डुब्यो रुसको शक्ति मानिने लडाकु पानीजहाज – Nepal Press

डुब्यो रुसको शक्ति मानिने लडाकु पानीजहाज

काठमाडौं । विस्फोटनका कारण क्षतिग्रस्त रुसी सेनाको लडाकु पानीजहाज मस्क्भा डुबेको छ । ५१० फौज रहेको सो पानीजहाजलाई युक्रेनविरुद्ध रुसी नौसैनिक आक्रमणको प्रमुख हिस्साको रुपमा समेत लिने गरिएको थियो ।

रुसी भाषामा मस्कोलाई भनिने मस्क्भा नाम दिइएको सो लडाकु पानीजहाजलाई रुसी सेनाको शक्तिको प्रतीक मानिन्छ । युक्रेनले बुधबार उक्त पानीजहाजमा नेप्च्युन नामक क्षेप्यास्त्र प्रहार गरेको बताए तापनि रुसले भने जहाजमाथि आक्रमण भएको स्वीकारेको छैन ।

रुसको रक्षा मन्त्रालयले जारी गरेको बक्तव्यअनुसार आगलागी र विस्फोटनका कारण क्षतिग्रस्त उक्त पानीजहाज मस्क्भा तानेर किनारातर्फ लगिँदै गर्दा डुबेको हो । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसको दाबी रहेको छ ।

१२ हजार टन तौलको उक्त पानीजहाज दुश्मनको कारबाहीमा डुब्ने द्वितीय विश्वयुद्ध यताकै सबैभन्दा ठूलो पानी जहाज भनिएको छ । मस्क्भा डुबेका कारण रुसलाई ठूलो क्षति पुगेको अमेरिकी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

बीबीसीले जनाएअनुसार मस्क्भा तत्कालीन सोभियत सङ्घ रहँदै सन् १९८० को सुरुमा बनेको हो । युक्रेनको दक्षिणी सहर मेकलोएभमा निर्माण गरिएको उक्त सैनिक पानीजहाज हालैका दिनमा गोलाबारीका निम्ति रुसी फौजहरुले प्रयोग गर्दै आएका थिए ।

एक सय ८६ मिटर लामो यो पानीजहाज सोभियत नौसेनाको ११६४ एट्लान्ट वर्गको प्रमुख पानीजहाज थियो । सन् २००० मा ब्ल्याक सी फ्लिटको प्रमुख ध्वजाबाहक बनेको उक्त क्रुजरले सन् २०१५ मा सिरियामा भएको रुसी सैनिक अभियानमा समेत प्रमुख भूमिका खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर