जब बजारमा चिया खाँदा खाँदै मन्त्री बनेको खबर आयो… – Nepal Press

जब बजारमा चिया खाँदा खाँदै मन्त्री बनेको खबर आयो…

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको चर्चा नौलो होइन । पाँच दलीय गठबन्धनको महत्त्वपूर्ण घटकका रूपमा रहेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नभए पनि बेला बेलामा सरकार परिवर्तनको विषय उठ्नु नौलो होइन । तर, शुक्रवार भने एकाएक यस विषयले मूर्त रूप पाएको छ ।

शुक्रवार पहिलो चरणमा एकीकृत समाजवादीका तीन मन्त्रीलाई राजीनामा दिन लगाएर नेपाली कांग्रेसका तीन जनालाई मन्त्री बनाउने तयारी भइरहेको थियो । यस क्रममा एकीकृत समाजवादीकी नेतृ समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लाल बहादुर खड्का र सामाजिक विकास राज्यमन्त्री मना साउदलाई राजीनामा दिन लगाएर जोशीको ठाउँमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल खड्काको ठाउँमा प्रमुख सचेतक गोविन्द बोहरा र साउँदको ठाउँमा सचेतक टेक बहादुर रैका मन्त्री भए ।

नेपाली कांग्रेसबाट रावल, खड्का र रैका मन्त्री बन्ने आन्तरिक तयारी भइरहेका बेला सम्म पनि रैका लाई यस विषयमा आधिकारिक जानकारी थिएन ।

उनी शुक्रवार साँझ सम्म यस विषयमा अनविज्ञ थिए । केही सञ्चार माध्ययमहरुबाट ‘रैका सामाजिक विकास राज्य मन्त्री’ यस्ता समाचार आउँदा सम्म उनले यसको छनक पाउन सकेनन् ।

राति ८ बजे शपथ ग्रहण गरेका रैकाले साँझ ६ः२० बजे सम्म आफूलाई यस विषयमा जानकारी नभएको बताइरहेका थिए । ‘तपाइले कुन मन्त्रालयमा जिम्मेवारी पाउन लाग्नु भएको हो ? ‘नेपाल प्रेसले उनलाई सोध्दा उनले भने, ‘खै मलाई त यस विषयमा केही जानकारी छैन । म बजारमा चिया खाइरहेको छु ।’

नेपाल प्रेसले उनलाई ५ः५८ मा पनि सम्पर्क गरेको थियो । त्या बेला उनले भनेका थिए, ‘मलाई मन्त्री बन्दै गरेको पहिलो कुरा तपाइले भन्नु भएको हो । खै मलाई त केही थाहा छैन् ।’

उनले आफू मन्त्री बन्न लागेको कुरा जानकारी नभए पनि मन्त्री भएपछि सामाजिक विकासका लागि नमुना काम गर्ने बताएका थिए ।

उनले भने, ‘म मन्त्री बन्ने कुरा त थाहा छैन । तर, बने भने समाज सुधार र शिक्षाका नमुना काम गर्छ।’

सुदूरपश्चिम सरकार पुनर्गठनका लागि भन्दै केही दिन अघि नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावल काठमाडौँ पुगेका थिए । उनकै पहलमा केन्द्रीय गठबन्धनको निर्णय अनुसार सरकार पुनर्गठन भएको हो ।

५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा यस अघि माओवादीको नेतृत्वमा समाजवादी र माओवादी मात्रैले सरकार चलाइरहेका थिए ।

सुदूरपश्चिम प्रदेशमा गठबन्धनको आभास नभएको भन्दै स्थानीय तहको निर्वाचनमा समेत गठबन्धन नहुने कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायरले चेतावनी दिँदै आइरहेका थिए ।


प्रतिक्रिया

One thought on “जब बजारमा चिया खाँदा खाँदै मन्त्री बनेको खबर आयो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर