सिन्धु एमाले- कतै टिकटको हानाथाप, चीनको सिमानामा एक महिना अघि नै माग्दैछन् मत – Nepal Press

सिन्धु एमाले- कतै टिकटको हानाथाप, चीनको सिमानामा एक महिना अघि नै माग्दैछन् मत

सिन्धुपाल्चोक । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षमा समेत स्थानीय निर्वाचनमा टिकट कसले पाउने भन्ने टुङ्गो लागिसकेको छैन । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा सत्ता र प्रतिपक्ष दुवैले उम्मेदवार छान्न सकेका छैनन् ।

तर नेपाल चीन सीमावर्ती भोटेकोसी गाउँपालिकामा भने नेकपा एमालेका उम्मेदवारहरूले एकसरो प्रायः सबै बस्तीहरूमा पुगेर मतदाता समक्ष भेटघाट गरिसकेका छन् ।

भोटेकोसी गाउँपालिकामा झण्डै दुई साता अघि नै नेकपा एमालेले सर्वसम्मत रूपमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छनोट गरेपछि अहिले उम्मेदवारहरू बस्ती बस्तीमा पुगेर मत मागिरहेका छन् । भोटेकोसी गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा अमृत खडका र उपाध्यक्षमा सुन्तली लामा श्रेष्ठलाई सर्वसम्मत रूपमा उम्मेदवार छनोट गरेको थियो ।

‘दुई वडा बाहेक अरू सबै वडामा एकसरो पुगेर मतदाता समक्ष भेटघाट गरेको छु’अध्यक्षका उम्मेदवार अमृत खडकाले भने ‘अब लिस्ती र फुल्पीङकट्टी मात्रै पुग्न बाँकी छ’ ।

गाउँ तहको एकसरो भेटघाट सकेर अहिले काठमाडौँमा आएर बसोबास गर्ने भोटेकोशीबासीहरुसँग भेटघाट गरिरहेको उम्मेदवार खडकाले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचन २०४९ र ०५४ मा साबिकको तातोपानी गाविसबाट लोकप्रिय मत ल्याएर दुई कार्यकाल खडका अध्यक्षमा निर्वाचित भएका थिए । उनी त्यस बेला कांग्रेसमा थिए ।

तातोपानी धारा सुधार समिति ,रेडक्रस लगायत विभिन्न सामाजिक संघ संस्थामा सक्रिय रहेका खडका तातोपानी नाका क्षेत्रमा सामाजिक अगुवाका रूपमा समेत परिचित छन् ।

खड्काले भने- गाउँमा पुग्दा सबैले सहयोग गर्ने बचन दिनु भएको छ । तपाइ पुरानो मान्छे आउनु भएको छ, तपाइले पहिला धेरै राम्रो काम गर्नु भएको थियो,यो पटक तपाइलाई सहयोग गर्छौ भन्नुभएकाले उत्साही छु ।

भोटेकोसी गाउँपालिकामा पाँच वडा रहेका छन् । पाँच मध्ये स्थानीय निर्वाचन २०७४ मा नेकपा एमालेले एउटा वडामा चुनाव जितेको थियो भने कांग्रेसले ३ र माओवादीले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित एक वडामा चुनाव जितेको थियो । माओवादीबाट वडाध्यक्षमा निर्वाचित दीपेन्द्र श्रेष्ठले भने पार्टी परित्याग गरिसकेका छन् । भोटेकोसी गाउँपालिकामा कांग्रेस र माओवादीले उम्मेदवार छनोट गर्न सकेको छैन ।

माओवादीबाट हालकै अध्यक्ष राजकुमार पौडेलले टिकट पाउने सम्भावना छ भने कांग्रेसबाट कमलकुमार श्रेष्ठले पाउने सम्भावना छ । यद्यपि गठबन्धन हुँदा भने भोटेकोसीमा माओवादीले आफ्नो दाबी पेस गर्दै आएको छ । एकल निर्वाचन हुँदा भने तीनै जना उम्मेदवार व्यापारिक पृष्ठभूमिका रहेका छन् ।

एमाले उम्मेदवार खडका तातोपानी क्षेत्रमा निकै लोकप्रिय छन् । छिटो उम्मेदवार छनोट गर्दा आफूहरूलाई टाइम प्रेसर नभएकाले सबै वडा र बस्तीमा दोहोर्‍याएर जान सक्ने अवस्था रहेको अध्यक्षका उम्मेदवार खडकाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर