मसालको आधार इलाकामा कांग्रेस-माओवादी तालमेल, पाँच दलीय गठबन्धन भंग – Nepal Press

मसालको आधार इलाकामा कांग्रेस-माओवादी तालमेल, पाँच दलीय गठबन्धन भंग

रुपन्देही । राष्ट्रिय जनमोर्चाको आधार इलाका मानिएको प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चालाई गठबन्धनबाट एक्लाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको चुनावी तालमेल भएको छ।

अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले पाउने गरी झिमरुकमा सहमति भएको छ ।

वडा तहमा सहमतिको आधारमा पद बाँडफाँड गर्ने पनि निर्णय भएको छ । जुन वडामा जुन दलको अध्यक्ष उम्मेदवार बनेमा सोही चुनाव चिन्हमा अरु सदस्यले उम्मेदवारी दिने गरी सहमति गरिएको विज्ञप्तीमा उल्लेख छ ।

गत २०७४ सालको निर्वाचनमा यो गाउँपालिका राष्ट्रिय जनमोर्चा जितेको थियो। उता नौबहिनी गाउँपालिकामा पनि सत्ताधारी दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल गरेर राष्ट्रिय जनमोर्चा एक्लाएका छन् ।

काँग्रेस अध्यक्षमा र माओवादीलाई उपाध्यक्ष दिने गरि नौबहिनीमा पद बाँडिएको छ। नौबहिनीको वडा नम्बर १ स्याउलीवाङ समाजवादीलाई तीन र तीनवटा वडा कांग्रेस माओवादीलाई दिने गरी सहमति गरिएको पाइएको छ ।

यसैबीच, माण्डवी गाउँपालिकामा माओवादीको भागमा अध्यक्ष र काँग्रेसलाई उपाध्यक्ष दिने गठबन्धनबीच सहमति भएको छ । यद्यपि सहमतिबारे आधिकारिक जानकारी आएको छैन ।

यसअघि स्वर्गद्धारी नगरपालिकामा कांग्रेसलाई मेयर र राष्ट्रीय जनमोर्चालाई उपमेयर दिने गरि चुनावी तालमेल भएको छ। सरुमारानी गाउँपालिकामा पनि कांग्रेसलाई अध्यक्ष र माओवादीलाई उपाध्यक्ष दिने गरि गठबन्धनबीच भागबण्डा टुङ्गिएको छ । अन्य पालिकामा भने तालमेलबारे छलफल जारी रहेको नेताहरुले बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर