एमाले गलत ढंगले सरकारमा जान तयार छैन, जनताको विश्वास जितेर जान्छ : नेम्वाङ (भिडिओ) – Nepal Press

एमाले गलत ढंगले सरकारमा जान तयार छैन, जनताको विश्वास जितेर जान्छ : नेम्वाङ (भिडिओ)

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताएका हुन् । उनले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दाबी गरे ।

नेम्वाङले बहिखाता लिएर जनतामा हिसाबकिताब देखाउन एमाले तयार रहेको उल्लेख गरे । टर्चलाईट बालेर एमाले खोज्नुपर्छ भन्नेहरूलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उनको भनाई छ । उनले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरूको बक्सा खालि गर्ने धारणा राखे ।

त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले विभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाए । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उनको भनाई छ । पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिए ।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जीत हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर