग मिस्सिएर पेपालको नाममा काम गर्न थाल्यो । पेपाल हालसम्म पनि सञ्चालनमा छ ।

२००१ मा पेपालका सीईओ तथा निर्देशकको रूपमा एलन मस्कले कार्यभार सम्हाले । यद्यपि त्यस्को केही समयमै कम्पनीको आन्तरिक विवादका कारण उनलाई कम्पनीको सिईओ पदबाट निकालियो । उनी कम्पनीबाट आफ्नो सेयर बराबरको १६५ मिलियन अमेरिकी डलर लिएर निस्किए ।

त्यसपछि उनले मंगल ग्रहमा मानव बस्तीको सपना देख्न थाले । मस्क भौतिकशास्त्रका विद्यार्थी रहेता पनि रकेट साइन्सको औपचारिक अध्ययन गरेका थिएनन् । सानै उमेरदेखि किताब पढ्न औधी रुचाउने मस्कले त्यसपछि रकेट साइन्सको स्वअध्ययन सुरू गरे । सन् २०२५ सम्म मंगल ग्रहमा बस्ती बसाउने सपना देखेका मस्कले सन् २००२ मा स्पेस एक्स नामक एरोस्पेस कम्पनीको स्थापना गरे ।

स्पेस यात्राको पहुचलाई सर्वसुलभ बनाउने हेतुले उनले पुनः प्रयोगमा ल्याउन सकिने रकेट अर्थात रियुजेबल रकेटको परिकल्पना गरे । भर्खर स्थापना भएको निजी एरोस्पेस कम्पनीले स्पेस ट्राभलको सदियौँ पुरानो पद्दत्तीलाई पुनपरिभाषित गर्देला भन्ने सोच त्यो समयमा कसैको पनि थिएन ।

सन् २००६ मा रियुजेबल रकेटको अवधारणा लिएर उनले पहिलोपटक रकेट प्रक्षेपण गर्ने घोषणा गरे । विडम्बना, उनको त्यो प्रयास असफल भयो । रकेटले उडान नलिँदै उक्त रकेटमा आगलागी भएको थियो । सन् २००७ मा उनले फेरि प्रयास गरे । तर,सो प्रयास पनि विफल हुन पुग्यो ।

उनको तेस्रो प्रयास पनि असफल हुन पुग्यो । सो समयसम्म आइपुग्दा उनी लगभग टाट पल्टिसकेका थिए । तर, उनको इच्छाशक्ति मरिसकेको थिएन । आफ्नो सबै सम्पत्ति दाउमा लगाएर उनले चौथोपटक फेरि रकेट प्रक्षेपणको घोषणा गरे । अन्तत: सन् २००८ मा उनको रकेट प्रक्षेपण सफल हुन पुग्यो ।

हाल उनको कम्पनीले नासाको लागि कार्गो तथा उपग्रह अर्बिटसम्म पुर्याउने काम गरिरहेको छ । स्पेसएक्सको स्थापना भएको केही समयमै उनले टेस्ला मोटर्समा समेत लगानी गरेका थिए । हाल टेस्लाको मार्केट भ्याल्युएसन एक खर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ ।

अधिकांश मानिसहरूलाई टेस्ला कारको विषयमा मात्र थाहा हुने गर्छ । यद्यपि टेस्ला कम्पनीको कुल आम्दानी टेस्ला कारमा मात्रै निर्भर नभइ ऊर्जा क्षेत्रमा पनि छ । टेस्ला कम्पनीले सोलार रुफ (छत)हरुको पनि कारोबार गर्दै आएको छ ।

एलन मस्कको ओपन एआई, न्यूरोलिन्कलगायत कम्पनीमा पनि लगानी रहेको छ । जसरी एलन मस्कको सम्पत्ति वृद्धि हुँदै गएको छ, यही रफ्तारमा जाने हो भने एलन मस्क विश्वको पहिलो खर्बपति हुने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर