माओवादी बैठकमा ब्रिफिङ- गठबन्धनमा कांग्रेस घमण्डी, नेकपा एस घाँडो – Nepal Press

माओवादी बैठकमा ब्रिफिङ- गठबन्धनमा कांग्रेस घमण्डी, नेकपा एस घाँडो

कांग्रेसबाहेक तीन दल मिलेर जाँदा पनि ४ वटा उपमहानगरपालिका जित्ने आँकलन

काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेसको घमण्ड र नेकपा एसको हैसियतभन्दा बढी दाबीका कारण चुनावी गठबन्धन पेचिलो बनेको निष्कर्ष निकालेको छ । कांग्रेस लचिलो नबने बाँकी चार दलको मात्र गठबन्धन गर्ने विकल्पमा समेत माओवादीभित्र छलफल भएको छ ।

मंगलबार अध्यक्ष प्रचण्डले बोलाएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा उपमहानगरपालिकाको भागबण्डा मिलाउन गाह्रो भएको ब्रिफिङ सुनेपछि नेताहरुले देशब्यापी तालमेलको सम्भावना नरहेको निष्कर्ष निकालेका छन् । कांग्रेसले ८ वटा उपमहानगरपालिका दावी गरेपछि समस्या आएको प्रचण्डले सुनाएका थिए ।

उता माओवादीले भने ११ मध्ये ४ वटा उपमहानगरपालिका लिने प्रयास गरिरहेको छ । हाल घोराही र जितपुर सिमरामात्र माओवादीले पाउने प्रस्ताव भएकोमा केन्द्रीय कार्यालयको विस्तारित बैठकमा चारवटा उपमहानगरपालिका बटमलाइन बनाउनुपर्ने विषयमा छलफल भएको हो ।

पूर्वस्थायी कमिटी सदस्यहरू सम्मिलित बैठकमा प्रचण्डले गठबन्धनमा सहमतिका लागि अहिलेसम्म भएका प्रयासहरुको जानकारी दिएको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले बताए । उनले सबैतिरको ब्रिफिङ लिइएको भन्दै कांग्रेसबाहेक गठबन्धन दल मिलेर जानुपर्ने अवस्था पनि आउन सक्ने बताए ।

माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

बैठकमा ६ मध्ये २ महानगरपालिकाको हैसियत माओवादीको भए पनि एउटामात्र मात्र चित्त बुझाउनु परेकाले ११ मध्ये ४ वटा उपमहानगरपालिका नछाड्न नेताहरूले प्रचण्डलाई दबाब दिएका छन् ।

माओवादीले जितपुर धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिका छाड्न नहुने नेताहरूले बताएका थिए । तर हेटौंडामा नेकपा एसको दाबी छ भने धरान कांग्रेसले नछाड्ने भनेको छ ।

नेकपा एसले जनमत नै नभएका ठाउँमा पनि अनावश्यक दाबी गर्दा गठबन्धनमा सहमति हुन नसकेको बैठकमा ब्रिफिङ भएको थियो । कतिपय नेताले जिल्ला र पालिकास्तरीय छलफलको ब्रिफिङ गर्ने क्रममा गठबन्धनमा नेकपा एस घाँडो भएको र कांग्रेस घमण्डी भएको टिप्पणी गरेका थिए । नेकपा एसलाई छाडेर जान पनि नसकिने र मागेजति दिएर गठबन्धन हुने अवस्था पनि नरहेको ब्रिफिङ बैठकमा भएको थियो ।

माओवादीका अर्का एक नेताले भने, ‘नेकपा एसका नेता हेर्दा राम्रा छन् । तर, तल जनमत छैन । उहाँहरुले हैसियतभन्दा बढी माग्दा पनि समस्या भएको छ । कांग्रेसको घमण्डको त कुरै नगरौं । यस्तो अवस्थामा देशैभरि तालमेलको सम्भावना त लगभग सकियो । उपहानगरपालिकाकै हकमा पनि कांग्रेसबाहेकको गठबन्धन हुनसक्छ ।’

माओवादी बैठकमा प्रचण्डले कांग्रेसलाई छाडेर बाँकी दलमात्र मिलेर जाँदा के होला ? भन्ने प्रस्ताव समेत राखेको बताइएको छ । यदि उपमहानगरपालिकामा कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी, जसपा र नेकपा एसमात्र मिल्दा पनि चारवटा जित्न सकिने र कांग्रेसले २ वटाभन्दा जित्न नसक्ने आँकलन माओवादीको छ ।

ती नेताले भने, ‘हैसियत अनुसार भागबण्डा नहुने हो भने कांग्रेसबाहेक हामी लडेर धरान, जितपुर सिमरा, जनकपुर र हेटौंडा जित्न सकिन्छ र घोराही पनि सम्भव हुन्छ भन्ने छ । त्यो अवस्थामा एमालेले तीनवटादेखि चारवटासम्म उपमहानगर जित्न सक्छ । घाटा कांग्रेसलाई हुने हो । गठबन्धन मिलाउँदा एमाले एउटामा मात्र सीमित हुन्छ ।’

नेकपा एसले इटहरी र हेटौंडालाई बटमलाइन बनाएको कारण पनि समस्या आएको नेताहरुले बताएका छन् । यसैबीच सोमबारको गठबन्धन बैठकमा प्रचण्डले देशभरिनै ७५३ पालिकामध्ये कांग्रेसले ४०/४५ प्रतिशत, माओवादीले ३०/३५ प्रतिशत र अरु जसपा तथा नेकपा एसले लिएर चुनाव लड्ने प्रस्ताव राखेका थिए । तर, कांग्रेसले मानेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर