ललिता निवासको जग्गा कसरी लिइएको थियो ? अख्तियारले खोज्यो ५३ वर्षअघिका एकमात्र जीवित मन्त्री – Nepal Press

ललिता निवासको जग्गा कसरी लिइएको थियो ? अख्तियारले खोज्यो ५३ वर्षअघिका एकमात्र जीवित मन्त्री

काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५३ वर्षअघिका मन्त्री नवराज सुवेदीसँग जानकारी मागेको छ ।

विशेष अदालतमा मुद्दा बलियो बनाउन अख्तियारले ललिता निवासको जग्गा सरकारीकरण गर्ने तत्कालीन मन्त्रिपरिषदका एकमात्र जीवित सदस्य सुवेदीसँग त्यसबेला के भएको थियो भनेर जानकारी लिएको हो ।

२०२६ सालमा सुवर्ण शमसेरका परिवारलाई त्यतिबेला चल्तीको मूल्यभन्दा बढी पैसा दिएर सरकारले हदबन्दी भन्दा बढीको जग्गा लिएको सुवेदीले यसअघि अख्तियार र सीआईबीका अधिकारीहरूलाई मौखिक जानकारी गराएको स्रोतले जनाएको छ ।

त्यसबेला निर्माण तथा यातायात मन्त्री रहेका सुवेदी पञ्चायतकालका सर्वाधिक शक्तिशाली पात्रमध्येका एक थिए । रामेछापबाट पटक-पटक निर्वाचित भएका सुवेदी पञ्चायतको अन्तिम समयमा हालको सभामुखजस्तै राष्ट्रिय पञ्चायतको अध्यक्ष थिए ।

८४ वर्षीय सुवेदी हाल पनि राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिका सदस्य छन् । नेपाल प्रेससँगको सम्पर्कमा आएका सुवेदीले आफूलाई अख्तियारले त्यसबेलाको निर्णयको बारेमा जानकारी मागेको र आज स्वास्थ्यले साथ दिए अख्तियारमै गएर आफूले जाने बुझेको अवगत गराउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर