अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान र पार्टपुर्जा सहयोग
काठमाडौं । झण्डै २ महिनादेखि रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले लडाकु विमान र क्षतिग्रस्त विमान मर्मतसम्भार गर्न आवश्यक पार्टपुर्जाहरु सहयोग गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८ सय मिलियन डलर बराबरको सहयोग गर्ने घोषणा गरेको एक हप्तामै सो सहयोग उपलब्ध गराएको अमेरिकाको केन्द्रीय रक्षा विभाग पेन्टागनले जनाएको छ ।
अमेरिकाले कतिवटा लडाकु विमान र कति मात्रामा विमानका पार्टपुर्जाहरु उपलब्ध गराएको हो, सोको संख्या भने सार्वजनिक गरिएको छैन । ‘दुई हप्ता अगाडिको तुलनामा हाल युक्रेनसँग निश्चित रुपमा धेरै लडाकु विमानहरु उपलब्ध छन्’, पेन्टागन प्रवक्ता जोन किर्बीले भने ।
कुन देशले के सहयोग गर्यो भन्ने विषयभन्दा पनि वर्तमान अवस्थासँग जुध्न युक्रेनसँग पहिलेभन्दा बढी स्राेतसाधन रहनु बढी महत्वपूर्ण हुने किर्बीको भनाइ छ । यसअघि अमेरिकालगायत पश्चिमी मुलुकहरुले जारी युद्धमा सैन्य सामग्री र हातहतियार सहयोग नगर्ने नीति अगाडि सारे तापनि अमेरिकाले हाल उपलब्ध गराएको सहयोगले उक्त नीतिमा परिवर्तन गरिएको अनुमान गर्न थालिएको छ ।
युक्रेनले यसअघि पश्चिमी मुलुकहरुसँग एमआइजी-२९ नामक लडाकु विमानको माग गरेको थियो । अमेरिका र युरोपेली संघले आगामी दिनमा पनि युक्रेनलाई निरन्तर सहयोग उपलब्ध गराइरहने घोषणा गरेका छन् ।