प्युठानमा सत्तारुढ दलसँग विप्लव नेतृत्वको नेकपाको गठबन्धन
रुपन्देही। प्युठानमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सत्तारुढ दलहरूसँग गठबन्धन गरेर चुनावमा भाग लिने भएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा प्युठानमा क्रियाशील सत्तारुढ दलसँग मिलेर चुनाव लड्न नेकपाले सहमति जनाएको हो ।
नेकपाले माण्डवी गाउँपालिकामा चुनावका लागि माओवादी केन्द्र, कांग्रेस र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको हो ।
शुक्रवार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा सबै पार्टीको सहअस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको जनाएको छ ।
विज्ञप्तिमा नेकपाका तर्फबाट युवा नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन्। यद्यपि पद बाँडफाँड भने भइसकेको छैन ।
जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेकपाले गढका रूपमा लिने गरेको छ ।
अघिल्लो स्थानीय निर्वाचनमा नेकपाले निर्वाचन बहिस्कारको निर्णय गरेको थियो ।