पार्टी विभाजनबारे माधव नेपाल भन्छन् – पुष्पलालको आदर्श पछ्याएर विद्रोहको राँको बाल्यौं – Nepal Press

पार्टी विभाजनबारे माधव नेपाल भन्छन् – पुष्पलालको आदर्श पछ्याएर विद्रोहको राँको बाल्यौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पलालको आदर्श पछ्याएर एमालेबाट विद्रोह गरेको बताएका छन् ।

२००६ सालमा स्थापना गरेकाे नेपाल कम्युनिष्ट पार्टीलाई नेतृत्वमा पुगेका केशरजंग रायमाझीले दरबारको सहयोगी बनाएपछि पुष्पलालले नयाँ पार्टी स्थापना गरेको दृष्टान्त सुनाउँदै उनले यस्तो बताएका हुन् ।

‘जब केशरजंग रायमाझी कम्युनिष्ट पार्टीलाई दरबारको सहयोगी बनाउन पुगे, दरबारको पोल्टामा पुर्‍याउन पुगे । त्यसपछि पुष्पलाल विद्रोह गर्दै अर्को पार्टी बनाउन अगाडि सर्नुभयो’, नेकपा एस र नेकपा गौरवशाली पार्टीको एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘पुष्पलालको त्यही आदर्शलाई पछ्याउँदै विद्रोहको राँको बाल्यौँ ।’

यसैगरी पुष्पलालकै आदर्श पछ्याएर २०३२ सालमा ‘कोके’, २०३५ सालमा नेकपा माले र २०४७ सालमा एमाले पनि बनाएको उनले सुनाए ।

विभिन्न पार्टीहरूले पनि आआफ्नो समयमा विद्रोह गर्नुपर्ने अध्यक्ष नेपालले बताए । तर केही पार्टीहरूले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको उनकाे भनाइ छ ।

विश्व कम्युनिष्टको इतिहासबारे बताउँदै उनले एमाले कम्युनिष्ट भ्रष्टीकरणको नयाँ आयाम भएको बताए । उनले भने, ‘संसारको अनुभवले बताएको छ । कम्युनिष्ट भ्रष्टीकरणका धेरै अनुभव लेखिएका छन् । बाटो बिराएका, विचलित भएका धेरै धेरै अनुभव लेखिएका छन् ।’

यही भ्रष्टीकरणको सिलसिलामा पसेर नेकपा एमालेले जनताको आशा, अपेक्षा र विश्वासको कुठाराघात गरेको उनले आराेप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर