दाङको बंगलाचुली र राजपुरमा एमाले उम्मेदवार सर्वसम्मत – Nepal Press

दाङको बंगलाचुली र राजपुरमा एमाले उम्मेदवार सर्वसम्मत

रूपन्देही । आगामी स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले दाङले बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदमा सर्वसमतरुपमा नाम छनोट गरेको छ ।

एमाले दाङ पदाधिकारी बैठकले बंगलाचुलीमा अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वती घर्तीलाई सर्वसम्मतरुपमा चयन गरेको छ । पछिल्ला दिनहरुमा बंगलाचुलीमा कांग्रेस, माओवादीलगायतका दलहरुका नाम चलेका सयौं नेताहरु एमालेमा प्रवेश गरेपछि निर्वाचन सजिलै जित्ने अनुमान लगाउँदै उनीहरुलाई सर्वसम्मत उमेदवार बनाइएको एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

यसैगरी राजपुरमा कुलराज गिरी र सिता यादवको नाम सर्वसम्मतरुपमा चयन गरिएको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए ।

राजपुरमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको तत्कालीन केन्द्रीय सरकार र महासचिव शंकर पोख्रेल मुख्यमन्त्री रहेको तत्कालीन लुम्बिनी प्रदेश सरकारले सो क्षेत्रको विकासमा धेरै काम गरेको र पार्टीको सांगठनिक काम पनि पछिल्ला दिनहरुमा अत्यन्तै उत्साहजनक तरिकाले अगाडि बढेकाले दुबै उम्मेदवारलाई सर्वसम्मत नाम चयन गरिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।

अन्य पालिकाको सन्दर्भमा पनि एमाले दाङको पदाधिकारीले पालिका तहबाट आएका नामहरु माथि छलफल गर्ने काम गरिरहेको उनले बताए । एमाले दाङको जिल्ला बैठकले पदाधिकारीलाई अन्तिम नाम टुंगो लगाएर माथिल्लो कमिटीमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरेको छ । प्रदेश कमिटीले जिल्लाबाट आएका नामहरु माथि व्यापक छलफल गरी केन्द्रमा पठाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर