पाकिस्तानी नयाँ प्रधानमन्त्रीमा चर्चामा रहेका सेहेबाज को हुन् ? – Nepal Press

पाकिस्तानी नयाँ प्रधानमन्त्रीमा चर्चामा रहेका सेहेबाज को हुन् ?

काठमाडौं । पाकिस्तानमा इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ प्रधानमन्त्रीको चर्चाको सुरू भएको छ ।

प्रधानमन्त्रीका आकांक्षीहरूले आजसम्म मनोनयन पत्र दर्ता गर्ने भएका छ्न् भने भोलि दिउँसो २ बजे राष्ट्रियसभामा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुने भएको छ ।

स्थानीय सञ्चारमाध्यमले सेहेबाज सारीफ पाकिस्तानका नयाँ प्रधानमन्त्रीको सम्भावना बढी देखाएका छन् । उनी पाकिस्तानको प्रतिपक्ष दल पाकिस्तान मुस्लिम लिगका नेता हुन् । इमरानको अविस्श्वासको प्रस्तावको नेतृत्व उनैले गरेका थिए ।

पाकिस्तान बाहिर त्यति परिचित नभए पनि सारीफलाई पाकिस्तानमा प्रभावकारी प्रशासकको रूपमा लिने गरिन्छ । सारीफको पाकिस्तान सैन्य संयन्त्रसँग पनि सुमधुर सम्बन्ध रहेको जानाकारहरू बताउँछन् । यहाँ सत्ताको बागडोर सम्हालन सैन्य संयन्त्रसँग सुमधुर सम्बन्ध अपरिहार्य मानिन्छ ।

इमरान खानको सत्ता ढल्नुको एउटा कारणमा सैन्य संयन्त्रसँगको बिग्रँदो सम्बन्ध पनि एक मानिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्री रहँदा सारीफले बेइजिङद्वारा वित्त पोषित परियोजनाहरूमा चीनसँग निकटतापूर्वक काम गरी प्रशासनिक कौशलता प्रदर्शन गरेका थिए । अमेरिकासँग उनको राम्रो सम्बन्ध रहेको बताइएको छ ।

सन् १९९९ मा पाकिस्तानमा भएको सैन्य विद्रोहपश्चात जेल सजाय भोगेका सारीफलाई त्यसपछि साउदी अरबमा निर्वासित गरिएको थियो । उनी सन् २००७ मा मात्र पाकिस्तान फर्किएका हुन् ।

उनी नवाज सारीफका भाइ हुन् । सम्पत्ति लुकाएको आरोपमा सन् २०१७ मा नवाज दोषी देखिएपछि पाकिस्तान मुस्लिम लिगको प्रमुखको रूपमा सेहेबाजको उदय भएको हो ।

यद्यपि सारिफको पनि बहुविवाह र लण्डन र दुबईलगायतका अवैधानिक सम्पत्ति रहेको भनी बेला-बेलामा आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर