एमाले र परिवार दलबीच पनि तालमेलको सहमति, सूर्य चिह्नबाटै चुनाव लड्ने
काठमाडाैं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र परिवार दलबीच तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ ।
एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
आज भएको पाँच बुँदे सहमति अनुसार तालमेल सम्भव भएको पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको हो ।
यस्तै एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्ध निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति पनि भएको छ ।
यस्तै आजै कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिह्न सूर्यबाट नै निर्वाचन लड्ने सहमति गरेको थियो ।