दिनहुँ ४ घण्टा हिँडेर धरानबाट धनकुटा पढ्न धाउँदै बालबालिका, अभिभावक भन्छन्- चुनाव आयो स्कूल आएन – Nepal Press

दिनहुँ ४ घण्टा हिँडेर धरानबाट धनकुटा पढ्न धाउँदै बालबालिका, अभिभावक भन्छन्- चुनाव आयो स्कूल आएन

इटहरी । धरान भन्नासाथ पूर्वकै ठूलो सहर, देशकै ठूलो अस्पतालमध्येको एक घोपा क्याम्प, ठूलाठूला स्कूल कलेजलगायत सुविधासम्पन्न ठाउँ हाम्रो दिमागमा आउँछ । अझ एकताका धरानले ुलाहुरेको सहरु को उपमासम्म पाएको थियो ।

तर, सुविधायुक्तु यही धरानका बालबालिका पढ्नका लागि दैनिक ४ घण्टा पैदल हिँडेर पढ्न विवश छन् । धरान उपमहानगर-४ सेर्गेका बालबालिका दिनहुँ हिँडेर अर्को गाउँपालिकामा पढ्न जान्छन् भन्दा धेरैलाई आश्चर्य लाग्नु स्वाभाविक नै हो । धरानले वार्षिक १६ करोडभन्दा बढी आन्तरिक आम्दानी गर्छ । तर, यहीँका बालबालिका यो दुस्ख भोग्न बाध्य छन् ।

यीनै मध्येकी एक हुन् एलिसा तामाङ । यही चैतमा पाँच टेकेकी एलिसाले धनकुटाको नाम्जे पुगेर पढ्न थालेको एक वर्ष कट्न लाग्यो । साघुरिगढी गाँउपालिकाको नाम्जेस्थित ग्रामीण जनता माविमा नर्सरीमा पढ्दै गरेकी उनी बिहान बेलुका २-२ घण्टा उकालो र ओरालो गर्छिन् ।

एलिसालाई उनकी आमा मनिकुमारी र कहिलेकाँही बाबु शमशेरले स्कूल पुर्‍याउँछन् । आँउदा भने एलिसा काका पदम तामाङ्गको साथ लागेर आउँछिन् ।

सेर्गे गाँउबाट सेर्गे खोला, काफल डाँडा, बीस डाँडा र कान्तिपुर एफएमको टावर हुँदै एलिसा विद्यालय पुग्छिन् । घरबाट दिएको पैसाले दिउँसो एलिसा छेउकै पसलमा केही किनेर खान्छिन् ।

गत मंगलबार विद्यालयबाट दुई घण्टा हिँडेर घर फर्केकी एलिसालाई हामीले सोध्यौं हिँड्दा अल्छी लाग्छ कि लाग्दैन ? एलिसाले भनिन्,‘लाग्दैन ।’

उनका आमाबाबुलाई भने नजिकै स्कूल भए लान-ल्याउन सहज हुन्थ्यो भन्ने लागेको छ ।

आमा मनिकुमारीले दिग्दारी सुनाइन्, ‘विकल्प नभएपछि नाम्जे (धनकुटा)पठाउनु परेको छ । घरको काम गर्नु कि छोरीको स्कूल । धेरै समस्या छ ।’

जीविका चलाउन खेतीकिसानी गर्ने उनको परिवार छोरीलाई विद्यालय पुर्‍याउँदा समय बित्ने भएकाले दैनिक काममा समस्या हुने बताउँछन् ।

तामाङ जातीको बसोबास भएको सेर्गे गाँउबाट सेर्गे खोला, जामुने, काम्फेक, थुम्की हुँदै नाम्जेको विद्यालय पुग्ने बाटो छ । छोटो बाटो भने सेर्गे खोला तरेर सीधा उकालो लागेपछि आउने काफल डाँडा, बीस डाँडा, कान्तिपुर एमएमको टावर हुँदै स्कुल पुग्ने बाटो हो ।

यो छोटो रुटको बाटो हिँडेर स्कूल धाउँदै आएका अर्का बालक हुन् बुद्ध तामाङ । ७ वर्षका बुद्धले धरानबाट धनकुटा हिँडेर स्कूल धाउन थालेको तीन वर्ष पूरा हुन लाग्यो । एक वर्ष त बाबु अम्रित र आमा मनसरीले उनलाई विद्यालय ल्याउन सहयोग गरे ।

बुद्ध आफैं स्कूल जान थालेको चाहिँ दुई वर्ष भयो । अहिले कक्षा २ मा पढ्दै गरेका बुद्ध भन्छन्, ‘हिँड्न बानी भयो । पानी पर्दा अलि गाह्रो हुन्छ ।’

एलिसाका बाबुआमालाई जस्तै टाढा स्कूल भएकोमा चिन्तामा छन् बुद्धका बाबुआमा पनि । तर, उनीहरूसँग विकल्प छैन ।

‘नजिकै हर्दियामा स्कूल छ तर जाने बाटो राम्रो छैन’, मनसरी तामाङ भन्छिन्, ‘हर्दियामा पनि कक्षा ८ सम्म मात्रै छ । त्यहाँ पढ्न जाने मान्छे छैनन् । राम्रो बाटो छैन ।’

सात घर मात्रै भएको बस्तीमा नेता र ‘ठूलो मान्छे’ नहुँदा स्कुल जोड्ने सजिलो बाटो नभएको उनको दुःखेसो छ ।

गाँउगाँउमा सरकार आएको सुनेकी मनसरी तामाङ गाँउमा स्कूल नआएकोमा चिन्तित छिन् । गाँउमै स्कूल ल्याउने कुरा उनले नसुनेकी भने हैनन् । काम मात्रै नदेखेकी हुन् ।

‘चुनाव आएपछि स्कूल आउँछ भन्थे’, मंगलबार २ घण्टै हिँडेर घर आइपुगेको मनसरीले मंगलबार धनकुटाको स्कूल सकेर दुई घन्टा हिँडेर घरमा आएका छोरा बुद्धसँगै उभिएर नेपाल प्रेसलाई सुनाइन् ।

उनले थपिन्, ‘चुनाव आयो । स्कूल आएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर