एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ? – Nepal Press

एमालेसँग तालमेल गर्न तनहुँमा कति छ गोविन्दराज जोशीको शक्ति ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी अहिले पार्टी कारबाहीमा छन् । उनको कारबाही फुकुवा भएको छैन । कुनै बेला कांग्रेसमा निर्णायक प्रभाव राख्ने एकेजिबी समूह थियो । अर्जुन नरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र बिजय कुमार गच्छदार ।

संयोग नै भन्नुपर्छ खुमबहादुरको निधन भइसकेको छ, बाँकी तीनमध्ये अर्जुन नरसिंह कांग्रेस नेतृत्वमा रहे पनि निर्णायक प्रभाव छैन । बिजय गच्छदार भ्रष्टाचार मुद्दा खेपिरहेका छन् उनी पनि निर्णायक शक्तिमा छैनन् । गोविन्दराज त कारबाही मै छन् ।

यीनै गोविन्दराज जोशी तनहुँको राजनीतिमा भने अझै पनि निर्णायक मानिन्छन् ।

जोशीले २०७४ प्रतिनिधि सभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको विरुद्धमा बागी उम्मेदवार हालेका थिए । यद्यपी उनको उम्मेदवारी पौडेलले निर्वाचन आयोगमा उजुरी गरेर रद्द गराएका थिए । त्यसपछि जोशीलाई पार्टीले साधारण सदस्य नै नरहनेगरी कारबाही गरेको छ ।

उनै जोशी समूहसँग तनहुँमा आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तालमेल गर्ने भएको छ । जोशीले व्यास नगरपालिकामा आफ्ना छोरा दीपकराज जोशीलाई प्रमुख बनाउँन चाहेका छन् । यसका लागि उनले स्वतन्त्र उम्मेदवारी नै घोषणा गरिसकेका छन् ।

व्यास नगरपालिकामा एमाले कांग्रेसपछिको दोस्रो शक्ति हो तर एक्लै जित्ने हैसियतमा छैन । बरु जोशीले कांग्रेसले जित्ने मार्जिनको मत होल्ड गर्छन् । यसैक्रममा उनीसँग एमालेले तालमेल गर्ने बहस चलिरहेको छ । स्रोतका अनुसार त्यो बहस निर्णायक चरणमा पनि पुगिसकेको छ ।

कांग्रेसको कारबाहीमा परेका जोशीसँग एमालेले किन तालमेल गर्दैछ ? जोशीसँग कति शक्ति छ ? भन्ने विषयमा आमचासो पनि बढेको छ ।

कति छ जोशीको शक्ति ?

तनहुँमा गोविन्दराज जोशी कांग्रेसका संस्थापक हुन् । उनी आफूले रामचन्द्रलाई कांग्रेस बनाएको बताउने गर्छन् । २०४८,२०५१ र २०५६ तीनपटक उनले तनहुँबाट ठूलै मतान्तरमा चुनाव जितेका थिए ।

तनहुँ कांग्रेसमा पौडेल–जोशीको टकरावको इतिहास लामै छ । विद्यार्थी राजनीतिकालदेखि नै दुवैै नेता एकअर्काका प्रतिस्पर्धी थिए । यसैकारण जिल्लामा दुवै नेता फरक समूह चलाउँथें ।

एक समय यस्तो थियो कि जिल्लामा पार्टीका चुनाव हुँदा जोशी समूहले रामचन्द्र समूहलाई सजिलै हराउँथ्यो । त्यसमा मन्त्री तथा सांसद हुँदा जोशीले गर्ने कार्यकर्ता संरक्षण महत्वपूर्ण थियो । यही कुराको कमी पौडेलमा थियो । पौडेल सिद्धान्तको कुरा गर्ने, जोशी व्यवहार मिलाउने । त्यसैले पनि जोशीको पकड बढि थियो ।

जब जोशीलाई भ्रष्टाचारको अभियोग लाग्यो उनी राष्ट्रिय स्तरमै कमजोर भए । जोशी कमजोर भएपछि कार्यकर्ताहरूले पनि छाड्न थाले । यद्यपी पुराना प्रतिवद्ध कार्यकर्ताहरूले भने उनको साथ नछाडेको देखिएको छ ।

यसैक्रममा जोशीको कारबाही फुकुवा नभएको भन्दै कांग्रेसको १४ औँ महाधिवेशनमा तनहुँमा ६ हजार कार्यकर्ताले क्रियाशिल सदस्यता पनि नभरेको सो समूहले दाबी गर्ने गरेको छ ।

सो समूहको व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र आबुखैरेनी गाउँपालिकामा निर्णायक मत छ । सोही कारण सो समुहसँग तालमेल गर्न चाहेको एमालेस्रोतले बतायो । त्यो शक्ति कांग्रेसलाई हराउन पर्याप्त हुने एमालको बुझाई छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा भानु नगरपालिकामा कांग्रेसका उदयराज गौलीले ९ हजार ५ सय ३८ मतसहित विजयी हुँदा एमालेका भगवती न्यौपानेले ९ हजार ६४ मत पाएकी थिइन् । जोशीको आफ्नै गृहनगर भएकाले यहाँ उनीसहितको गठबन्धन हुनासाथ कांग्रेसको गठबन्धन कमजोर हुन्छ ।

यस्तै व्यास नगरपालिकामा कांग्रेसका बैकुण्ठराज न्यौपाने १३ हजार ५६ मतसहित विजयी हुँदा एमालेका शंकर नारायण श्रेष्ठले ९ हजार ५ सय ९२ मत ल्याएका थिए भने, आबुखैरेनीमा कांग्रेस गिरबहादुर थापा २ हजार ५ सय ८९ मत सहित विजयी भएका थिए भने, एमाले सन्तबहादुर केसीले २ हजार २ सय ४२ मत पाएका थिए ।

यस्तै बन्दिपुरमा कांग्रेसका कर्णबहादुर खत्री २ हजार ४ सय २१ ल्याएका थिए । एमालेका आनन्दमान जोशीले एकहजार ९ सय ३२ पाउँदै दाेस्राे भएका थिए । त्यहाँ माओवादीबाट पूर्णसिंह थापाले जित निकालेका थिए । 

यी पालिकाहरूमा एमालेले जोशी समूहसँग मिलेर कांग्रेसलाई पराजित गर्न चाहन्छ । त्यसका लागि जोशी समूहले व्यास नगरपालिकाको नेतृत्व मागेको छ । जहाँ जोशी आफ्ना छोरालाई प्रमुख बनाउँन चाहन्छन् ।

जोशी हिजो मन्त्री हुँदा शिक्षा, स्वास्थ्य, विद्यालय स्थापना, युवाहरुलाई रोजगारीमा सहयोग गरेको कारण उनलाई धेरैले रुचाउने गरेको सो समूहको तर्क छ ।

यस्तै जोशी समूहसँग संविधान सभा सदस्य पार्वती राना पनि छन् । यद्यपी उनी अहिले बिरामी छन् । उनका भाईहरु सबै जोशीको पक्षमा रहेको स्रोतको दाबी छ ।

यस्तै भानु नगरपालिकामा सहिद होमराज लोहनीको पत्नी बालकुमारी लोहनी, बन्दिपुरमा शुकुमलाल गुरुङलगायत जनतामा राम्रो प्रभाव पार्ने नेताहरु पनि जोशीका पक्षमा छन् । अहिले नेताभन्दा पनि गाउँका कांग्रेस कार्यकर्ताहरु जोशीको पक्षमा रहेको सो समूहको दाबी छ ।

एमाले र जोशी समूहकाबीचमा बन्न लागेको यो गठबन्धनमा एमाले केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेको विशेष जोड छ । उनकै पहलमा काठमाडौंमा एमाले अध्यक्ष केपी ओली र जोशीबीच भेटवार्ता भएपछि तनहुँमा गठबन्धनको वातावरण बनेको हो ।

अघिल्लो चुनावमा रामचन्द्रले उम्मदेवारी खारेज गराइदिएपछि गोविन्दराज जोशीले एमालेलाई सहयोग गरेका कारण किसान श्रेष्ठको विजय सम्भव भएको थियो । यसपटक जोशी समूह खुलेर एमालेसँग गठबन्धन बनाउन अग्रसर हुँदा तनहुँमा कांग्रेसलाई चुनौति बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर