सरकार र जनमत पार्टीबीच वार्ता, पुराना सम्झौता कार्यान्वयन गर्न सीके राउतको माग – Nepal Press

सरकार र जनमत पार्टीबीच वार्ता, पुराना सम्झौता कार्यान्वयन गर्न सीके राउतको माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी र गृहमन्त्री बालकृष्ण खाण नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा आज भेटवार्ता भएको मन्त्रालय स्रोतले जनायो ।

भेटका क्रममा जनमत पार्टीका अध्यक्ष राउतले सरकारले आफूहरूसँग गरेका पुराना सम्झौतहरूको स्मरण गराउँदै त्यसको कार्यान्वयनको माग गरेका छन् । सरकार र सीके राउतबीच २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते विभिन्न सम्झौता भएका थिए ।

भेटवार्तामा राउतले स्थानीय तह निर्वाचनको प्रयोजनार्थ जनमत पार्टी निर्वाचनमा आयोगमा दर्ता भइसकेको परिपेक्ष्यमा त्यसअघि आफूहरूसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नपर्नेमा जोड दिएका थिए । त्योसँगै विभिन्न कारण थुनामा रहेका आफ्ना पार्टीका नेता कार्यकतालाई रिहा गर्न, आफूहरूले गरेको कृषि आन्दोलनका मागहरूलाई पूरा गर्न र मधेस आन्दोलनका क्रममा भएको सहमति कार्यान्वयन गर्न माग गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै वार्ताका क्रममा राउतले ‘राष्ट्रिय मान्यताप्राप्त गरेको दलले मात्र आफ्नै चुनाव चिन्हबाट निर्वाचन लड्न पाउने’ व्यवस्था हटाउन माग गरेका थिए ।

सरकारका तर्फबाट गृहमन्त्री खाणले मुलधारको राजनीतिमा आएकोमा राउतलाई धन्यवाद दिँदै पूर्ववर्ती सरकारले गरेको सहमतिअनुसार कानूनबमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने आश्वासन दिएका छन् ।

गृहमन्त्री खाणले चुनाव चिन्हका विषयमा सरकारले निर्वाचन आयोगलाई आग्रह गरिसकेको र सोही अनुसार आयोगले व्यवस्था गरिसकेको बताएका थिए ।

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे र सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए भने, जनमत पार्टीका तर्फबाट अध्यक्ष राउतसहित उपाध्यक्षत्रय बसन्त कुशवाह, दिपक साह र नरेन्द्र साह तथा महासचिव चन्दन सिंह सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर