विष्णु पौडेलको चेतावनी- सार्थक हस्तक्षेप नगरे नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन – Nepal Press

विष्णु पौडेलको चेतावनी- सार्थक हस्तक्षेप नगरे नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन

'एमालेले ल्याएको बजेट प्रतिस्थापनका कारण देश संकटमा फस्दै गयो’

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अर्थतन्त्रको बिग्रँदो अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाललाई श्रीलंका हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएको छ ।

अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्न आयोजित आकस्मिक पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आफूले ल्याएको लोकप्रिय बजेटलाई असफल पार्न ल्याइएको प्रतिस्थापन बिधेयकका कारण देश गम्भीर संकटमा फस्दै आएको बताए ।

पौडेलले सरकारका नीति नै आर्थिक संकटतर्फ लैजाने खालको रहेको भन्दै प्रधानमन्त्री वा मन्त्रीले श्रीलंका बन्न दिन्नौं भन्दैमा पत्याउने अवस्था नरहेको बताए । पूर्वअर्थमन्त्री पौडेलले आफूहरूले सरकार छाडेपछिको ९ महिनामा मुलुकको अर्थतन्त्र कुनै व्यक्तिको गलत नीति र सनकका कारण तहसनहस भएको बताए ।

पौडेलले भने, ‘अहिले नै सार्थक हस्तक्षेप नगरे हामीलाई श्रीलंका हुनबाट कसैले रोक्न सक्ने छैन । कुनै व्यक्ति प्रधानमन्त्री वा मन्त्रीले दाबी गरेर मुलुकको बिग्रदो अवस्थाबाट बाहिर निस्किने होइन । अर्थतन्त्रलाई गलत दिशामा जान जुन नीति अवलम्बन गरिएको छ, त्यसको नतिजा भनेको यसैगरी मुलुक संकटउन्मुख हुने हो र हामीले धान्न नसकिने अवस्थामा पुग्ने जोखिम बढेको छ ।’

पौडेलले ओली नेतृत्वको सरकारले कोभिड अगाडिका सुरूका तीन वर्षमा लगभग ७ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि गरेको भन्दै अहिले कोभिड नर्मल हुँदा पनि ३ देखि ४ प्रतिशतको मात्र प्रक्षेपण गरिएको बताए । उनले अर्थतन्त्रका सबै सूचक नकारात्मक र कहालीलाग्दो रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर