गठबन्धनमा कांग्रेसले राखेन दाबी, रामचन्द्र भन्छन्- सबै ठाउँमा स्वतः दाबी छ – Nepal Press

गठबन्धनमा कांग्रेसले राखेन दाबी, रामचन्द्र भन्छन्- सबै ठाउँमा स्वतः दाबी छ

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भने पनि महानगर र उपमहानगरको नेतृत्व भागबण्डामा सकस देखिएको छ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्वबारे टुंगो लगाउन आइतबार बसेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सबै दलका नेताहरूले आ–आफ्नो दाबी पेश गरेका छन् ।

माओवादीले भरतपुर महानगर र ४ उपमहानगरमा नेतृत्व दाबी गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र ३ उपमहानगरको प्रमुख दाबी गरेको छ । जसपाले पनि वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ ।

आइतबारको बैठकमा कांग्रेसले भने कुनै माग नराखेको गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । ‘कांग्रेसको त सबैमा दाबी छ नि । आजको बैठकमा अन्य दलका साथीहरूले आ–आफ्नो दाबी राख्नुभयो । थप छलफल जरुरी देखिन्छ’, पौडेलले नेपाल प्रेससँग भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारसम्म महानगर र उपमहानगरको शक्ति बाँडफाँट टुंगो लाग्ने दाबी गरेका थिए । गठबन्धनका संयोजक पौडेलले भने तत्कालै सबै विषय टुंगो नलाग्ने संकेत गरेका छन् । ‘गठबन्धन आजको आवश्यकता हो । गठबन्धन गर्नै पर्ने छ तर गाह्रो छ । अझै केही दिन समय लिन्छ’, पौडेलले भने ।

पौडेलका अनुसार चुनावी तालमेलबारे नीतिगत निर्णय केन्द्रबाट भए पनि मुख्य निर्णय भने स्थानीय संयन्त्रले नै गर्नुपर्नेछ । ‘हामीले सबै ठाउँको निर्णय दिदैंनौ । समस्या देखिएका विषयमा गाँठो फुकाउने काम मात्रै गर्ने हो । तालमेललाई सफल बनाउने त तलैबाट हो’, पौडेलले भने ।

नेकपा एमाले बलियो भएको स्थानमा गठबन्धनले स्पष्ट निर्णय लिने पौडेलले बताए । ‘गठबन्धन राजनीतिक आवश्यकता हो । एमाले बलियो भएको ठाउँमा तालमेल जरुर हुन्छ । जहाँ हाम्रै बीच प्रतिस्पर्धा छ त्यहाँ स्वस्थ प्रतिस्पर्धा पनि हुनसक्छ’, पौडेलले भने ।

चासोका साथ हेरिएका महानगर र उपमहानगरको नेतृत्वमा सबैले आ–आफ्नो अडान कायम राखेकाले शीर्ष नेताहरूबिचको छलफलबाट मात्रै टुंगो लाग्ने सम्भावना छ ।

गठबन्धनको आइतबारको बैठकमा सहभागी एक नेताका अनुसार सोमबार पनि शीर्ष नेताहरूको बैठक बसेर सहमति जुटाउने प्रयास हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर