सोलोमन आइल्याण्डसँग सुरक्षा सम्झौता गरेको चीनको दाबी
काठमाडौं । चीनले दक्षिण प्रशान्त राष्ट्र सोलोमन आइल्याण्डसँग वृहत् सुरक्षा सम्झौता गरेको दाबी गरेको छ ।
चीनले सोलोमन आइल्याण्डमा आफ्नो सैन्य प्रभुत्व जमाउन सक्ने भन्दै अमेरिकाले आफ्ना सेना पठाउने घोषणा गरेको केही घण्टामा नै चीनले यस्तो दाबी गरेको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वानबेन बिङले मंगलबार दुई देशबिच सुरक्षा सम्झौतामा हस्ताक्षर भएको जानकारी गराएका हुन् ।
उनले उक्त सम्झौताको ढाँचा बारे विस्तृत जानकारी भने गराएका छैनन् । गत महिना सार्वजनिक भएको उक्त सम्झौताको ड्राफ्टका अनुसार यस सम्झौताले सोलोमन आइल्याण्डमा सामाजिक व्यवस्था कायम गर्नका निमित्त चिनियाँ आर्मीहरू परिचालन गर्न सक्ने प्रावधान समावेश गरेको छ ।
अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले यस सम्झौताका कारण सोलोमन आइल्याण्डमा चिनियाँ आर्मीको हस्तक्षेप बढ्ने र यसले समग्र दक्षिण प्रशान्त राष्ट्रहरुमा समस्या निम्ताउन सक्ने दाबी गरेका छन् ।
यता चीनले भने पश्चिमी मुलुकहरू अनावश्यक रूपमा दुई देशबिचको सम्झौतामा हस्तक्षेप गरेको बताएको छ ।
यस्तै सोलोमन आइल्याण्डका प्रधानमन्त्री मनास्से सोगाभ्रेले भने उक्त सम्झौताको नियत सोलोमन आइल्याण्डमा चिनियाँ सैनिकको आधार स्थापना गर्नु नरहेको बताउँदै आएका छन् ।