दलहरू फेरि एमालेसँग मिल्छन्, त्यसैले गठबन्धन जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ) – Nepal Press

दलहरू फेरि एमालेसँग मिल्छन्, त्यसैले गठबन्धन जोगाउनुपर्छ : प्रधानमन्त्री देउवा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्नेमा जोड दिए ।

‘गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै छ । अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक छ’, देउवाको भनाइ थियो ।

गठबन्धन भएपछि ‘गिभ एण्ड टेक’ हुने देउवाले प्रष्ट्याए । आफ्नै पार्टीका नेतालाई प्रश्न गर्दै उनले कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने स्पष्ट भन्नुपर्ने बताए ।

आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको उनको जिकिर थियो । देउवाले स्कूल-स्कूलमा संगठन विस्तार गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देश दिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले डराएको टिप्पणी गरे । लोकतन्त्रलाई बलियो बनाउनका लागि लडाइँ बाँकी नै रहेकाले सवै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरूविरुद्ध सतर्क हुनुपर्ने उनको भनाइ छ ।

नेविसंघ सभापति दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेविसंघले मोबाइल एपको शुभारम्भ गरेको थियो भने नेविसंघका अग्रज नेताहरूलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर