सिन्धुपाल्चोकको गठबन्धन पनि धरापमा, राप्रपा च्याप्न कांग्रेस-माओवादीको हानाथाप – Nepal Press

सिन्धुपाल्चोकको गठबन्धन पनि धरापमा, राप्रपा च्याप्न कांग्रेस-माओवादीको हानाथाप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा सत्ताघटक दलहरुबीच स्थानीय तहमा भागभण्डा नमिल्दा गठबन्धनमा समस्या देखिएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीले अडान नछाड्दा गठबन्धनमा समस्या देखिएको हो ।

गठबन्धनमा मुख्यतः कुन दलले कुन स्थानीय तह लिने भन्नेमा नै समस्या देखिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए । माओवादी केन्द्रले यसअघि जितेका दुईसहित दोस्रो स्थान भएको दुई र अर्काे एक स्थानीय तह गरी पाँचवटामा दाबी गरेको छ ।

एकीकृत समाजवादीले मेलम्ची नगरपालिकामा दाबी कायम राखेको छ । माओवादीले यसअघि जितेको चौतारा साँगचोकगढी नगरपालिका, भोटेकोशी गाउँपालिकासहित बलेफी, जुगल र लिसंखुपाखर गाउँपालिकामा आफूहरुले प्रमुख पाउनु पर्ने दाबी गरेको छ ।

तर नेपाली कांग्रेसले भने माओवादीले भनेअनुसारका दिन नसकिने प्रष्ट पारेको छ । ‘भोटेकोशी माओवादीले मागेको छ, तर भोटेकोशी हामी दिनसक्ने अवस्थामा छैनौं’, कांग्रेसका ती नेताले भने, ‘भोटेकोशीको पाँचै वडा हामी जित्ने अवस्थामा छौ, जित्ने अवस्था हुँदाहुँदै हामी छाड्न सक्दैनौं ।’

तीन दलबीच गठबन्धन भंग भए भोटेकोशी गाउँपालिकाकै कारण हुने कांग्रेसका ती नेताले बताए ।

माओवादी केन्द्रले भने केन्द्रको सहमति अनुसार २०७४ को स्थानीय निर्वाचनमा जितेको चौतारा साँगाचोकगढी र भोटेकोशी कुनै हालतमा पनि छाड्न नसकिने अडानबाट ब्याक भएको छैन । ‘हामीले यसअघि जितेका स्थानीय तह छाड्ने सवाल नै हुँदैन’, माओवादीका एक नेताले भने’, त्योबाहेक अघिल्लो निर्वाचनमा दोस्रो भएको बलेफी र लिसंखु पनि हामी छाड्दैनौं ।’

गठबन्धनका दलहरुबीच आज पुन काडमाडौंमा बैठक बस्ने र ठोस निर्णय हुनसक्ने गठबन्धनका नेताहरुले जानकारी दिएका छन् । गठबन्धनका दलबीच छलफल हुँदै गर्दा प्रमुख दुई पार्टी नेपाली कांग्रेस र माओवादीले अर्काे दल राप्रपासँग पनि निरन्तर संवाद गरिरहेको छ ।

भोलि गठबन्धन भएन भने माओवादी, समाजवादी र राप्रपा मिलेर जानका लागि माओवादीले तयारी गरेको छ । कांग्रेसले पनि केही स्थानीय तहमा एमालेसँग मिलेर जानसक्ने सम्भवना देखेको छ । गठबन्धन भएन भने एमाले र कांग्रेस चौतारा साँगाचोकगढी नगरपालिकामा मिल्नसक्ने कांग्रेसका एक नेताले जानकारी दिए ।

राप्रपाले भने अहिलसम्म कुन दलसँग मिलेर जाने निर्णय गरिसकेको छैन । प्रमुख तीनै दलसँग छलफल भइरहेको राप्रपाले जानकारी दिएको छ । राप्रपाको मजबुत रहेको पाँचपोखरी थाङपाल, मेलम्ची नगरपालिका र चौतारा सँगाचोकगढी नगरपालिकामा उपमेयर पाउनु पर्ने गरी छलफलमा बसेको छ भने पाँचपोखरी थाङपाल गाउँपालिकामा भने अध्यक्ष नै पाउनुपर्ने राप्रपाको अडान छ । सिन्धुपाल्चोकमा राप्रपा नेपालको खासै भूमिका देखिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर