स्थानीय तहमा महिला सहभागिताको बहस : दलहरूको प्रतिबद्धता गराउन अधिकारकर्मीको दबाब – Nepal Press

स्थानीय तहमा महिला सहभागिताको बहस : दलहरूको प्रतिबद्धता गराउन अधिकारकर्मीको दबाब

रुपन्देही । आसन्न स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारहरूको सहभागितालाई सुनिश्चितता गर्न महिला अगुवाहरूले राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

संविधानले नै स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एक जना महिला उम्मेदवारलाई दिनुपर्ने व्यवस्था गरेपछि गत निर्वाचनमा उपप्रमुखमा भए पनि महिला सहभागिता बढेकोले यस पटक प्रमुख पदमा पनि महिला उम्मेदवार बनाउन उनीहरूको सुझाव छ ।

सृजनशील संस्था नेपालको आयोजना तथा सञ्चारीका समूह नेपाल रुपन्देहीको समन्वयमा आइतबार बुटवलमा भएको आगामी निर्वाचनमा महिला सहभागिता विषयक बहस कार्यक्रमका सहभागीहरूले यस्तो सुझाव दिएका हुन् ।

राजनीतिक दलहरूले उपप्रमुख पद महिलाहरूलाई नै आरक्षण गरे जसरी बुझ्ने गरेको भन्दै अहिले उपप्रमुख भएका र क्षमता भएका महिलाहरूलाई प्रमुख बनाउनुपर्नेमा अधिकारकर्मीको जोड थियो ।

संविधानले प्रमुख एउटा पदमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गरे पनि चुनावमा हुने गठबन्धनका कारण महिलाहरूको उपस्थिति कम हुनसक्ने भन्दै राजनीतिक दलहरूलाई गठबन्धन गरेर जाँदा पनि दुई पदमध्ये एक पद महिलालाई छुट्याउन पत्रकार भगवती पाण्डेले आग्रह गरिन् ।

कार्यक्रममा सहभागीहरूका सुझाव सुनेपछि नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले महिला, दलित, पिछडिएको वर्ग तथा विपन्न समुदायको हक स्थापित गर्न बन्दुक उठाएको पार्टी महिलाको उपस्थिति सुनिश्चितको विषयमा सचेत रहेको प्रतिबद्धता गरे ।

नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्यालले गठबन्धन गरेर जाँदा पनि महिलाको स्थान नघट्ने गरी उम्मेदवार बनाउने विषयमा आफूहरूले छलफल गरिरहेको बताए ।

नेकपा एकीकृत समाजवादीका रुपन्देही उपसचिव सरिता श्रीसले राजनीतिक दलहरूभित्र महिलाहरूको अवस्था अहिले पनि माग्ने अवस्थामै रहेको उल्लेख गर्दै पार्टीको नेतृत्व र निर्णायक तहमा महिला नहुँदासम्म महिलाहरूको अवस्था माथि उकासिन नसक्ने बताइन् ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले अवसर पाउँदा महिलाले जिम्मेवारी पूरा गर्न सक्ने उदाहरण ५ वर्षमा आफूले देखाएको बताइन् ।

कानून महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापा, अधिवक्ता तथा अधिकारकर्मी इन्दिरा आचार्य, इन्दिरा अर्याल, आनिक रानाले संविधानले दिएका अधिकार प्रयोग गर्न महिला आफै अग्रसर हुनुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर