हरिकृष्णको हिसाब– अघिल्लोपटक मैले जित्दा पनि हराइयो, यसपटक ललितपुरबासीले न्याय गर्छन् (भिडिओ) – Nepal Press
नेपाल टक

हरिकृष्णको हिसाब– अघिल्लोपटक मैले जित्दा पनि हराइयो, यसपटक ललितपुरबासीले न्याय गर्छन् (भिडिओ)

‘जनताले चिरिबाबुलाई पासमार्क दिँदैनन्, एमालेको भोट विगतको भन्दा १२ हजार बढेको छ’

काठमाडौं । ६६ वर्षीय हरिकृष्ण ब्यन्जनकारले नेकपा एमालेका चार दशक बढी विभिन्न तहमा काम गर्दै केन्द्रीय कमिटी सदस्यमा पुग्दासम्म राजकीय पद पाएनन् । उनका लागि २०७४ सालको स्थानीय तह निर्वाचन विर्सनलायक बन्यो । ललितपुर महानगरपालिकाको मेयरमा पराजित भएका कारण विर्सनलायक बनेको होइन, बरु गन्दागन्दैको मत तलमाथि हुँदा पनि निरीह बन्नुपरेका कारण उनका लागि विर्सनलायक बनेको हो ।

हरिकृष्णले दुईटा वडाको मत तलमाथि भएको भन्दै फेरि गन्न माग गरे पनि निर्वाचन अधिकृतले मानेनन् । अन्ततः उनी कांग्रेसका चिरिबाबु महर्जनसँग ३२६ मतले स्तब्ध भए । महर्जनले २४ हजार ६४२ मत पाएर ललितपुरको मेयर निर्वाचित हुँदा ब्यन्जनकारले २४ हजार ३१५ मत पाए ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार रमेश महर्जनले १३ हजार ४६८ मत पाउँदा माओवादीका दिपेश महर्जन १३ हजार ४५८ मतसहित चौथो स्थानमा रहेका थिए । पुनः मतगणनाको माग लिएर ब्यन्जनकार अदालत पनि गए । अदालतले उनको रिट खारेज गर्यो ।

अदालतले रिट खारेज गरेपछि ब्यन्जनकार यसपटक फेरि जनताको अदालतमा न्याय माग्न जाँदैछन् । ललितपुर महानगरपालिकाको मेयरमा स्थानीय पार्टी कमिटीले ब्यन्जनकारको एकल नाम सिफारिस गरेपछि उनी उम्मेदवार बन्ने पक्का भएको छ । ब्यन्जनकारले विगतको त्रुटिबाट पाठ सिकेर चुनाव जित्नेगरी आफ्नो अभियान थालिसकेका छन् ।

महर्जनका लागि यसपटक चुनौती भनेको कांग्रेस–माओवादी गठबन्धन हो । किनकि अघिल्लो चुनावमा तीन सय मतले पराजित भएका ब्यन्जनकारको लागि करिब १० हजार मतसहितको माओवादीले कांग्रेसलाई समर्थन गर्नु भनेको हिसाब सिधै गठबन्धनको माथि हुन्छ ।

तर एमालेहरु भने माओवादीको मत एमालेमा आएको दाबी गर्छन् । नेकपा एकता भंग भएसँगै माओवादीकी यसअघिकी प्रस्तावित उपमेयर मञ्जली शाक्यसहितको समूह एमालेमा लागेको छ । एमालेले शाक्यलाई उपमेयरको उम्मेदवार बनाएको छ । नेकपा एसमा नगन्य व्यक्ति लागेको र माओवादीको एउटा समूह नै एमाले बनेको अवस्था छ ।

अर्कोतिर विगतमा रमेश महर्जनले पाएको करिब १४ हजार मत ललितपुरको लागि निर्णायक हुनसक्छ । महर्जनको निधन भइसकेको छ । विगतमा एमालेको आधार क्षेत्र रहेका तीनवटा वडाबाट महर्जनले आफ्नो मत काटेको र यसपटक सो मत फिर्ता हुने ब्यन्जनकारको हिसाबकिताब छ ।

ब्यन्जनकार चुनाव लड्दै गर्दा गठबन्धनबाट चिरिबाबु नै दोहोरिए भने उनीसँग प्रशस्त चुनावी एजेण्डा छन् । चिरिबाबु दोहोरिन आफ्नो लागि फाइदा हुने ब्यन्जनकारको विश्लेषण छ ।

मेयरको उम्मेदवार बन्दैगर्दा पार्टीभित्र उनी सर्वसम्मत भएकाले अन्तर्घातको डर छैन । त्यो उनका लागि अर्को सुविधा हो । अब उनी पार्टीबाहिरका र स्वतन्त्र मतदातासमक्ष केन्द्रित हुन पाएका छन् ।

ललितपुरको मेयरमा दोस्रोपटक प्रतिस्पर्धा गर्दैगर्दा उनीसँग के एजेण्डा छन् ? हिसाबकिताब कस्तो छ ? यिनै विषयमा केन्द्रित भएर गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

महानगरपालिकाको मेयरमा तपाईं एक महिनाअघि नै सिफारिसमा पर्नुभयो । अघिल्लोपटक थोरै भोटले हारेको, यसपटक गठबन्धनसँग लड्नुपर्ने भएपछि हार्ने डरले सबै ब्याक भएकाले तपाईँलाई नै अघि सारेको हो ?

त्यस्तो हैन । म पहिला पनि महानगरपालिकाबाट एक्लै सिफारिस भएको उम्मेदवार थिएँ । त्यतिबेला हामी आफ्नो सानो कमजोरीका कारण हार्न पुग्यौं । अरुलाई दोष दिनुभन्दा हामीले आफ्नै कमजोरी सम्झनुपर्छ । जितेको चुनाव हारियो, दुई सय भोट तलमाथि परेर ।

अहिले पनि सबै साथीहरुले मलाई विश्वास गरेका छन् । त्यो बेला जितेको एकजना हाम्रो उम्मेदवार हार्न पुगे, यसपालि चाहिँ जसरी पनि जिताउन पर्छ भन्ने सबैको राय रह्यो । अरुले हार्ने डरले होइन कि योपटक जसरी पनि जिताउने हिसाबले मलाई अगाडि सारिएको हो ।

तर त्यो बेला फरक दुई सय मत छ । जबकि यसपटक गठबन्धन हुँदैछ र एमाले पनि फुटेको छ । कसरी जित्ने विश्वास पलायो ?

एमाले चोइटिएको छ, माओवादी चाहिँ फुटेको छ । अहिले हाम्रो पार्टीबाट नेकपा एसमा जाने साथीहरु ललितपुर महानगरबाट ३० देखि ४० जना होलान् । तर माओवादीबाट हामीसँग आउने साथीहरु ४०० भन्दा बढी छन् । अरु पार्टीबाट पनि एमालेमा आउने साथीहरु धेरै छन् । केही दिन अघिमात्र पार्टी कार्यालयमा २०० भन्दा बढी अन्य दलबाट आउने साथीहरुलाई स्वागत गरेका छौं ।

धेरै साथीहरु पटक–पटक पार्टी प्रवेश गरेका छन् । त्यसमा सिन अनसिन मान्छेहरु पार्टी प्रवेश गरेका छन् । कांग्रेसमा पनि अहिलेको नेतृत्वदेखि रुष्ट रहेका छन् । उनीहरुले पनि हामीलाई सहयोग गरिरहेका छन् ।

त्यो बेलाको मतभार हेर्दा कांग्रेस र माओवादीमात्रै मिल्दा पनि एमालेको भन्दा १० हजार बढी हुन्छ । साझा विवेकशीलका रमेश महर्जनले पाएको १३ हजार मत कता जान्छ, ठेगान छैन । तपाईंको हिसाबकिताब के हो ?

अहिले त्यस्तो हैन । २०७४ सालमा हाम्रो पार्टी सदस्यता नै पाँच हजार थियो । अहिले ९ हजार पुगेको छ । त्यो बेला भर्खर महानगरपालिका भएको हुनाले वडाहरु मर्ज भएको थियो । संगठन अलि राम्रो अवस्थामा थिएन । कात्तिक ६ र ९ गते गरेको वडा अधिवेशन र पालिका अधिवेशनले अहिले संगठन सुदृढ भएको छ ।

नेकपा एमाले अझै सुदृढ छ भन्नेमा हामी विश्वस्त छौं । अर्को कुरा उनीहरुले नेकपा एमाले कमजोर देखेको भए त किन तालमेल गर्न पर्यो ? तालमेल गर्नै पर्दैन नि । नेकपा एमाले बलियो देखेर त उनीहरुले तालमेल गरेका हुन् ।

त्यतिबेला तपाईंलाई राप्रपाको समर्थन थियो, उपमेयर राप्रपाको थियो । राप्रपाको भोट पनि त्यतिबेला पाउनु भयो । अर्को कुरा साझा विवेकशीलका उम्मेदवारले पनि राम्रै मत ल्याएका थिए । फेरि पनि न्युट्रल भोट तान्न नसक्ने हो भने त कसरी हिसाब मिल्छ र ?

एउटा कुरा राप्रपासँग हाम्रो तालमेल अन्तिममा आएर भयो । त्यसले गर्दा उनीहरुसँग जति समन्वय गर्नुपर्ने हो, गर्न सकिएन । हाम्रो उपमेयरको उम्मेदवार नै नभएकोलाई १३ हजार मत आयो राप्रपाको उपमेयरलाई १० हजार मत आयो । भनेपछि राप्रपासँग समन्वय हुन नसकेपछि त्यो अवस्था आयो ।

ललितपुरलाइ स्मार्ट सिटी हैन, विकसित सांस्कृतिक नगरका रुपमा विकास गर्नुपर्छ । खानेपानीको समस्या जुन छ, त्यसलाई हामीले पूर्णरुपमा निराकरण गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने यहाँका स्रोतहरुको पहिचान गरेर अगाडि बढ्न सकिन्छ ।

दोस्रो कुरा भनेको साझा पार्टीबाट स्वतन्त्र उम्मेदवार रमेश महर्जनले व्यक्तिका कारणले लगेको मत हो । रमेश महर्जन एकजना सुन व्यापारी र समाजसेवी भएका कारण पनि उहाँलाई त्यति मत गएको हो । उहाँले लगेका भोटहरुमध्ये कुनै कुनै वडाहरुमा हाम्रो पकड भएका ठाउँहरुबाट पनि गयो ।

त्यो बेलामा केही स्थानमा जातीय हिसाबले उहाँलाई केही मत गयो । जस्तो पुरानो २० नं. वडा नःटोल भनेको एमालेको पहिलादेखि पकड रहेको स्थान हो । त्यो ठाउँबाट मलाई कम भोट आयो, उहाँलाई बढी भोट गयो । त्यहाँ भनेको नेकपा एमालेको विरुद्धमा भन्दा पनि जातीय र धार्मिक हिसाबले शोभा शाक्य र रमेश महर्जनलाई भोट गएको हो । उहाँहरु बुद्धिष्ट भएका हिसाबले केही मत काटिएको हो ।

हामीले धर्म र जातबारे त्यहाँ बुझाउन नसकेका कारण पनि हाम्रो मत काटिएको हो । अब ती मत फिर्ता ल्याउन सकिन्छ र आउँछ पनि ।

अर्को कुरा १६ नम्बर वडाको नागबहाल, गाबहाल र विशेषगरी वडा नम्बर ८, १२, १६ र २० नम्बरबाट मलाई कम मत आयो । अन्य स्थानबाट राम्रो मत आयो । २५ नम्बरको मत गणना हुँदासम्म मैले जितिरहेको थिएँ । २६, २८ र २९ को मत गणना गर्दा थोरै मतले म पछि परेको हुँ । त्यसमा पनि ४ नम्बर वडामा ११२ भोट गणनामा गल्ती गरिदिएको छ ।

मसँग त्यसको प्रमाण छ । ८ नम्बर वडामा १२८ भोट मिस्टेक गरिदिएको छ, त्यो पनि मसंग प्रमाण रहेको छ । यी दुवै स्थानका मत गणना गर्दा टोटल गर्ने बेलामा मलाई तल झारियो ।

हामीले यो विषयमा मुद्दा लड्दा निर्वाचन आयोगले प्रमाण दिएको छ । सबै गर्दा अघिल्लो चुनावमा ४०९ मतले म अगाडि भएको त मसँग प्रमाण छ । मैले अदालतमा पेश गरेको छु । न्यायधीशले हैन भन्न सक्नु भएको छैन । तर, अदालतले त्यो बेलामा मतगणना हुँदा चुप लागेर बसेको र हारेपछि मात्रै अदालतमा आएको भन्ने तर्क राखेर त्यो रिट खारेज गरिदियो ।

चुनाव लड्दै गर्दा तपाईंले कस्तो आँकडा निकाल्नु भएको छ ? अन्य पार्टीहरुले कति–कति भोट होल्ड गर्छन् ललितपुर महानगरमा ?

अहिले नेकपा एमालेले ३५ हजारभन्दा बढी भोट लिन्छ । कांगे्रसको अलि खस्किँदो अवस्था रहेको छ । उसले लिने भोट भनेको त्यस्तै १८ देखि २० हजारसम्म रहन्छ । माओवादीले पाउने भनेको आफ्नो उम्मेदवार हुँदा भिन्दै हुन्छ र अर्को दलको उम्मेदवार हुँदा अर्कै हुन्छ । अहिले स्थानीय चुनाव हुँदैछ, स्थानीय चुनावमा नीतिगतभन्दा पनि स्थानीयस्तरमा कसले सहयोग गरेको छ, कसले काम गरेको छ र कसले काम दिन्छ भन्ने हेर्ने हो ।

माओवादीकै कुरा हेर्ने हो भने अघिल्लो चुनावमा करिब १० हजार मत ल्याएको थियो । अब त्योभन्दा त बढाउला नि ?

धेरै माओवादीहरु एमालेमा समाहित भएका छन् । नेकपा एकताको निरन्तरताका रुपमा उहाँहरु एमालेमा रहनुभयो । हाम्रो महानगर कमिटीको अध्यक्ष आस्था शाक्य (मन्जली) जनयुद्धदेखि नै कमाण्डर हुनुहुन्छ । अहिले हामीले उपमेयरको उम्मेदवार बनाएका छौं ।

गोदावरी नगर कमिटीका मिथुन महर्जन माओवादीबाटै आउनु भएको हो । उहाँलाई हामीले सचिव बनाएका छौं । नगर कमिटीमा थुप्रै पूर्वमाओवादी साथीहरु हुनुहुन्छ । जिल्ला कमिटीमा पनि थुप्रै साथीहरु रहनुभएको छ । माओवादीले पहिला जति पनि मत ल्याउनसक्ने सम्भावना छैन ।

भनेपछि माओवादीले अघिल्लो निर्वाचनमा ल्याएको १० हजार मत होल्ड गर्ने अवस्था रहेन ?

त्यो त कसरी सम्भव हुन्छ ? ललितपुरमा माओवादीहरु सबै एमाले भइसकेका छन् । अहिले एमसीसीका कारणले गर्दा उनीहरु अझै घट्दै गएका छन् । म पनि माओवादीसँग नजिक छु । म आफै पनि ३ वर्षसम्म अध्यक्ष भएको मान्छे । मलाई माओवादीभित्र को कहाँ के छ भन्ने कुरा सबै थाहा छ । २०७५ देखि ३ वर्ष त एमाले माओवादी सबैको अध्यक्ष भएको मलाई जिल्लामा माओवादी कुन अवस्थामा छ भन्ने प्रस्ट जानकारी छ ।

पम्फा भुसाल मन्त्री यहीँकै हुनुहुन्छ । उहाँ त हरेक वडा र टोल–टोलमा गइरहनुभएको छ नि ?

हैन, उहाँहरु टोल–टोलसम्म जानुभएको छ । हामी टोल–टोलसम्म मात्र नभएर घरघरसम्म गएका छौं ।

पार्टीको केन्द्रीय सदस्य भएकाले सुरक्षित हुन खोज्दा तपाईंले संसदको टिकट पनि पाउनु हुने थियो । तर, ललितपुरमा जातीय कुरा पनि छ भनिन्छ नि ! जस्तो अघिल्लो चुनावमा तपाईं हार्ने र कांग्रेसका चिरीबाबु महर्जनले जित्ने कारण महर्जन भएकै कारण उहाँले जित्नु भएको भन्छन् नि ?

कसैकसैमा होला तर ललितपुरमा अरु जात पनि छन् नि । अरुमा पनि आफ्नो जातको हेर्ने होला तर यहाँ खास त्यस्तो देखिँदैन र छैन । त्यो जात भइ दिएको भए त मैले १० हजार भोटले हार्नुपर्ने नि । मैले त जितेकै हो । मैले अघि पनि भने मैले त जितेर हारेको हो नि !

पहिला राप्रपालाई उपमेयर दिनुभएको थियो । योपटक पनि अरु कोहीसँग तालमेल हुन्छ कि एमाले एक्लै लड्छ ?

योपटकको निर्वाचनमा यहाँ एमाले एक्लै लड्छ । अरुसँग गठबन्धन हुने कुरा आएको छैन ।

भनेपछि माओवादी सेन्टिमेन्टलाई उपमेयर दिने ?

उपमेयरमा आस्थाजी नेकपाको निरन्तरताको रुपमा आउनु भएको हो । यो एमाले भनेको पहिलाको एमाले हैन । ०७४ को एमाले नभएर ०७५ जेठ ३ पछिको नेकपाको निरन्तरता हो ।

नेकपा एमाले अहिले नयाँ रुपमा आएको छ । त्यसमा माओवादीको सेन्टिमेन्टभन्दा पनि उहाँ नेकपालाई स्वीकार गरेर आइसकेपछि सबै समूहको र अझ माओवादीभित्रको पनि व्यक्तिगत राजनीति गर्नु हुँदैन, संस्थागत राजनीति गर्नु पर्छ भन्ने साथीहरु धेरै छन् । उनीहरु पनि हाम्रो पक्षमा आएका छन् ।

भनेपछि यसपटक सिंगल लड्ने तयारीमा हुनुहुन्छ ?

अँ, योपटक ललितपुरमा हामी सिंगल लड्ने हो ।

यो एउटा राजनीतिक कुरा भयो, महानगरपालिकामा चिरीबाबु महर्जनले निकै राम्रो काम गर्नुभयो भनिएको छ, झन् पपुलर बनिराखेको बेलामा तपाईं भिड्दा चुनौती पनि त होलान् नि ?

मलाई हाँसो उठ्छ, राम्रो काम भनेपछि । उहाँले पुल्चोकदेखि कुपण्डोलसम्म फ्लाईओभर बनाउने कुरा गर्नु भएको थियो । उहाँले त्यो राम्रो काम गर्नुभयो त ? कुपण्डोलदेखि पुल्चोकको फ्लाइओभर कहाँ छ ?

साइकललेन उहाँले बनाउनु भएको छ, त्यो कस्तो भयो जनताले देखेका छन् । साइकललेन बनाएको स्थानमा मोटरसाइकल पार्किङ गरेर पैसा खाइरहेका छन् । नगरपालिकाको साइकल लेन त्यस्तो छ । ट्राफिक र यातायात व्यवस्थाले हुँदैनभन्दा पनि साइकल लेन बनाइयो । हरेक काम एकलौटी ढंगले गरिएको छ ।

काम राम्रो गर्यो भने खै जनताले त देखेकै छैन । मिडियामा प्रचारबाजी गरियो होला । तर, जनताले देख्ने काम खै त ?

एकजना मान्छेलाई तपाईं राम्रो भन्नुहुन्छ, खै के राम्रो भन्ने ? बानी राम्रो छैन । खानेपानी राम्रो छैन । स्वास्थ्य राम्रो छैन । अनि मान्छेमात्रै राम्रो भएर हुन्छ ? हुन्न नि । भएको तपाईं हामी सबैले देखेकै कुरा हो ।

भनेपछि उहाँको व्यक्तित्व र लोकप्रियता बढ्यो । मलाई चुनौती हुन्छ कि भन्ने छैन तपाईंलाई ?

छैन छैन । किन हुनु ? पहिलाभन्दा उहाँ फेल भइसक्नुभयो अनि किन मलाई चुनौती हुनु । चिरीजाबाबुलाई असफल मेयर भनेर नगरपालिकाका जनताले टेस्ट गरिसके । मलाई अब झन् सजिलो भएको छ ।

मलाई त उहाँ चुनाव लड्न फेरि आउनु भयो भने झन् सजिलो हुन्छ । मलाई उहाँको नशा–नशा थाहा छ । उहाँ आउँदा त म त्योअनुसारको रणनीति बनाउन सक्छु ।

उपविजेताको हिसाबले तपाईंले उहाँको पाँचवर्षे कार्यकाललाई मूल्याङ्कन गर्दा कति नम्बर दिनु हुन्छ ?

उहाँले पास नम्बर पाउनु हुन्न । प्रशासनमा खत्तम छ । उहाँले बनाएका योजनाहरुमा नम्बर पाउने हो भने एउटा कर्मचारीको ओडी चार्ट पाँच वर्षसम्म बनाउन सक्नु भएन ।

महानगरमा कर्मचारी कति चाहिन्छ भन्नेबारे उहाँले केही बनाउन सक्नुभएन । अब नगर कसरी विकास गर्ने भन्ने विषयमा उहाँसँग केही पनि योजना छैन । भिजन पनि छैन । के गर्नु भएको छ उहाँले ? केही गर्नु भएको छ ?

उहाँसँग विकास निर्माणका विषयमा केही भिजन छैन । जस्तै ललितपुरलाई क्राफ्टसिटीको रुपमा विकास गर्ने भनिएको थियो । त्यसमा वल्र्ड क्राफ्टसिटीले समर्थन गरेको छ । त्यसमा के गरेको छ त ?

ललितपुर ह्याण्डीक्राफ्टको विषयमा संसारमा प्रख्यात छ । त्यसको विकासका लागि के गरिएको छ ? म विरोध गर्न त चाहन्नँ तर अब के कुरामा राम्रो भन्ने ? उहाँले यसमा राम्रो गर्नु भएको छ भन्ने कुरा नै देखेको छैन । उहाँले गरेका विकासका कामहरु मैले त देखिनँ । जनताले पनि देख्नुभएको छैन ।

अघिल्लो निर्वाचनमा तपाईंले जित्न सक्नु भएन । अबको चुनावमा जनताबीच के एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?

पहिलो, ललितपुरलाइ स्मार्ट सिटी हैन, विकसित सांस्कृतिक नगरका रुपमा विकास गर्नुपर्छ । खानेपानीको समस्या जुन छ, त्यसलाई हामीले पूर्णरुपमा निराकरण गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु । किनभने यहाँका स्रोतहरुको पहिचान गरेर अगाडि बढ्न सकिन्छ ।

स्वास्थ्यको सवालमा ७० वर्ष नाघेकाहरुलाई निःशुल्क औषधोपचार गराउन सकिन्छ । ललितपुरमा गर्न सकिने धेरै छन् ।

ललितपुरमा पूर्वाधारको कुरा गर्ने हो भने यहाँका सम्पूर्ण बाटाहरुलाई पक्की गर्ने, इँटा बिछ्याएर हुन्छ कि ढुंगा राखेर हुन्छ कि ढलान र पिच के गरेर हुन्छ, सबै सडकलाई पक्की गर्ने हो ।

फ्लाईओभर आवश्यक छ । तर, त्यो ठाउँमा हैन । त्यसलाई ग्वार्कोमा राख्न पर्छ । सातदोबाटोमा राख्न पर्छ । त्यसपछि धोबीघाटको मुनि राख्न पर्छ फ्लाईओभर । पाँच–छ वटा फ्लाईओभर आवश्यक छ । तर त्यो पुल्चोकदेखि कुपण्डोलसम्म हुन्न । समस्या थापाथलीको हो । थापाथलीमा लगेर खसालेर त्यसको औचित्य के ?

फ्लाईओभर आवश्यक छ । तर, त्यो ठाउँमा हैन । त्यसलाई ग्वार्कोमा राख्न पर्छ । सातदोबाटोमा राख्न पर्छ । त्यसपछि धोबीघाटको मुनि राख्न पर्छ फ्लाईओभर । पाँच–छ वटा फ्लाईओभर आवश्यक छ । तर त्यो पुल्चोकदेखि कुपण्डोलसम्म हुन्न । समस्या थापाथलीको हो । थापाथलीमा लगेर खसालेर त्यसको औचित्य के ?

शिक्षामा फड्को मार्न सक्छौं, आमूल परिवर्तन गर्न सक्छौं । शिक्षामा मात्र नभएर स्वास्थ्यमा पनि आमूल परिवर्तन ल्याउन सक्छौं । जहाँ जहाँ भौतिक पूर्वाधारको काम सकिएको हुन्छ त्यहाँमा जनताको जीवन सहज बनाउन अनलाइनबाट सिफारिस लिने, अनलाइनबाटै नक्सा पास गर्ने व्यवस्था गर्न सकिन्छ ।

सीसी टीभी क्यामेरा राखेर सबै ठाउँका जनताले गुनासो गर्नु नपर्ने गरी कार्यालयबाटै फलानो ठाउँमा ढल भत्केको रहेछ, फलानो ठाउँमा बाटो भत्केको छ, तुरुन्त मर्मत गर्न लगाउने र जनताको जीवन सहज बनाउन सहयोग गर्ने तथा जनताको जीवनस्तरलाई आयमूलक बनाउने काम गर्न सकिन्छ । नगरपालिकाबाट विभिन्न किसिमका तालिमहरु दिएर तालिमपछि निब्र्याजी ऋण दिएर स्वरोजगार बनाउने काम हामीले गर्ने छौं ।

माथिबाट आउने प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई हामीले वडाबाट पनि पैसा थपेर अझ व्यापक बनाउँछौं । यसबाट स्वरोजगार बनाउने सवालमा हामी पूर्ण सफल हुन्छौं ।

अहिलेका मेयरले अघि सार्नुभएको तर हुन नसकेको फ्लाईओभर आवश्यक हैन जस्तो लाग्यो तपाईंलाई ?

फ्लाईओभर आवश्यक छ । तर, त्यो ठाउँमा हैन । त्यसलाई ग्वार्कोमा राख्न पर्छ । सातदोबाटोमा राख्न पर्छ । त्यसपछि धोबीघाटको मुनि राख्न पर्छ फ्लाईओभर । पाँच–छ वटा फ्लाईओभर आवश्यक छ । तर त्यो पुल्चोकदेखि कुपण्डोलसम्म हुन्न । समस्या थापाथलीको हो । थापाथलीमा लगेर खसालेर त्यसको औचित्य के ?

थापाथलीबाट माथि पनि लान सकेको भए हो । तर थापाथलीमा लगेर खसालेपछि के हुन्छ ? थापाथलीमा जामको समस्या हो । अब पुल्चोकबाट कुपण्डोल लगेर खसालेपछि त्यहाँ जाम हुँदैन त ? कुपण्डोल लगेर थापाथलीमा खसाल्दैमा समस्याको समाधान हुन्न ।

तपाईंले अहिलेका मेयर असफल भन्नुभयो तर कार्यपालिकामा एमालेको बहुमत छ । यस्तोमा एमालेले कामै गर्न दिएन भनेर उहाँ पुनः जनतामा जान सक्ने सम्भावना पनि रहन्छ । यस्तो अवस्थामा तपाईंहरु जनतामा के भनेर जानुहुन्छ ?

उहाँले पहिलो परिषदबाटै १४ करोड रुपैयाँ स्वविवेकले खर्च गर्न पाउने अधिकार लिनुभयो । उहाँलाई एमालेले सपोर्ट नै गर्यो । कुन कुरामा नेकपा एमालेले भाँजो हाल्यो, कुन निर्णयमा असहयोग गर्यो, उहाँले भन्न सक्नुपर्यो । तर, उहाँले के गर्नु भएको छ भने बोर्ड बैठक र निर्णयविनै जथाभावी काम गर्नुभएको छ ।

जस्तो कि कर्मचारी भर्नाको विषयमा त्यस्तै गरेको छ । विभिन्न किसिमको रकम बाँड्ने सवालमा पनि त्यस्तै गरेको छ । एक हिसाबले भन्ने हो भने उहाँ संस्थागत नभएर निजी प्रोजेक्टको मेनेजर जस्तै हुनुभएको छ । जे पनि गर्न पाउने जे पनि हायर–फायर गर्न पाउने प्रोजेक्टको मेनेजर जस्तो काम गर्ने प्रवृत्ति बस्यो । त्यसले गर्दा नगरपालिकामा संस्थागत काम भएन ।

त्यहाँको प्रशासन खत्तम नै छ । निर्माण सम्पन्न लिन पनि पैसा खुवाउनु परेका गुनासाहरु सुनिरहेका छौं । सामान्य चिया खर्चमात्रै नभएर एकजनाको पार्टीको भोज खर्च व्यहोरेका जनगुनासाहरु छन् । त्यस्ता खालका काम गर्दा पनि उहाँलाई हामीले एमालेको तर्फबाट कुनै भाँजो हालेका छैनौं । बरु उहाँको मनोमानी निर्णयहरुलाई एमालेका जनप्रतिनिधिहरुले सहेर बस्नु भएको छ । हामीहरुले एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई तपाईंहरु संस्थागत भएर जानुस् भनेर भनेका थियौं र भनिरहेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर