भरतपुर माओवादीलाई दिन्छु : देउवा, कार्यकर्ताविरुद्ध नजानुस् : चितवन कांग्रेस – Nepal Press

भरतपुर माओवादीलाई दिन्छु : देउवा, कार्यकर्ताविरुद्ध नजानुस् : चितवन कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको नेतृत्व माओवादी केन्द्रलाई दिन गरेको प्रस्ताव चितवन कांग्रेसका सभापति राजेश्वर खनालले अस्वीकार गरेका छन् ।

सभापति देउवाले आज बालुवाटार बोलाएर खनालसँग भरतपुरबारे छलफल गरेका थिए । छलफलका क्रममा देउवाले माओवादीलाई भरतपुर महानगर दिनुपर्ने अवस्था आएको भन्दै जिल्ला समितिले गरेको निर्णय सच्याउन आग्रह गरेका थिए ।

चितवन कांग्रेसको जिल्ला समिति बैठकले भरतपुरको प्रमुख नछाड्ने निर्णय गरेको थियो । सभापति देउवाले आग्रह गरे पनि कार्यकर्ताको भावना विपरीत आफूले निर्णय सच्याउन नसक्ने खनालको जवाफ थियो ।

‘पार्टी सभापतिले बोलाएर नेपाली कांग्रेस चितवनको निर्णय सच्याउन आग्रह गर्नुभयो । भरतपुरको मेयर माओवादीलाई दिनुपर्ने भयो, सहयोग गर्नुस् भन्नुभयो । मैले कांग्रेस कार्यकर्ताको भावना अनुसार माओवादीलाई भरतपुरको मेयर दिन नमिल्ने जानकारी गराए’, भेटबारे खनालले भने ।

सभापति देउवाले गठबन्धनले साँझसम्म निर्णय लिनै पर्ने अवस्था रहेको बताएका थिए । जवाफमा खनालले केन्द्रीय समितिको निर्णय मान्न राजनीतिक हिसाबले बाध्य भए पनि जिल्लाको परिस्थिति आफू एक्लैले धान्न नसक्ने बताएका थिए ।

‘केन्द्रले निर्णय गर्‍यो भने जिल्लाको निर्णय स्वतः खारेज हुन्छ हो । माथिबाट निर्णय जेसुकै होस तर जिल्लामा कांग्रेस कार्यकर्ताको भावना विपरीत म जान सक्ने अवस्था छैन’, खनालले भनेका छन् । उनले माओवादी केन्द्रलाई भरतपुरको नेतृत्व दिनेबारे पुनर्विचार गर्नसमेत देउवालाई आग्रह गरेका छन् । जवाफमा देउवाले काठमाडौं , विराटनगर र भरतपुरमध्ये एउटा मेयर कांग्रेसलाई दिनै पर्ने बताएका थिए ।

खनालले आफ्नो प्रस्ताव नमानेपछि सभापति देउवाले साँझसम्म भरतपुरको मेयर माओवादीले पाउने निर्णय आउने बताएका थिए । ‘उहाँले निर्णय आउँछ भन्नुभयो, म जय नेपाल भनेर निस्किए’ खनालले भने ।

सत्तारुढ गठबन्धनमा भरतपुरको मेयर माओवादीले लिने सहमति बनिसकेको छ । गठबन्धनको सहमति कार्यान्वयनमा सहज होस भनेर सभापति देउवाले जिल्लाका नेताहरूसँग परामर्श थालेका हुन् । देउवाले आजै कास्की र पर्साका नेताहरूसँग पनि छलफल गर्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर