बुटवलमा आकर्षणको केन्द्र बन्दै बैठौलिया ताल, ३० बिगाहामा बिस्तार
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नं. १६ सेमलारमा रहेको बैठौलिया कपरकट्टीताल करिब ३ बिगाह सिमसार क्षेत्रमा लामो समय खुम्चिएको थियो । प्राकृतिक सिमसार क्षेत्र भए पनि यो पुरिँदै, मासिँदै र अतिक्रमित हुँदै थियो ।
चार वर्षयता यो सिमसार क्षेत्रको खोजी भयो, संरक्षण भयो, तत्कालै व्यवस्थित गर्न थालियो र अहिले करिब ३० बिगाह क्षेत्रफलमा बिस्तार भयो र सिंगो बुटवलको पहिचान बनाउन थालेको छ ।
धेरैलाई बुटवल उपमहानगरपालिकाभित्रै यति ठूलो प्राकृतिक सिमसार क्षेत्र छ र त्यो विशाल तालका रूपमा विकास गरिएको छ भन्दा पत्यार नलाग्न सक्छ । यो क्षेत्र अहिले उजागर मात्रै भएन यस क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।
ताललाई बुटवलको एउटा महत्त्वपूर्ण स्थलका रूपमा विकास गरिएको छ । अतिक्रमणमा परेको, खुम्चिएको ताललाई संरक्षण गरेर विशाल बनाइएको छ ।
झाडी, जलकुम्भी झार र माटोले चारैतिरबाट पुरिँदै गएको अवस्थामा थियो’ तालको निरीक्षणमा जाँदाको घटना स्मरण गर्दै प्रमुख शिवराज सुवेदीले व्यस्त सहरको एउटा सम्भावनाको क्षेत्रका रूपमा सोच बनाएर संरक्षण र विस्तारका काम एकै पटक सुरु गरेको बताउँछन् । तालसँगै नजिकै रहेको नरेनापुर धाम परिसरलाई पनि जोडेर आकर्षक पर्यटकीय गन्तव्य बनाउने काम जारी रहेको प्रमुख सुवेदीको भनाइ छ ।
उपमहानगरले तालको गुरुयोजना नै बनाएर संरक्षण र विस्तारको काम गरेको हो । थप कामका लागि प्रदेश र संघीय सरकारसँग समेत आग्रह गरिएको छ । केही काममा प्रदेश सरकारले सहकार्य पनि गरेको छ ।
तालका बारेमा उपमहानगरका प्रवक्ता तथा सोही वडाका अध्यक्षसमेत रहेका रामप्रसाद रेग्मीले जानकारी गराउँदासाथ प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य र उपमहानगरका इन्जिनियर, समुदायका नागरिक अगुवासहितको टोलीले स्थलगत अवलोकन र अध्ययन गरेको थियो ।
प्रवक्ता रेग्मीको सक्रियतामा तालको कायापलट मात्र भएको होइन करिब ३ बिघामा खुम्चिएको ताल अहिले झण्डै ३० बिघामा विस्तार भएको स्थानीय देवराज खनालले बताउँछन् ।
पहिले यो स्थानको परिचय दिँदा धेरैले चिन्दैनथे अहिले धेरैलाई यसले पहिचान बनाएको छ, पर्यटन व्यवसायी समेत रहेका खनाल भन्छन्– ‘अब शहरी क्षेत्रको कोलाहलबाट शान्त हुन यहाँ मुख्य गन्तव्य बन्न सक्ने आधार देखिएको छ, स्थानीय तथा प्रदेश सरकारले विशेष योजना बनाएर अगाडि बढ्नु जरुरी छ ।’
सोच र दृढ इच्छाशक्ति भएपछि सफलता मिल्ने रहेछ’ फेरिएको तालको मुहारका बारेमा प्रसन्न हुँदै वडाध्यक्ष रेग्मीले भने–‘जनप्रतिनिधि आएपछि परिवर्तन पक्कै हुने रहेछ भनेर समुदायले प्रशंसा गर्दा अझ खुसी लाग्छ ।’
करिब पाँच वर्षअघि आफू बुटवल उपमहानरकपालिका, वडा नम्बर १६ को वडाध्यक्ष निर्वाचित भएपछि रेग्मीले वडामा चाँडै गर्नुपर्ने र पाँच वर्षमा गर्न सकिने कामबारे सुझाव संकलन गर्न सर्वपक्षीय भेला बोलाएको स्मरण गर्दछन् ।
भेलामा अनेक सुझावहरूका साथ कपरकट्टीमा रहेको नीलदह संरक्षित र व्यवस्थित गरेर पर्यटकीय स्थलका रूपमा विकास गर्न वडाध्यक्षले प्रस्ताव गर्दा सबैले स्वागत गरे र सहकार्य समेत गर्ने प्रतिबद्धता जनाएका थिए । अहिले त्यो पूर्ण भएको छ ।
स्थानीय देवीराम मरासिनी स्थानीय सरकारले आफ्नो क्षेत्रमा देखिने गरी दीर्घकालीन प्रभाव पर्ने यो महत्त्वपूर्ण योजना बैठौलिया ताल भए पनि यसलाई अझै बजेट तथा योजना अभावमा पूर्ण हुन नसकेको बताए ।
उनले बुटवल उपमहानगरको वडा नं १४, १५ र १६ को मुख्य स्रोत हुने गरी यसलाई दीर्घकालीन योजना बनाउन सके पर्यटन क्षेत्रमा राम्रो सम्भावना रहेको बताए । उनले बुटवलबाट आराम गर्न चाहने र लुम्बिनी आएका पर्यटकलाई समेत तान्न सकिने गरी यसलाई बिस्तार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न सक्ने सुझाव स्थानीय सरकारलाई दिएको बताउँछन् ।
यस्तो थियो इतिहास
स्थानीय बुढापाकाहरूका अनुसार नीलदह सय वर्षभन्दा बढी पुरानो ताल मानिन्छ । हाल यो ताल कपरकट्टी चपरखोनवा नामले चिनिन्छ । ताल वरपरका गाउँमा थारु समुदायको बाहुल्य रहेका बस्ती थिए । थारु भाषाबाट चपरखोनवा नाम चल्तीमा आयो ।
तत्कालीन अवस्थामा ताल करिब ३५ बिघा क्षेत्रफलमा फैलिएको थियो । वरपरका गाउँमा बसोबास बाक्लिँदै गयो । यससँगै ताल मानिसको अतिक्रमणमा पर्न थाल्यो । तालमा वर्षातको पानीले बगाएर ल्याउने गेग्रान थुप्रिँदै गयो ।
पानीले भरिएर नीलो देखिनुपर्ने ताल दलदलमा परिणत हुँदै गयो । ताल जलकुम्भी र विभिन्न मिचाहा वनस्पतिले ढाकिँदै र पुरिँदै गएपछि क्षेत्रफल साँघुरो भयो ।
बुटवल उपमहानगरले करिब पाँच वर्षअघि गरेको नाप जाँचमा ताल दुई बिघामा सीमित भएको पाइएको थियो । बाँकी भाग खेत र दलदल थियो । संरक्षण भएपछि ताल विस्तार भएर पहिलेकै स्वरूपमा अझ सौन्दर्यीकरण भएर फैलिएको छ ।
संरक्षणमा स्थानीयले सहकार्य गरेकाले पनि अपनत्व भएको छ । यसको नामसमेत स्थानीय समुदायको सम्मान हुने गरी ‘चपरखोनवा कपरकट्टी ताल’राखिएको छ । ‘कपरकट्टी’ स्थानीय ठाउँको नाम हो । ‘चपरखोनवा’ भनेको थारु भाषामा ‘पानी जमेको ठूलो खाडल’ हो । थारु समुदायको बाहुल्य रहेकाले इतिहासविदरहरुका यी तर्कलाई आधार मान्न सकिने आधार भएको वडाध्यक्ष रेग्मी बताउँछन् ।
कसरी सुरु भयो संरक्षणको पहल ?
तालको भाग झाडी, गेग्रेटो माटोले पुरिने र चारैतिरबाट अतिक्रमणमा परेको थियो । जब संरक्षणको पहलमा जनप्रतिनिधि अगाडि सरे तब समुदायले पनि साथ दियो र पहिलो प्रयासमै कायापलट भयो ।
तीन वर्षअघि पहिलो प्रयास स्वरूप वरपरको अतिक्रमण हटाएर तालको संरक्षण र विस्तारको काम सुरु भएको थियो । हाल स्टिमर सयरसहितको आकर्षक तालको रूपमा विस्तार भएको छ ।
उपमहानगरले ताल संरक्षण र विस्तारका लागि पहिलो र दोस्रो वर्ष ४०–४० लाख रुपैयाँ बजेट दिएको थियो । चालु आर्थिक वर्ष गौरवको आयोजना मानेर चार करोड ८२ लाख रुपैयाँ छुट्याएर काम भएको छ ।
लुम्बिनी प्रदेश सरकारले पहिलो वर्ष ५० लाख र दोस्रो वर्ष २० लाख रुपैयाँ दिएको थियो । चालु आर्थिक वर्षमा भने प्रदेशको पूर्ववर्ती सरकारले १० लाख रुपैयाँ छुट्याएकोमा वर्तमान सरकारले कटौती गरिदिएको वडाध्यक्ष रेग्मीको दुःखेसो छ ।
यसरी थपियो आम्दानीको स्रोत
बुटवल उपमहानगरमा जनप्रतिनिधि आउनुभन्दा अघि आन्तरिक आम्दानी करिब १६ देखि १८ करोड जति थियो । जनप्रतिनिधि आएपछिका वर्षमा यो वृद्धि भएर ५४ करोडसम्म पुग्यो । अबको आवमा वृद्धि भएर झण्डै अर्बको हाराहारी पुग्ने स्रोत निश्चित भएको छ ।
आन्तरिक आम्दानीको एउटा भरपर्दो स्रोतका रूपमा ताल पनि थपिएको छ । ताललाई ठेक्कामा लगाएर आम्दानी समेत गर्न थालिएको छ । तालमा पर्यटकका लागि डुंगा सञ्चालन गर्नेदेखि पैदल परिक्रमा गराउने, साइकिलिङ गराउनुका साथै माछा पालन गरिएको छ ।
स्थानीय युवा रामराजा तिवारीका अनुसार डुंगा सञ्चालन गर्न र माछा पालन गर्न पाँच वर्षका लागि ४५ लाख रुपैयाँमा ठेक्कामा दिइएको छ । तालभित्र प्राकृतिक मूलसमेत रहेकाले पनि यसलाई दीर्घकालीन योजना बनाउन सकिने स्थानीयको भनाइ छ ।
तालसँगै गाउँकै मुहार फेरिएकोमा दङ्ग छन् स्थानीय
अहिले रहेको ताललाई संरक्षण गर्दै व्यवस्थित गराइपछि स्थानीय समुदाय खुसी भएका छन् । तालको संरक्षण तथा व्यवस्थापनका काममा समुदायसँग समन्वय गरिएपछि ताल मात्रै होइन, समग्र क्षेत्रकै मुहार फेरिएको उनीहरूको प्रतिक्रिया छ ।
ताल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानीय युवा अगुवा खेमलाल कँडेलले बुटवलका जनप्रविधिको चासो र इच्छाशक्तिले तालसँगै गाउँकै मुहार फेरिएको बताए ।
उनले तालको सरसफाइ र विस्तारको काममा समुदायलाई दैनिक ज्यालादारीका कामको समेत व्यवस्था मिलाइएको र समुदायलाई सहभागी गराएर संरक्षण, विस्तारका काम अगाडि बढाइएकाले सबैको अपनत्व भएको बताउँछन् । कँडेलले तालको संरक्षण र विस्तारका काम सुरु भएदेखि नै समुदायमा खुसीयाली छाएको धारणा राख्छन् ।
स्थानीय अगुवा कमल ढुङ्गानाले पुरिँदै र मासिँदै गएको प्राकृतिक सिमसार क्षेत्रको ताललाई बुटवलले संरक्षण सँगै व्यवस्थित गरेपछि सिंगो गाउँ बस्ती नै अब नयाँ आकर्षक गन्तव्य बन्ने विश्वास व्यक्त गरे ।
उनले समुदायलाई जोड्दै पर्यटन विकास र पर्यटकीय क्षेत्रको विस्तारमा बुटवलले नमुना काम गरेको बताए । सम्भावनालाई साकार पार्नका लागि समुदायको सहकार्य जरुरी रहेको उनको भनाइ छ । आफूहरूको सुझाव मानेर ताल संरक्षण र विस्तार गरेकोमा स्थानीय बासिन्दा खुसी छन् ।
‘झाडीले ढाकिएको घोलामा यति छिटै पानी भरिएर डुंगा चलाउन सकिएला भन्ने कल्पना पनि गरिएको थिएन । तर इच्छाशक्ति भएपछि गर्न सकिँदो रहेछ’ स्थानीय कमल तिवारीले बताए ।
तालमा थुप्रिएको गेग्रान निकालेर डेढ वर्षअघि नै डुंगा सञ्चालन गरिएको छ । ताल वरिपरि पदमार्ग, टिकट घर, सार्वजनिक शौचालय, डुंगा फर्किने अन्तिम बिन्दुमा बेलिब्रिज, सेल्फीजोन, विश्राम स्थल, लक टायल निर्माण र विद्युतीकरणको काम भएको छ । ताललाई थप सौन्दर्यीकरण गर्ने काम पनि भइरहेको छ ।
मौलिकता जोगाउने र पर्यटक लोभ्याउने स्थल
सांस्कृतिक सम्मिलन र पहिचान बोकेका समुदायले अपनत्व गरेको बुटवलको पर्यटन सर्किट विस्तार भइरहेको छ । उपमहानगरका प्रमुख सुवेदीले कपरकट्टी चपरखोनवा ताललाई नजिकै रहेको नरैनापुर धाम र अन्य पर्यटकीय तथा ऐतिहासिक स्थलहरूसँग जोडेर विकास गर्न तयार पारिएको गुरुयोजना साकार भइरहेको बताए ।
सहरमा मौलिक संस्कृति हराउँदै गए पनि गाउँको मौलिकता बचाउन सके पर्यटकको रोजाइ बन्ने निष्कर्षका साथ उपमहानगरले पर्यटकीय क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखेको सुवेदीको भनाइ छ ।
पशुपतिनाथको समकालीन मानिने नरैनापुर धाम हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ । यो धाममा नेपालका विभिन्न ठाउँबाट र भारतबाट समेत धार्मिक पर्यटक र अध्येताहरू आउँछन् । धामको संरक्षण विस्तार र थप आकर्षक बनाउने काममा उपमहानगरले विशेष चासो दिएर काम गरेको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
धाममा उपमहानगरले हरियाली पार्क, बहुउद्देश्यीय सभा हल, मन्दिर परिसरमा लकटायल, शौचालय निर्माण गरेको छ । मन्दिर परिसरको अवलोकनका लागि अलग्गै संरचना निर्माण गरिएको छ भने सौन्दर्यीकरणका काम भइरहेका छन् ।
पर्यटन सर्किटको मुख्य गन्तव्य
बुटवलले जित गढीलाई केन्द्रमा राखेर बुटवलका सबै पर्यटकीय र पर्यावरणीय क्षेत्र समेटिएको पर्यटन सर्किट बनाएको छ । बुटवल चक्र पथसँगै यो सर्किटमा साइकल लेन, पदमार्गको समेत अलग अलग अवधारणाका साथ काम भइरहेको छ ।
तल्लो सिद्ध बाबा नजिकै आधुनिक प्रकारको झोलुङ्गे पुल निर्माण गरेर वारिपारिका पार्कहरूलाई जोड्ने, पार्कमा खुला व्यायामशाला निर्माण गर्नेसम्मका योजना तय भएका छन् ।
बुटवलका पर्यटकीय क्षेत्रका रूपमा जितगढी, मणि मुकुन्द सेन दरबार भग्नावशेष क्षेत्र, हिल पार्क, पिस पार्क, मिलन पार्क, नरैनापुरसँगै अब यो प्राकृतिक ताललाई पनि जोडेर एकीकृत पर्यटन विकासका काम अगाडि बढाएको छ । तालमा सञ्चालन गरिएको डुंगाको लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले शुभारम्भ गरेका थिए ।
उनले पर्यटन सर्किटको प्रदेशस्तरीय गन्तव्यकै रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताएकाले पनि स्थानीय उत्साहित बनेका हुन् ।
समुदायलाई जोडेर विकास गरिएको योजना नै टिकाउ र दीर्घकालीन महत्त्वको हुने भएकाले यसलाई ध्यान दिन उनले नेतृत्वलाई सुझाव दिएका थिए ।