सशस्त्रमा आईजीपी : अहिलेका चार वर्ष, अबका २१ दिन ! – Nepal Press

सशस्त्रमा आईजीपी : अहिलेका चार वर्ष, अबका २१ दिन !

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सोमबार सेवाबाट अवकाश पाउँदैछन् ।

उनी आईजीपीको चार वर्षे पदावधिका कारण अवकाश पाउन लागेका हुन् । सशस्त्र प्रहरीको इतिहासमा ४ वर्षे पदावधि पूरा गर्ने उनी पहिलो आईजीपी बन्दैछन् । तर, खनालपछि बन्ने आईजीपी बढीमा २१ दिनका लागि मात्र हुनेछन् ।

एआईजीहरू पुष्पराम केसी र रामशरण पौडेल पौडेलमध्येबाट एकजनालाई सरकारले सशस्त्रको आगामी आईजीपी नियुक्त गर्नेछ । दुवैजना आगामी वैशाख १८ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।

सशस्त्रमा सेवा अवधि, पदावधि र उमेर हदमध्ये एक कारणले अवकाश पाउने व्यवस्था छ । डीआईजी र एआईजीको पदावधि ४ वर्ष भएपनि सरकारले चाहेमा दुवै दर्जामा एक वर्ष पदावधि थप गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । केसी र पौडेल दुवैको एआईजीमा एक वर्ष थप भएको हो । पदावधि थप नभएको भए उनीहरूको गत वर्ष नै अवकाशमा गइसक्थे ।

वर्तमान आईजीपी खनालसहित एआईजीद्वय केसी र पौडेलले २०४९ बैशाख १९ गते नेपाल प्रहरीको निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

नेपाल प्रहरीका वर्तमान आईजीपी शैलेश थापाकै इन्सपेक्टर ब्याजीहरू हुन्, उनीहरू । २०५८ सालमा एपीएफ स्थापना भएपछि खनाल, केसी र पौडेल एपीएफमा गएका थिए । डीआईजीमा बढुवा हुँदा खनाल पहिलो, केसी दोस्रो र पौडेल तेस्रो नम्बरमा थिए । एआईजीमा एक्लो बढुवा भएपछि खनाल आईजीपी बन्ने पक्का भएको थियो ।

सशस्त्र प्रहरीमा आईजीपी हुन एआईजीबाट मात्र बढुवा गर्न सकिने व्यवस्था छ । नेपाल प्रहरीमा भने डीआईजीबाट पनि एआईजी बनाउन सकिने व्यवस्था छ । सशस्त्र प्रहरीमा हाल प्राविधिकबाहेक एआईजीको दरबन्दी दुईवटा मात्र भएकाले सरकारले केसी र पौडेलमध्ये एकलाई एआईजीमा बढुवा गरेर वैशाख १९ पछि बन्ने अर्को आईजीपीका लागि एआईजीको ठाउँ बनाउनुपर्ने अवस्था छ। केसी र पौडेल दुवैको एआईजीमा एक वर्ष पदावधि थप भएको थियो ।

केसी र पौडेलपछि सशस्त्र प्रहरीको आईजीपी बन्ने होडमा डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौड‍ेल र चन्द्रप्रकाश गौतम रहेका छन् । यी तीनै जना एउटै मितीमा डीआईजी बनेपनि वरीयतामा अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा रहेका छन् ।

यीमध्ये अर्याल र पौडेलले २०५४ चैतमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका थिए। गौतमले २०५२ सालमा नेपाल आर्मीबाट सेवा सुरू गरेका हुन् । यी तीनै जना २०५८ सालमा सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए । सशस्त्र प्रहरीमा त्यतिबेला नेपाल पुलिस र नेपाल आर्मीबाट प्रवेश गर्नेलाई स्वत: एक तह बढुवा दिइएको थियो ।

प्रविण श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण गत असारमा अवकाश पाएपछि अर्याल, पौडेल र गौतममध्ये एक जना २०७९ बैशाखमा आईजिपी बन्ने अवस्था देखिएको थियो। श्रेष्ठ सबैभन्दा सिनियर डीआईजी थिए ।

अवकाश पाएपछि पनि सर्वोच्च अदालतले पदावधि नथप्ने निर्णयविरुद्ध श्रेष्ठलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो तर पछि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । श्रेष्ठको पदावधि थप भएको अवस्थामा उनी करिब ३ वर्ष सशस्त्र प्रहरीको आईजीपी बन्ने सम्भावना रहन्थ्यो ।

सशस्त्र प्रहरीमा यसअघि १४ दिनका लागि मात्र पनि आईजीपी बनेका थिए । २०६८ सालमा किशोर लामाले आईजीपी बनेको १४ दिनमै अवकाश पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर