भोजपुरको दुई पालिकामा एमालेले छान्यो प्रमुख-उपप्रमुखका सर्वसम्मत उम्मेदवार – Nepal Press

भोजपुरको दुई पालिकामा एमालेले छान्यो प्रमुख-उपप्रमुखका सर्वसम्मत उम्मेदवार

भोजपुर । यहाँको दुई स्थानीय तहको प्रमुख-उपप्रमुखमा नेकपा एमालेले सर्वसम्मत उम्मेदवार तय गरेको छ ।

भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सम्बन्धित कमिटीले आज सर्वसम्मत उम्मेदवार तय गरेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए ।

एमालेले भोजपुर नगरपालिका मेयरमा भरत तामाङ र उपमेयरमा निर्मला शेर्पालाई अघि सारेको छ । तामाङ तत्कालीन भोजपुर गाविसका अध्यक्षसमेत हुन् ।

त्यस्तै टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् ।

२०७४ को चुनावमा टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भएर उम्मेदवारी दिएका थिए । यहाँ गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम, नेपालका रामसिंह राई ध्रुवराज राईसँग पराजित भएका थिए । एमालेका ध्रुवराज राईले २ हजार ७ सय ८० मत ल्याउँदा रामसिंले २ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर