प्रकाण्ड निर्वाचन आयोग पुगेपछि विप्लव नेकपामा खैलाबैला, सुदर्शन भन्छन्- पार्टी निर्णयविपरित र आपत्तीजनक – Nepal Press

प्रकाण्ड निर्वाचन आयोग पुगेपछि विप्लव नेकपामा खैलाबैला, सुदर्शन भन्छन्- पार्टी निर्णयविपरित र आपत्तीजनक

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता निर्वाचन आयोग पुगेकोप्रति पार्टी सचिवालयका एक नेताले आपत्ती जनाएका छन् । पाँच सदस्यीय सचिवालयमध्येका एक नेता हेमन्त प्रकाश ओली ‘सुर्दशन’ले पार्टी प्रवक्ता निर्वाचन आयोगमा जाने विषयमा कुनै पनि छलफल नगरेर निर्वाचन प्रक्रियाका बारेमा बुझ्न जानु गम्भिर गल्ति भएकाले यसमा आफ्नो आपत्ती रहेको नेपाल प्रेससँग बताएका हुन् ।

सचिवालय सदस्य सदर्शनले नेपाल प्रेससँग भने, ‘अस्ति केन्द्रीय समिति बैठकले निर्वाचनमा नजाने निर्णय गर्ने । फेरी आज त्यसै निर्णय विपरित निर्वाचन आयोगमा गएर निर्वाचनमा जाने हो र निर्वाचनमा जाने प्रक्रियाका बिषयमा बुझ्न जानु पार्टीका लागि आपत्तीजनक छ ।’

सुदर्शनले आफुहरुसँग कुनै पनि छलफल नगरेर प्रकाण्ड निर्वाचन आयोग पुगेको सञ्चारमाध्यमबाट जानकारी पाएको बताए । उनले भने, ‘उहाँ किन निर्वाचन आयोग पुग्नुभयो मलाई केहि पनि थाहा छैन । एकै पटक समाचार पढेर थाहाँ पाए । समाचार मात्र होला भन्ठानेको थिए उहाँले त भिडियोमा नै निर्वाचनमा जानका लागि प्रक्रिया बुझ्न आएको भनेर भन्नुभएछ ।’

निर्वाचन आयोगमा गएर बुझ्ने विषयमा पार्टीमा कुनै पनि छलफल नभएकाले यसरी एक्कासी जानु पार्टीको निर्णय विपरित भएकाले यसबारेमा पार्टीमा छलफल गर्ने सचिवालय सदस्य सुदर्शनले बताए । उनले भने, ‘यसबारेमा पार्टीमा कुनै पनि छलफल भएको छैन । यसलाई मैले गम्भिर रुपमा लिएको छु । यस विषयमा पार्टीमा गम्भिर रुपमा छलफल हुन्छ ।’

केहि दिन अघि मात्र कपिलवस्तुमा सम्पन्न विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठकमा ६८ जना केन्द्रीय सदस्यमध्ये सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ र धमेन्द्र बास्तोला ‘कञ्चन’सहितका ४० जना चुनाव बहिस्कारको पक्षमा उभिएका थिए । त्यस्तै, चारै जना सल्लाहकार पनि अहिले चुनाव उपयोग गर्नु क्रान्तिकारीको लागि वस्तुगत र आत्मगत दुबै अवस्था नभएको भन्दै बहिस्कार गरेर जाने पक्षमा नै उभिएका थिए ।

चुनाव सहभागी हुने विप्लवको प्रस्तावको पक्षमा भने स्वयम विप्लव, सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र सचिवालय सदस्य सन्तोष बुढामगरसहित २४ जना केन्द्रीय सदस्य निर्वाचनको पक्षमा उभिउका थिए । चार जना केन्द्रीय सदस्यले भने कुनै पनि पक्षमा उभिएका थिएनन् ।


प्रतिक्रिया

One thought on “प्रकाण्ड निर्वाचन आयोग पुगेपछि विप्लव नेकपामा खैलाबैला, सुदर्शन भन्छन्- पार्टी निर्णयविपरित र आपत्तीजनक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर