र्यापले देखाएको ‘जेनेरेसन ग्याप’
०००
अहिले युट्युबको ट्रेन्डिङ नम्बर एकमा छ, जी–बब उर्फ सुदीप भण्डारीको र्याप, ‘भाग भाग नदे अब धेरै धाक ।’ ‘ए मेरो हजुर ४’ मा समावेश यो गीत युट्यूवमा राखिएको केही बेरमै ट्रेन्डिङमा आएको थियो ।
जी–बब उनै हुन्, जो एनटिएफले आयोजना गरेको र्याप ब्याटलमा एक लाख जित्ने सोचसहित ब्याटल ग्राउण्ड छिरेका थिए । फाइनल छोडेर भागेपछि उनले एक लाख त जितेनन्, तर लाखौँको मन जिते । ठूलो फ्यान फलोइङ कमाए ।
जी–बबको ‘तेरो बाउ बोला ए’ हुकलाइन टिकटकमा भाइरल भइदियो । सामाजिक सञ्जालमा छाइदियो । जी–बब स्वयं भने कुलतको अँध्यारो गुफाभित्र छिरेका छन् । त्यो गुफाबाट उज्यालोको खोजी पनि गर्नु छ उसलाई । उसले एनटीएफको ब्याटल ग्राउण्डबाट उज्यालो बाटो खनिसकेका पनि छन्, तर त्यो बाटोमा कसरी हिँड्लान् ? समयले जवाफ दिनेछ नै ।
जी–बब जे छन्, जस्तो छन् र जस्तो परिवेशबाट गुज्रिरहेका छन्, र्यापका लाइनहरू त्यहीँबाट ल्याउँछन् । आफूले भोगेको चर्का दुःखहरूलाई चर्का र्यापमा गाउँछन् । कविता लेख्छन्, र र्याप बनाउँछन् । गीत लेख्छन्, अनि ब्याटल ग्राउण्डमा पुर्याउँछन् ।
जी–बब मात्रै होइन, जी–बबको पुस्ता नै अहिले र्याप को दुनियाँमा रमाइरहेका छन् । उनीहरूसँग निराशा छ, गुनासा छन् र आवेग छन् । त्यही आवेगलाई वेगमा परिणत गर्न र्याप गाउँछन् । आफूभित्रको फ्रस्टेसनलाई र्यापमार्फत सुनाउँछन् । आफ्नै कथा भन्छन्, आफ्नै गल्तीहरू भन्छन्, आफ्नै दुःखहरू भन्छन् ।
उनीहरूलाई कुनै ठूलो काल्पनिक कथा कथ्नु छैन । कुनै आदर्श प्रेम भाव पस्कनु छैन । कुनै रोमान्टिक मेलोडी तयार गर्नु छैन । जीवनको मेलोडी जस्तो छ, त्यही मेलोडीमा बिन्दास गाइदिन्छन् । उनीहरूलाई सस्तो भावुकता र रोमाञ्चकतामा रमाउनु छैन । उनीहरूलाई राग र आलाप गाउनु छैन । उनीहरूलाई सुर र सरगममा स्वर भर्नु छैन । मिटर र स्केलमा गाइदिनु छैन । जसरी मन लाग्छ, त्यसरी नै गाउँछन् । उनीहरूलाई यथार्थ जे हो, त्यसैमा रम्नु छ । सत्य जे हो, त्यही भन्नु छ ।
र्यापर बालेन शाह भन्छन्, ‘सबैको मनमा भावना हुन्छ । त्यसलाई बाहिर निकाल्ने माध्यमको खोजी गरिरहेका हुन्छन् । सबै मान्छे दुःख, आक्रोश, निराशामा हुन्छन् । सहज माध्यमबाट मानिसहरू त्यो भँडास पोख्न चाहन्छन् । त्यही भएर पछिल्लो समय नेपहप संगीतमा नयाँ पुस्ताको ठूलो क्रेज देखिएको हो ।’
शाहका अनुसार आवाजको सुरिलोपनाभन्दा गीतको अर्थ र सार हिप-हप संगीतमा महत्त्वपूर्ण हुने भएकाले पनि पछिल्लो समय हिप-हप संगीतमा लहर देखिएको हो । अहिले नेपहपको श्रीपेच नामक रियालिटी शो चलिरहेको छ । शोमा शाह स्वयं जजको भूमिकामा छन् ।
भर्खरै सकिएको अडिसनमा मात्रै छ सयभन्दा बढीले आफ्नो प्रतिभा देखाएका थिए । डिजिटल अडिसनका लागि आठ हजारले फर्म भरेका थिए । एक सय २६ जना दोस्रो चरणका लागि छनोट भएर आएका छन् । अहिले उनीहरूको छनौट चलिरहेको छ । शशी मण्डलदेखि इना पाख्रिनसम्म आफ्नो कथा सुनाइरहेका छन् । समाजको कथा सुनाइरहेका छन् । फ्रस्टेसनको कथा सुनाइरहेका छन् ।
०००
र्यापरहरुले र्याप गाउँदा प्रायजसो किन आफैँलाई केन्द्रमा राखेर गाउँछन् ? किन आफ्नै फ्रस्टेसन पोख्छन् ? किन आफ्नै दुःखहरूलाई मूल विषयवस्तु बनाउँछन् ? किन समाज, राजनीतिप्रति प्रश्न र वितृष्णा राख्छन् ?
सन् २०१७ को एक रिपोर्ट अनुसार भारतमा प्रत्येक एक घण्टामा एक किशोर–किशोरीले आत्महत्या गर्छन् । सन् २०१२ को लानसेट रिपोर्ट अनुसार भारत १५–२९ वर्षका युवायुवतीले सबैभन्दा बढी आत्महत्या गरेका थिए । उनीहरूले पाउने असफलता अनि परिवार र समाजले असफलतालाई हेर्ने दृष्टिकोणलाई रिपोर्टले कारक मानेको छ ।
सन् २०१७ मा जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएसनमा सार्वजनिक भएको रिपोर्ट अनुसार १५–२४ उमेर समूहका किशोर–किशोरीको आत्महत्या दर सन् २००० को तुलनामा अत्यधिक बढेको पाइएको थियो । किशोरहरूमा २१ प्रतिशत र किशोरीहरूमा ८ प्रतिशतले बढेको थियो । मानसिक स्वास्थ्यको अवस्था झनै विकराल भएको तथ्यहरूले देखाउँछन् । यसमा चरम निराशा, कुण्ठा, आवेगहरू थपिँदै जान्छन् । अन्ततः मान्छे अर्कै अवस्थामा पुग्छ ।
नेपालमा मानसिक स्वास्थ्यको यकिन तथ्यांक नभए पनि मननोविज्ञहरुको सम्पर्कमा धेरै मानिस रहेका छन् । मनोविद्को सम्पर्कमा नआएकाहरू झनै धेरै रहेको मनोविद्हरूको भनाइ छ । वकिल तथा मनोविद् नानी थापा भन्छिन्, ‘मानसिक स्वास्थ्यलाई लिएर हामीसँग सम्पर्कमा आउनुभएका थुप्रो हुनुहुन्छ । तर, मलाई लाग्छ, हाम्रो सम्पर्कमा आउन नसक्नुभएकाहरु झनै धेरै हुनुहुन्छ । हामीले आफूमा भएको समस्यालाई ख्याल गरिरहेका हुँदैनौँ । तर, त्यो समस्या विकराल हुँदै गएपछि मात्रै थाहा पाउँछौँ ।’
समयमै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउँछिन् थापा । ख्याल गरिएन भने त्यसको क्षति भयावह हुने बताउँछिन् । थापाले झैँ र्याप रियालिटी शो रवार्जका फाउण्डर कोलिन विक्रम राणा पनि मानसिक स्वास्थ्यको अवस्था डरलाग्दो भएको बताउँछन् । झनै परिवारबाट टाढा रहेर हुर्किएका, एक्लो एक्लो बस्नु परेका किशोर किशोरीमा ठूलो समस्या देख्छन् । र्याप गाउने किशोर किशोरीले आफ्ना त्यस्तै मनोभावनालाई र्यापमा उन्ने गरेको बताउँछन् । उनीहरूको एक्लोपन, नैराश्यता अरूलाई सुनाउनका लागि सहज ¥याप सहज माध्यम भएकाले पनि नयाँ पुस्ता हिप-हप संगीतमा आकर्षित भएको बताउँछन् ।
२५ लाख रुपैयाँ राशिको पुरस्कार सहित रवार्ज आयोजना गरेका राणा भन्छन्, ‘हामीले मानसिक स्वास्थ्यलाई मुभमेन्टकै रूपमा अगाडि लिएर गएका छौँ । रवार्जले मानसिक स्वास्थ्यमाथि अभियानहरू पनि चलाउँदै छ । आशा छ, हाम्रो अभियानले सकारात्मक प्रभाव पार्नेछ ।’
०००
अहिलेको नयाँ पुस्ताको ठूलो संख्या हिप-हप संगीतमा झुमिरहेको दृश्यले नेपाली संगीत पुस्तान्तरण भइरहेको बुझ्न गाह्रो छैन । संगीत मात्रै होइन, संगीतको स्वाद, संगीतको विधा पनि पुस्तान्तरण भइरहेको परिदृश्यले देखाउँछ ।
मानवशास्त्रीहरु २५–३० वर्षलाई एक पुस्ता मान्छन् । २५–३० वर्षपछि पुस्ता फेरिने बताउँछन् । प्रत्येक एक दशकमा पनि नयाँ पुस्ताहरू आइरहेका हुन्छन् । नयाँ विचार, नयाँ सिद्धान्त र नयाँ सोचहरूले उनीहरूलाई डोर्याइरहेको हुन्छ ।
हिजो ०६८ सालमा ‘लुट’ फिल्मले खनेको नयाँ गोरेटो अब पुरानो भइसकेको छ । ‘लुट’जस्ता सयौँ ‘लुट’हरू बनेपछि नेपाली दर्शकहरू नयाँ स्वादको खोजीमा छन् । फिल्मकेमरहरु नै भन्छन्, ‘अब लुटजस्तो कथाहरू चल्दैनन् । नयाँ कथा र कथ्य शैली चाहिएको छ ।’
फिल्ममा नयाँ स्वादको कथाको खोजी भइरहँदा नेपाली संगीतमा भने हिपहपको लहर आइसकेको छ । अहिलेका तन्नेरीहरू यही संगीतमा झुमिरहेका छन् । अफ्रिकन–अमेरिकन काला जातिहरूले विद्रोह र चेतनाको आवाज ओकल्न गाएको विधा सन् ८० को दशकमा आएर स्थापित भएको थियो । यसपछि यो विधाको संगीतलाई संसारभरका युवाहरूले पछ्याए । जहाँ विभेद, असमानता, पीडा, दुःखहरू छन्, त्यसमाथि विद्रोह गर्न तन्नेरीहरूले हिप-हप संगीत रोज्न थाले । कुनै सूत्रमा नबाँधी आफ्नो कुरा राख्न पाइने र्यापमा उनीहरूले जीवनको स्वच्छन्दता खोज्न थाले । नेपालमा पनि हिजो गिरिस खतिवडा, यम बुद्ध लगायतले खनेको बाटोमा जी–बबहरुको पुस्ता आइसकेको छ ।
केही दिनअघि संगीतकर्मी तथा संगीत अध्येता लोचन रिजाल बाटोमा कतै जाँदै थिए । केही किशोरहरूको समूह हातमा स्पिकर बोकेर बाटोमा हिँडिरहेका थिए । स्पिकरमा भने र्याप बजिरहेको थियो । उक्त दृश्य देखेर आफूलाई खुसी लागेको बताउँछन् रिजाल ।
‘हिप-हप संगीतमा गीत छिटो तयार हुन्छ । सँगसँगै यो एउटा ठूलो म्युजिकल एक्सप्रेसन हो । म्यासेज दिन पनि सजिलो हुन्छ । यसमा धेरै वाद्यवादन पनि चाहिँदैन । र्यापमा एक्सप्रेसनको भूमिका ठूलो हुने भएकाले पनि मलाई मन पर्छ,’ रिजाल भन्छन्, ‘समय सँगसँगै सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनहरू हुँदै जान्छन् । बढी जसो ती परिवर्तन युवाहरूसँग सम्बन्धित हुन्छन् । र्याप भनेको नाराजस्तो पनि हो । नेपालजस्तो विकासशील मुलुकमा यसको प्रभाव बढ्नु स्वाभाविक हो । सँगसँगै मान्छेको अपेक्षाहरू पूरा भएका हुँदैनन् । जसलाई एक्सप्रेस गर्न र्याप गीतमार्फत सहज हुन्छ । त्यसैले नयाँ पुस्ताका भाइबहिनीमा यस विधाको संगीतको क्रेज देखिएको हो ।’ साथै पछिल्लो समय समग्र नेपाली संगीतको समीक्षा पनि आवश्यक भएको देख्छन् रिजाल ।
रवार्जका राणा पनि र्यापले यति धेरै क्रेज पाउँदै जाँदा सुधारको पाटोतिर पनि ख्याल गर्नुपर्ने बताउँछन् । केही समयअघि र्यापर भिटेन छाडा बोलेको आरोपमा पक्राउ परे । पछिल्लो पुस्ताका जी–बबहरू पनि छाडा शब्दलाई र्यापमा प्रयोग गरिरहेका छन् । यसलाई सुधार्दै जानुपर्ने देख्छन् राणा ।
भन्छन्, ‘एकै पटक सबै कुरा सुधार हुँदैन । बिस्तारै हुँदै जान्छ । र्याप ब्याटल पश्चिमा संस्कृतिबाट आएको हो । त्यहाँ जति खुलापन छ, यहाँ छैन । त्यसैले हामीले सकेसम्म अश्लील शब्दलाई कम गरेर जाने हो । नराम्रो कुरालाई राम्रो शब्दले पनि भन्न सकिन्छ । हामीले रवार्जमा पनि यो कुरालाई स्ट्रिक्टली फलो गर्नु भनेका छौँ । मुख छाड्दैमा हिप-हप संगीत हुने पनि त होइन नि !’
०००