पाकिस्तानमा राजनीतिक संकट : इमरान खानको ‘प्ले ब्वाई’ देखी प्रधानमन्त्री बन्दासम्मको यात्रा – Nepal Press

पाकिस्तानमा राजनीतिक संकट : इमरान खानको ‘प्ले ब्वाई’ देखी प्रधानमन्त्री बन्दासम्मको यात्रा

काठमाडौं । विश्व राजनैतिक परिवेशप्रति अलिकति मात्रै पनि चासो राख्ने व्यक्तिहरू पाकिस्तानमा देखिएको पछिल्लो राजनीतिक संकटका बारेमा जानकार नै छन् ।

प्रधानमन्त्री इमरान खानविरुद्ध संसद्मा पेस भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त बनेका छन् । यो सँगसँगै पाकिस्तानको राजनीतिक इतिहासमा आफ्नो कार्यकाल पुरा गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसरबाट पनि इमरान खान वञ्चित भएका छन् ।

पछिल्लो समय पाकिस्तानका प्रधानमन्त्री र राजनीतिज्ञको रूपमा चिनिँदै आएका इमरान खानले आफ्नो जीवनकालमा अनेकौँ पहिचान बटुलेका छन् । कप्तान, प्ले ब्वाई, समाजसेवी, राजनीतिज्ञ आदी उनले आफ्नो जीवनमा कमाएका नाम हुन् ।

राष्ट्रिय टोलीको कप्तानदेखि प्रधानमन्त्रीसम्मको उनको यात्रा सदैव विवाद र चर्चामा नै घेरिरह्यो भन्दा फरक पर्दैन ।

सन् १९५२ मा पाकिस्तानको एक उच्च मध्यम वर्गीय परिवारमा जन्मिएका इमरान खानका पिता इक्रम उल्ला खान निआजी एक स्वतन्त्र सेनानी एवं समाजसेवीको रूपमा चिनिन्छन् भने माता सौखत खानुम भारतको जलन्धर जिल्ला को एक नामचिन क्रिकेट खेलाडीको परिवारकी सदस्य थिइन् ।

इमरान खानले कहिल्यै पनि गरिबी र अभाव भोग्न परेन । लाहोरको प्रतिष्ठित एचिसन कलेजबाट शिक्षा आर्जन गरेका खानले ततपश्चात् इङ्ल्याण्डको रोयल ग्रामर स्कुलबाट शिक्षा आर्जन गरे । उनले अक्सफोर्ड विश्वविद्यालयको केबेल कलेजबाट उच्च शिक्षा हासिल गरे जहाँ खानले दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रको अध्ययन गरेका थिए ।

पाकिस्तानकै पूर्व प्रधानमन्त्री बेनिजर भुट्टो र उनले सोही समयमै अक्सफोर्डबाट शिक्षा हासिल गरेका थिए भने लेखक क्रिस्टोफर स्ट्यानफोर्डले उनीहरू बिच सो समयमा प्रेम सम्बन्ध रहेको दाबी समेत गरेका थिए ।

स्ट्यानफोर्डका अनुसार इमरान खानलाई ‘लायन अफ लाहोर’ (लाहोरका सिंह) को संज्ञा सर्वप्रथम बेनजिर भुट्टोले नै दिएकी थिइन् ।

उनी इङ्ल्याण्डमै रहँदाको समय देखि उत्कृष्ट क्रिकेट खेलाडीको रूपमा चिनिँदै आएका थिए भने उनले अक्सफोर्ड विश्व विद्यालयको क्रिकेट टिमलाई प्रतिनिधित्व समेत गरेका थिए ।

उनी सन् १९७६ मा पाकिस्तान फर्किए र पाकिस्तानको राष्ट्रिय टोली मार्फत खेल्न थाले । ७० को दशकको अन्त्य सम्म आइपुग्दा उनी क्रिकेटका नामचिन हस्तीको रूपमा स्थापित भइसकेका थिए भने सो समय देखिनै उनका अनेकौँ युवतीहरूसँग नाम जोडिन सुरु भयो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वेष्टर्न प्रेसले उनलाई नामुद प्ले ब्वाईको उपमा दिएको थियो । सो समयमा प्रायः जसो लण्डनको नाइट क्लबहरूमा फरक फरक युवतीहरूको साथमा देखिन्थे ।

स्टेफिन बियाकाम, क्यारोलिन केलेट, सीता ह्वाइट, एमा सर्जेन्ट, क्रिस्ट्यान बेकर, गोल्डी ह्यान लगायतका युवतीहरूसँग उनको पटक पटक नाम जोडिएको थियो ।

यी मध्ये इमरान आफैले केही युवतीहरूसँग सम्बन्धमा रहेको स्वीकार गरेका थिए । यी मध्य सिता व्हाइट नामक युवतीले आफ्नो सन्तानको पिता इमरान खान रहेको भन्दै सन् १९९७ मा मुद्दा समेत दायर गरेकी थिइन् । इमरान खानले सो कुरालाई नकारेका थिए भने केही वर्षपछि रेडिफ नामक सञ्चारमाध्यमलाई दिएको एक अन्तरवार्तामा उनले सिता ह्वाइटको छोरीको पालन पोषणका लागि आफू तयार रहेको बताएका थिए ।

४२ वर्षको उमेर सम्म अविवाहित रहेका खानले त्यस पछिको २५ वर्षमा ३ पटक बिहे गरे । जस मध्य उनका दुई विवाह असफल हुन पुगे भने सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री बन्नुको ४ महिना अघि उनले तेस्रो बिहे गरेका हुन् ।

इमारन खानलाई अत्यन्तै सफल क्रिकेटरको रूपमा लिन सकिन्छ भने उनकै नेतृत्वमा पाकिस्तानले सन् १९९२ को क्रिकेट वर्ल्ड कप जितेको थियो ।

वर्ल्ड कप पश्चात् उनी समाजसेवीको रूपमा पनि परिचित हुन पुगे वर्ल्ड कप जितेको पुरस्कार स्वरूप उनले प्राप्त गरेको ९० हजार युरोले अस्पताल बनाउने घोषणा गरेसँगै उनको चर्चा एकाएक चुलिन पुग्यो ।

हालसम्म पनि उक्त अस्पताल पाकिस्तानको ठुलो अस्पताल मध्यमा पर्छ । उनी माथि सो अस्पतालमा प्राप्त भएको दानको चरम दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको छ ।

उनले सन् १९९६ मा आफ्नै राजनैतिक पार्टी पाकिस्तान तेहेरिके इन्साफ को स्थापना गरी राजनीतिमा प्रवेश गरे । ततपश्चात् उनी आफ्नो प्ले ब्वाई इमेजलाई कट्टर मुस्लिममा परिणत गर्न तर्फ प्रयासरत रहे ।

फलस्वरूप सन् २००२ मा उनी पाकिस्तानको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए भने सो समय देखी उनको राजनैतिक यात्राले गति लियो ।

उनी भ्रष्टाचार अन्त्य, आर्थिक अवस्था सुदृढीकरणको र ‘नयाँ पाकिस्तानको’ नारालाई मुख्य एजेण्डा बनाउँदै सन् २०१८ मा प्रधानमन्त्रीको पद सम्म पुगे । यद्यपि पाकिस्तानमा सत्तामा पुग्नको लागि जनताहरूको समर्थन मात्र नभई पाकिस्तानी सैन्य संयन्त्रको समर्थन अपरिहार्य हुन्छ भन्ने बताइँदै आएको छ ।

वर्तमान समयमा विपक्षी गठबन्धनले जारी आर्थिक संकट, बिग्रँदो कूटनैतिक सम्बन्ध, बढ्दो गरिबी लगायतका कारण देखाएर उनी विरुद्ध अविश्वासको प्रस्ताव अघि सारेको बताएता पनि वास्तवमा उनको सरकार ढल्नुको मुख्य कारण पाकिस्तानी सैन्य संयन्त्रसँगको बिग्रँदो सम्बन्ध हो भनेर समेत भन्ने गरिएको छ ।

सन् २०२१ मा नयाँ आइएसआइ प्रमुखको नियुक्तिपछि इमरान खान र पाकिस्तानी सैन्य संयन्त्रबिचको सम्बन्ध बिग्रँदै गएको हो भन्ने गरिन्छ ।

पाकिस्तान सेनाका प्रधानसेनापति कामर जावेद बाजवाले नदेम अन्जुमलाई पाकिस्तान जासुस संयन्त्रको प्रमुखको रूपमा नियुक्त गर्न चाहन्थे यद्यपि इमरान खान भने तत्कालीन प्रमुखलाई नै निरन्तरता दिने पक्षमा थिए ।

यही बाट नै उनको सत्तामा बस्ने दिनहरूको दिन गन्ती सुरु भएको हो भनेर पनि भनिन्छ । इमरानले आफू विरुद्धको अविश्वासको प्रस्तावलाई वैदेशिक षड्यन्त्रको संज्ञा दिँदै आएका छन् भने विशेष गरी संयुक्त राज्य अमेरिका प्रति उनले आक्रोश व्यक्त गर्दै आएका छन् ।

आर्थिक संकट, भ्रष्टाचार, गरिबी, सैन्य संयन्त्रसँगको बिग्रँदो सम्बन्ध, वा वैदेशिक चलखेल कारण जे भए पनि पाकिस्तानको वर्तमान राजनैतिक संकटको प्रत्यक्ष मार भने पाकिस्तानका आम जनताले नै खेप्नु पर्ने प्रस्ट देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर