‘जनकपुरधामको मेयर कांग्रेसलाई दिने गरी गठबन्धन हुनुपर्छ’ – Nepal Press

‘जनकपुरधामको मेयर कांग्रेसलाई दिने गरी गठबन्धन हुनुपर्छ’

जनकपुरधाम । सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेसले जनकपुरधाममा मेयर पाउनुपर्ने अडान राखेको छ ।

गठबन्धन आवश्यक छ तर मेयरमा काँग्रेसको दाबी रहेको सो पार्टीका जनकपुरधाम नगर उपसभापति राकेश विक्रम साहले बताए ।

‘गठबन्धन गर्ने नगर्ने विषयमा अहिले कुनै निर्णय भएको छैन’, मेयरका लागि सिफारिस भएका उनले भने, ‘वर्तमान मेयर लाल किशोर साह तत्कालीन राजपाबाट निर्वाचित हुनुभएको थियो । उहाँ अहिले जसपामा हुनुहुन्छ । उहाँको प्रतिद्वन्द्वी कांग्रेस थियो । लोसपा अहिले गठबन्धन बाहिर छ । त्यसैले यो निर्वाचनमा काँग्रेसले मेयर पाउने गरी गठबन्धन हुनुपर्छ ।’

२०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट साह २१ हजार ९०३ मत ल्याएर मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका मनोज साहले ११ हजार १६४ मत ल्याएका थिए । त्यति बेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका विष्णुदेव साहले मात्र ३ हजार ६१२ मत ल्याएका थिए ।

अहिले उपेन्द्र यादव नेतृत्वको जसपाले वर्तमान मेयर साहलाई नै उम्मेदवार बनाउने चर्चा चलेको छ । गठबन्धनमा पनि जसपाले जनकपुरधामको मेयरमा दाबी गरेको छ । तर काँग्रेस नगर उपसभापति साहले विगतको मत परिणामको हिसाबले काँग्रेस नै अहिले मेयर पाउनुपर्ने जिकिर गरे ।

२५ वडा रहेको जनकपुरधामको मेयरमा काँग्रेसका नगर सभापति मनोज साह यस वर्ष पनि सिफारिस भएका छन् । विमलेन्द्र निधी निकट उनी नै टिकट पाउने सम्भावना बढी छ । तर उपसभापति साहले अब युवाले जनकपुरधामको नेतृत्व गर्ने मौका पाउनुपर्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर