नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने – Nepal Press

नेपालगञ्ज उपमहानगर नपाए गठबन्धनबाट जसपा बाहिरिने, कांग्रेसले पनि झमेला नगर्ने

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका जसपालाई दिन नेपाली कांग्रेस तयार नभएपछि असन्तुष्ट बनेको जसपा जिल्लाभर नै गठबन्धन गर्न तयार भएन ।
दक्षिण पूर्वी बाँकेमा बलियो मानिएको जसपाले गठबन्धनका सुरुका दिनमै नेपालगन्जसहित कम्तिमा चार पालिकामा दाबी गरिरहेको थियो । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राई नेपालगन्जको प्रमुखमै उम्मेदवार भएर भोट मागिसकेको अवस्थामा नेपाली कांग्रेसले कुनै पनि हालतमा नेपालगन्ज छाड्न नसक्ने अडान राखेका कारण यस्तो अवस्था आएको जसपाका नेताको भनाइ छ । तर नेपाली कांग्रेसका नेताहरुले अघिल्लो चुनावी अवस्थालाई हेर्दा पनि जसपाले नेपालगन्जमा माग्ने अधिकार नभएको दाबी गरेका छन् ।

उनले नेपालगन्ज, डुडुवा, नरेरापुर, जानकीमा उम्मेदार तयार गरिसकेको, अन्यत्र पनि तयारी भइरहेको र एकल चुनाव लड्ने नेपाल प्रेसलाई बताए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पनि अब गठबन्धनमा अल्झिएर नबस्ने प्रतिक्रिया दिएका छन् । गठबन्धन संयन्त्रका संयोजकसमेत रहेका गौडेलले भने, ‘गठबन्धनको झमेला सकियो, अब निर्वाचन तयारीमा सबैतिरबाट जुट्ने निर्णय भएको छ । यहींअनुसार हामी अगाडि बढ्छौं । ’

केन्द्रले पठाएको परिपत्रअनुसार भागबण्डामा कुरा नमिलेपछि आवश्यकता र अवस्था अनुसार स्थानीय तहमै मिल्नसक्ने गरी वडा वा पालिकास्तरमा जानुपर्ने सुझाव केन्द्रमा पठाइएको छ । अब केन्द्रले अर्को परिपत्र नगरे बाँकेमा पाँचदलीय गठबन्धनबाट निर्वाचनामा जाने सम्भावना सकिएको छ ।

जसपाले सशर्त गठबन्धनमा जाने भनेपछि कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादी एकीकृतलगायतका दल पछिल्लो तीन दिनदेखि निरन्तर छलफलमा थिए । कांग्रेस–जसपाले नेपालगन्ज नछाड्ने, कांग्रेस–माओवादी कोहलपुरलाई नछाड्ने अडानले बाँकेमा गठबन्धनको समस्या भएको हो । माओवादी र नेकपा एसलाई बलियो बनाउन कांग्रेस आफ्नो घर भत्काउन नहुने कांग्रेसका अधिकांश नेताहरुको सुझाव आएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक डम्बर विक तुफानले भने गठबन्धन टुटिसकेको नभइ स्थानीय तहमा छलफल परामर्शका लागि समय दिइएको बताउँछन् । उनी गठबन्धन हुनेमा ढुक्क छन् । नेकपा एसका केन्द्रीय सदस्य अशोक कोइरालाले पनि गठबन्धन टुट्नै नहुने बताए । ‘यो आवश्यकता र बाध्यताको गठबन्धन हो,’ कोइरालाले भने, ‘जिल्लामा सबै ठाउँ गठबन्धन हुन्छ, यहाँबाट मिल्न नसके प्रदेशले निर्णय गर्छ ।’

२०७४ सालमा जुन पार्टीले जितेको छ, त्यहाँ त्यहीं पार्टीलाई दिने गठबन्धनको मापदण्ड छ । एमाले वा अरु पार्टीले जितेको ठाउँमा निकटतम प्रतिस्पर्धी पार्टीलाई दिने मापदण्ड बनाइएको छ । बाँकेमा माओवादीले एउटै पालिका जित्न सकेन । बाँकेमा चार पालिकामा एमालेले जितेको छ भने दुई वटा गाउँपालिकामा कांग्रेस, नेपालगन्जमा राप्रपाले प्रमुख जितेको हो ।

जसपामा रहेको तत्कालीन फोरमले नरैनापुर जितेको थियो । मापदण्डमै जाउँ भन्दा पनि माओवादी र जसपाले नमानेको कांग्रेस नेताको भनाइ छ । कांग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा कुनै हालतमा नछाड्ने बताएपछि अरु पार्टी सशंकित बनेका हुन् ।

जिल्लामा गठबन्धनमा खटपट भएपछि एमाले नेताहरु आफ्नो रणनीतिमा लागेका छन् । नेपालगन्जमा केही समयअघि एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रलाई सर्वसम्मत मेयरमा प्रस्ताव गरेपछि यहाँको माहोल तातेको छ । एमालेले बिगतमा आफूले जितेका पालिकालाई कायम राख्दै जसरी पनि नेपालगन्जमा विजयी हुनेगरी योजना बनाएको छ ।

राप्रपाका नेता धवलशमशेर राणा नदोहोरिने, मिश्रसहितको ठूलो समूह एमालेमा आएको, नेकपा एसको प्रभाव धेरै कम रहेको र गठबन्धनमा बढेको खटपटका कारण मिश्रले नेपालगन्जमा जित्ने आधार बलियो भएको एमाले निकट नेताहरुको बुझाइ छ ।

जिल्लामा एमालेको अवस्था विगतको भन्दा धेरै राम्रो बनेको र स्थानीय चुनावमा धेरै स्थानमा जित्ने जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

बाँकेमा गत निर्वाचनको परिणाम

१. कोहलपुर नगरपालिका– एमाले(९००७), कांग्रेस (८९२४), माओवादी (६२२१)
२. खजुरा गाउँपालिका– एमाले (८०७०), कांग्रेस (४९५४), माओवादी (६८९२)
३ जानकी गाउँपालिका– एमाले (३०८३), कांग्रेस (३००९), संघीय समाजवादी (२१५८), माओवादी (१९३४)
४. डुडुवा गाउँपालिका–कांग्रेस (४६९१), संघीय समाजवादी (४१९२), एमाल े(१४६६), माओवादी (९३७)
५–नरैनापुर गाउँपालिका– संघीय समाजवादी(४०८०), कांग्रेस(३३८८), एमाले(१८७२), माओवादी(५७८)
६.नेपालगंज उपमहानगरपालिक, राप्रपा(१२५१५), कांग्रेस(८७३०), माओवादी(७१९८), एमाले(६९६५)
७. बैजनाथ गाउँपालिका, एमाले (९७७२), कांग्रेस(६५७६), माओवादी (५३६३)
८. राप्ति रोनारी गाउँपालिका, कांग्रेस (८२३६), एमाले(६९००), माओवादी(६६६४)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर