सशस्त्रमा निवर्तमान आईजीपी खनालकै ब्याची यसरी बने उनकै उत्तराधिकारी – Nepal Press

सशस्त्रमा निवर्तमान आईजीपी खनालकै ब्याची यसरी बने उनकै उत्तराधिकारी

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) को महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले उपलब्ध दुईजना एआईजीमध्ये‍बाट केसीलाई आईजीपीमा बढुवा गरेको हो ।

वरीयतामा केसी, अर्का एआईजी रामशरण पौडेलभन्दा अगाडि थिए । सशस्त्र प्रहरीमा शैलेन्द्र खनालले आईजीपीको ४ वर्षे पदावधिका कारण सोमबार रातिदेखि अवकाश पाएका थिए ।

केसी र पौडेल दुवै निवर्तमान आईजीपी खनालकै इन्सपेक्टर ब्याची हुन् ।

उनीहरू तीनैजनाले २०४९ वैशाख १९ गतेदेखि नेपाल प्रहरीको इन्सपेक्टरबाट सेवा प्रवेश गरेका हुन् । त्यही बेला जागिर सुरु गरेका शैलेश थापा अहिले नेपाल प्रहरीको आईजीपी छन् । उनले पनि आगामी वैशाख १८ गतेदेखि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदैछन् ।

२०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि नेपाल प्रहरीबाट खनाल, केसी र पौडेल एक दर्जा बढुवा पाएर त्यहाँ पुगेका थिए । डीआईजीमा बढुवा हुँदा खनाल पहिलो, केसी दोस्रो र पौडेल तेस्रो नम्बरमा थिए ।

त्यतिबेला एआईजीमा रिक्त एउटा दरबन्दीमा खनाललाई बढुवा गरिएपछि उनी सशस्त्र प्रहरी बलको आईजीपी बन्ने पक्का बनेको थियो । सशस्त्र प्रहरी बलको इतिहासमा उनी आईजीपीको चार वर्षे पदावधि पूरा गर्ने पहिलो अधिकृत पनि बने ।

सरकारले गत वर्ष केसी र पौडेल दुवैको एआईजी पदावधि एक वर्ष थप गर्ने निर्णय गरेपछि उनीहरुमध्ये एक जना आईजीपी बन्ने अवस्था बनेको थियो । सशस्त्र प्रहरीमा डीआईजी र एआईजीमा चार वर्ष पदावधिमा सरकारले एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको छ ।

सशस्त्र प्रहरीमा एआईजीमध्येबाट आईजीपीमा बढुवा गरिनु पर्ने व्यवस्था रहेको छ । नेपाल प्रहरीमा भने एआईजी नभएको अवस्थामा डीआईजीबाट पनि सोझै आईजीपीमा बढुवा गर्न सकिने प्रावधान छ ।

सरकारले एआईजीमा रिक्त एक दरबन्दीमा अब राजु अर्याल, सिपी गौतम र नारायणदत्त पौडेलमध्ये एकलाई बढुवा गर्नेछ ।
उनूहरूमध्ये एकजनाले वैशाख १८ पछि सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् । वरीयतामा अर्याल पहिलो, पौड‍ेल दोस्रो र गौतम तेस्रो नम्बरमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर