कांग्रेस बुटवलको मेयर सिफारिस विवादमा, असन्तुष्ट पक्षले प्रदेश कार्यालयमा दियो निवेदन – Nepal Press

कांग्रेस बुटवलको मेयर सिफारिस विवादमा, असन्तुष्ट पक्षले प्रदेश कार्यालयमा दियो निवेदन

रुपन्देही । नेपाली कांग्रेसले बुटवलको मेयरमा खेलराज पाण्डेलाई सिफारिस गरेपछि विवाद सिर्जना भएको छ । सर्वसम्मत निर्णय भन्दै नगर सचिव छाया पोखरेलले मिडियालाई सूचना दिएपछि मेयर पदका अन्य आकांक्षीहरूले विरोध जनाएका छन् ।

कांग्रेस प्रदेश कार्यालयमा आजै असन्तुष्ट अर्को समूहले निवेदन दर्ता गराएको छ । क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरू क्रमशः पर्शुराम ढकाल र खड्क बहादुर महत लगायतले निवेदन दिएका हुन् ।

मेयर पदका आकांक्षी हरि लम्सालले नगर समितिले कुनै सामूहिक निर्णय नगरी एकपक्षीय भएकाले प्रदेश कार्यालयमा निवेदन दिएको नेपाल प्रेसलाई बताए ।

संस्थापन इतर समूहका पाण्डे नगर सभापति हुन् भने विरोध जनाउने लम्साल क्षेत्रीय सभापति हुन् । उनी पनि सोही समूहका हुन् ।

कांग्रेस नगर समितिले गरेको निर्णय भन्दै आजै नगर सचिव पोखरेलले मेयरमा पाण्डे र उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको जानकारी दिएका थिए ।

यस्तै आजै उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको थियो ।

आज गरेको उक्त सिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरूले एक वक्तव्य जारी गर्दै नगर समितिले गरेको सिफारिस बदर गर्न लुम्बिनी प्रदेश समितिसमक्ष माग गरेका छन् ।

उनीहरूले घरघरमा माइन्युट डुलाएर निर्णय गरिएको आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर