गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का – Nepal Press

गठबन्धनमा भागबण्डा: कर्णालीमा नेकपा एसको भागमा पाँच स्थानीय तह पक्का

६ जिल्लामा वडामै चित्त बुझाउनुपर्ने

सुर्खेत । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्ड मापदण्डअनुसार नेकपा एसले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउने पक्का भएको छ ।

एमालेबाट फुटेर नेकपा एसमा लागेका पालिका प्रमुख भएको स्थानीय तहमा नेकपा एसकै उम्मेदवार बनाउने गठबन्धनको भागबण्डा मापदण्ड छ । जसअनुसार कर्णालीका ६ जिल्लाको स्थानीय तहमा भने नेकपा एसले वडामै चित्त बुझाउनुपर्ने भएको छ ।

मापदण्डअनुसार दैलेखको महावु गाउँपालिका अध्यक्ष र उपाध्याक्ष नेकपा एसमा लागेका छन्, जहाँ आगामी चुनावमा पनि नेकपा एसले नै उम्मेदवारी पाउनेछन् ।
कालिकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईँ पनि नेकपा एसमा लागेका छन्, जहाँ गठबन्धनको तर्फबाट नेकपा एसले नै अध्यक्षको टिकट पाउनेछन् ।

यहाँ उनीहरुसहित एक उपाध्यक्ष, एक नगर उपप्रमुख र १२ वडाअध्यक्ष नेकपा एसमा लागेका छन्, उनीहरुले सोहीअनुसार उम्मेदवारको भाग पाउनेछन् ।
नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाको गृहजिल्ला सल्यानमा पनि एक पालिकामा अध्यक्ष, एक उपाध्यक्ष र १९ वडा अध्यक्षको उम्मेदवार नेकपा एसले पाउनेछ ।
डोल्पाको ठूलीभेरी नगरपालिका पनि नेकपा एसको भागमा परेको छ । यो जिल्लामा ८ वडा अध्यक्ष समाजवादीमा गएका कारण नेकपा एसले टिकट पाउने सम्भावना बढी छ ।

त्यस्तै नारायण नगरपालिकाको उपप्रमुख पनि नेकपा एसमा छन् । ठाँटीकाँध गाउँपालिकाको उपाध्यक्ष पनि समाजवादीले पाउने भएको छ । यस्तै सो पार्टीले ११ वडाको नेतृत्व गर्न पाउनेछ ।

मुगुमा एक उपाध्यक्षमा मात्रै समाजवादीले चित्त बुझाउनुपर्नेछ भने यहाँ सात वडा अध्यक्षमा समाजवादीको दाबी रहनेछ । तर यो जिल्लामा समाजवादीले अध्यक्ष वा प्रमुखको टिकट पाउने स्थिति छैन ।

जुम्लामा पनि एक गाउँपालिका उपाध्यक्ष र ११ वडाअध्यक्ष नेकपा एसमा लागेका छन् । यहाँ पनि उसले पालिको नेतृत्व गर्न नपाउने निश्चित भएको छ ।

रुकुम पश्चिम, सुर्खेत, जाजरकोट र हुम्लामा समाजवादीका कुनै पनि प्रमुख वा अध्यक्ष, उपाध्यक्ष–उपप्रमुख समाजवादीमा छैनन् ।

मंगलबारको सहमति कार्यान्वयन भएमा कर्णालीका ७९ पालिकामध्ये पाँच पालिकाको उम्मेदवार नेकपा एसले पाउने निश्चित भएको हो । यद्यपि, प्रदेश स्तरीय संयन्त्रले कसरी समाजवादीलाई मिलाएर लैजान्छ भन्ने हेर्न बाँकी नै छ ।

नेकपा एमाले विभाजनको समयमा निर्वाचन आयोगमा नेकपा एसको पक्षमा सनाखत गर्न पुगेका ३५४ जनप्रतिनिधिमध्ये केही एमालेमै फर्किसकेका छन् । दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष, सोही पालिकाका केही वडा अध्यक्ष, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका केही वडाअध्यक्ष र वडासदस्यहरु एमालेमै फर्किसकेका छन् । यस्तो अवस्थामा नेकपा एसलाई कर्णालीका चार जिल्लामा मात्रै पालिकाको नेतृत्व गर्न पाउने अवसर आउने भएको हो ।

२७ पालिका जितेको एमालेसँग अहिले २२ पालिका प्रमुख छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर