‘पार्टी लगभग विघटन भइसक्यो, विप्लवलाई कारबाही गरेर आफ्नो बाटो लाग्छौं’ (भिडिओ) – Nepal Press
हेमन्त वलीसँग नेपाल टक

‘पार्टी लगभग विघटन भइसक्यो, विप्लवलाई कारबाही गरेर आफ्नो बाटो लाग्छौं’ (भिडिओ)

हेमन्त वली भन्छन्- विप्लवजीसँग दुईटा गाडी छन्, घर एउटा होइन धेरै बनाइसक्नुभयो

काठमाडौं । एकीकृत जनक्रान्ति भन्दै हिँडेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अन्ततः चुनावमा भाग लिने ठाउँमा पुगेको छ । पार्टीभित्र चुनावको विपक्षमा बहुमत भएपछि महासचिव विप्लव र प्रकाण्डको टीम अहिले चोर बाटोबाट चुनावमा जान खोजिरहेको छ ।

नेपालको संविधानसमेत नस्वीकारेको सो पार्टीको केन्द्रीय समिति बैठक ११ दिन लगाएर कविलवस्तुमा केही दिनअघि मात्रै सकिएको थियो । केन्द्रीय समिति बैठकले आगामी स्थानीय निर्वाचनलाई पार्टीले उपयोग नगर्ने तर, तल्लो तहका नेता कार्यकर्तालाई पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिन खुला गर्ने निर्णय गरेको थियो ।

तर, पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचन उपयोग नगर्ने निर्णय गरेको हप्तादिन बित्न नपाउँदै पार्टीका महासचिव विप्लवको निर्देशनमा नै सचिवालय सदस्यसमेत रहेका पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ केही दिनअघि निर्वाचन आयोग पुगे । त्यतिमात्र नभएर निर्वाचनको मिति सार्नका लागि प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मलाई गुहारे ।

स्थानीय तह निर्वाचनको सदुपयोग गर्ने पार्टी महासचिव विप्लवको केन्द्रीय समितिबाट बहुमतले अस्वीकृत भएको प्रस्तावलाई कार्यान्वयन गर्नतिर पार्टी महासचिव विप्लव र प्रकाण्ड लागिपरेपछि केन्द्रीय समितिको बैठकदेखि नै निर्वाचनको विपक्षमा रहेका सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बाँस्तोलासहितका नेताले पार्टीलाई नयाँ तरिकाले अघि बढाउनुपर्ने अवस्था आएको बताएका छन् । यतिमात्र नभई पार्टीको निर्णयविपरीत जाने महासचिव तथा जोसुकै नेतालाई कारबाही गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

विप्लव नेतृत्वको नेकपाभित्रको अन्तरविरोध अहिले छरपस्ट रुपमै बाहिर आइरहेको छ । यसै सेरोफेरोमा रहेर नेपाल प्रेसले  निर्वाचनको विपक्षमा उभिएका पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ सँग गरेको कुराकानी  नेपाल टकमा ।

– माओवादीबाट विद्रोह गरेर, फेरि किरण–बादल समूहबाट पनि अलग्गिएर भूमिगत सशस्त्र गतिविधि गर्दा पनि तपाईंहरुको पार्टीको नाम स्थापित हुन सकेन । खासगरी यहाँहरुको पार्टीको नाम के हो ? विप्लव नेकपा हो कि नेकपामात्रै हो कि वा त विप्लव समूह हो ?

हाम्रो पार्टीको नाम नेकपा हो । जुन २००६ सालमा बनेको थियो । त्यसैको विकास भएको भएर नेकपा हुन पुगेको हो । जुन हाम्रो पार्टीको थवाङ महाधिवेशनबाट रहन गएको हो । त्योभन्दा अघि नेकपा माओवादी थियो । जतिबेला हाम्रो पार्टीलाई नेकपा ड्यास माओवादी पनि भन्थे । अहिले जसरी समूह भनिएको छ, त्यो होइन पार्टी नै हो ।

-पार्टीभन्दा पनि बढी विप्लवको नाम चर्चामा आउने गरेको छ । खासमा यो पार्टीको रणनीति नै हो कि के हो ?

होइन, कहिलेकाहीं के हुँदो रहेछ भन्दा पार्टीको नाममा अगाडि जोड्ने चलन छ । जस्तै नेकपा एमाले, नेकपा माले, नेकपा मसाल यस्तै यस्तै । त्यसमा पार्टीको प्रमुख नेताको नाम जोडिने रहेछ ।

मिडियाले पनि त्यसै गर्न थाले । विप्लव नेताका रुपमा अलिकति क्रान्तिकारी धारमा प्रसिद्ध पनि भए । त्यसैले गर्दा विप्लव समूह भने । प्रतिबन्धको बेला पनि हामीलाई पक्राउ गर्दा, जो पक्राउ परे पनि हाम्रो नेता–कार्यकर्ता विप्लव पक्राउ भयो पनि भनेको सुनेँ । मैले अदालतमा बयान दिने क्रममा पनि भनेको थिएँ, हाम्रो पार्टीको नाम नेकपा हो, विप्लव होइन । विप्लव त हाम्रो महासचिवको नाम हो भनेको छु ।

-राज्यको नीति तथा कानुनअनुसार दर्ता नहुने तर, समूह भन्दा किन नरमाइलो लाग्छ ?

होइन, हामीले त २०६९ सालमा विद्रोह गर्दा नै के भनेका थियौं भने यो संसदीय व्यवस्था पनि मान्दैनौं र संसदीय व्यवस्थाअनुसारको कानुन पनि मान्दैनौं । नेपालको संविधान नै हामीले जलाएर पार्टी गठन गरेको हो नि ! पार्टीमै सत्ताका रुपमा जनसरकारको गठन गर्यौं । जसको नेतृत्व अहिलेका सचिवालय सदस्य सन्तोष बुढामगरले गर्नुभएको थियो ।

उमा भुजेललाई सभामुख बनाएर सभाको पनि अभ्यास गर्यौं । यसलाई हामीले वैकल्पिक शक्तिका रुपमा अघि सारेका हौं । दर्ता हुन आवश्यक पनि छैन र आवश्यक पनि ठान्दैनौं । अरु कसैले केही गर्नु पर्दैन । हाम्रो पार्टी भनेको जनताले स्वीकृति दिएको पार्टी हो ।

-तर, बिस्तारै अहिले त त्यही संसदीय व्यवस्थाको अभ्यास गर्न खोजिरहनुभएको छ नि ?

अभ्यास गरिरहेका छैनौं । पार्टीको कपिलवस्तुमा सम्पन्न केन्द्रीय समितिको १२औं बैठकले निर्वाचनमा भाग नलिने र पार्टी दर्ता नगर्ने निर्णय गरेकाले हामीले त संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय गरेका हौं । त्यो निर्णयविपरीतको काम पार्टी महासचिव विप्लव कमरेड र प्रवक्ता प्रकाण्ड कमरेडबाट भइरहेको छ । त्यो पार्टीको अनुशासनको विषय हुनुपर्छ भनेर हामीले सचिवालय बैठकमा राखिसकेका छौं । त्यो पार्टीको आधिकारिक निर्णय होइन ।

-त्यो पार्टीको निर्णय होइन भनी रहनुभएको छ । पार्टीकै महासचिव यसमा लागिरहनुभएको हुनाले खासमा पार्टी भनेको के र उहाँ को हो, त्यसो भए ?

यस्तो अवस्थामा दुईलाइन संघर्ष नै चल्छ अर्थात जुन पक्षले निर्णयको उल्लंघन गर्छ, त्यसलाई कारबाही गर्नुपर्छ । सर्वशक्ति नै केन्द्रीय समिति हो । यसका विरुद्ध जाने कसैलाई अधिकार छैन । त्यो महासचिव होस् या अरु कोही होस् ।

१२औं बैठकले निर्वाचनमा भाग नलिने र पार्टी दर्ता नगर्ने निर्णय गरेकाले हामीले त संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय गरेका हौं । त्यो निर्णयविपरीतको काम पार्टी महासचिव विप्लव कमरेड र प्रवक्ता प्रकाण्ड कमरेडबाट भइरहेको छ ।

-उहाँहरूले निर्वाचनमा सहभागी हुने अभ्यास त सुरु गरिसक्नुभएको छ । अब के हुन्छ त ?

जुन खालको पार्टीको निर्णयविपरीत जाने कार्य भइरहेको छ । पार्टीका महासचिवबाट नै पार्टीको आन्तरिक प्रशिक्षणमा पनि निर्वाचनमा होमिन निर्देशन गइसकेको छ । निर्वाचन आयोग पुग्नुले पनि त्यो पुष्टि गरिसकेको छ । निर्वाचनमा उम्मेदवारी दिने घोषणाले पनि त्यो बुझिसकिएको छ । यो सबै जे भइरहेको छ, त्यो सबै पार्टीको निर्णयविपरीत नै भइरहेको छ । महासचिवले फिर्ता लिएको र बहुमतले अस्वीकृत गरेको प्रस्तावअनुसार जसरी गई रहनुभएको छ, अब मनोनयन दर्तासम्म के हुन्छ हामी हेर्छौं । अस्वीकृत भएको प्रस्तावमा जान खोजियो र पार्टीको निर्णय उल्लंघन गर्न खोजियो भने त कारबाही गर्नुपर्ने हुन्छ ।

-उल्लंघन गर्नतिर जानेभन्दा पनि गइसक्नुभएको छ । अब के गर्नुहुन्छ ?

हामी यसरी जानुलाई अख्तियारको दुरुपयोग भएको मान्छौं । व्यवहारिक रुपले यदि उहाँहरुले यो निर्णयलाई पालन गर्ने दिशामा नगएर उल्लंघन गर्ने दिशामा जानुभयो भने कारबाही गर्नुपर्ने र पार्टीलाई नयाँ तरिकाले अघि बढाउनुपर्ने हुन्छ ।

-बुझिने गरी भन्नुस् न कसरी जाने हो ?

होइन, जुन निर्वाचनमा जाने कुरालाई वैधानिकता दिन चाहन्छन् वा अस्वीकृत भएको प्रस्तावलाई अघि बढाउन खोज्नेहरु एकातिर स्वतः हुने नै भए । धेरैजसो केन्द्रीय सदस्य अर्थात ६८ सदस्यीय केन्द्रीय समितिमध्ये ४२ जना केन्द्रीय सदस्य र सल्लाहकार निर्वाचनको विपक्षमा उभिनुभएको छ, उहाँहरुले नयाँ ढंगले निर्णय गर्नुपर्ने हुन्छ ।

-नयाँ ढंगले जाने विषयमा तपाईंहरुले तयारी गरी सक्नुभएको छ कि पर्ख र हेरको अवस्थामा हो ?

हामी पर्ख र हेरको अवस्थामा होइन कि गहन तरिकाले र तिखो नजरले पार्टीका गतिविधिलाई नियालिरहेका छाैं । विषयलाई सहज र गम्भीर तरिकाले विश्लेषण गरिरहेका छौं । उहाँहरुले निर्वाचन प्रक्रियामा स्वःस्फुर्त रुपमा नेता कार्यकर्तालाई जान दिन खोज्नुभएको हो वा निर्णयात्मक तरिकाले जान खोज्नुभएको हो, त्यो बुझिरहेका छौं । निर्णयविपरीत नै जान खोज्नुभयो भने त्यसले पार्टी पुनर्गठनको नै माग गर्न सक्छ ।

-यो बीचमा सचिवालय बैठक पनि बसेको थियो । बैठकमा के-के कुरा भयो ?

सचिवालय बैठकमा भएका सबै कुरा त भन्न मिल्दैन । हामीले स्पष्ट रुपमा के कुरा राखेका छौं भने तपाईंहरुले केन्द्रीय समितिको बैठक सकिएको चार दिन पनि बित्न नपाउँदै र निर्णय पुस्तिकाको मसी पनि सुक्न नपाउँदै पार्टीको आन्तरिक प्रशिक्षण र निर्वाचन आयोगमा पुगेर निर्णयविपरीत काम गर्नुभयो । यसमा तपाईंहरुले नैतिकताको हिसाबले सोच्नुपर्छ भनेका छौं ।

-अनि पार्टी महासचिव र प्रवक्ताले के जवाफ दिनुभयो ?

उहाँहरुले त्यस्तो होइन भन्नुभएको छ । उहाँहरुले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्न सकिने, राष्ट्रियताको पक्षधर, एमसीसीको विरोधमा लाग्ने दल र व्यक्तिलाई सहयोग गर्न खोजेको भन्नुभयो । तर, उहाँहरुले त्यो बहानामा चोर दुलोबाट ठूलै दुलो प्रयोग गर्न खोज्नुभएको छ ।
हामीले त केन्द्रीय समितिका नेता तथा कार्यकर्ता, जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरी, पूर्व तथा अहिलेको व्युरो सदस्यलाई पनि निर्वाचनमा सहभागी गराउनु हुँदैन भनेर निर्णय गरेको हो ।

महासचिवले फिर्ता लिएको र बहुमतले अस्वीकृत गरेको प्रस्तावअनुसार जसरी गई रहनुभएको छ, अब मनोनयन दर्तासम्म के हुन्छ हामी हेर्छौं । अस्वीकृत भएको प्रस्तावमा जान खोजियो र पार्टीको निर्णय उल्लंघन गर्न खोजियो भने त कारबाही गर्नुपर्ने हुन्छ ।

पार्टीको तल्लो तहका नेताले पनि पार्टीबाट राजीनामा दिएर निर्वाचनमा स्वतन्त्र ढंगले जाने भएमात्र जान दिने भन्ने निर्णय गरिएको हो । उहाँहरुले पार्टीको निर्णय नै उल्लंघन गर्ने काम गरी रहनुभएको छ ।

-निर्वाचनको विपक्षमा जानेलाई फकाउनेदेखि नमानेपछि कारबाहीको निशानामा पनि राखिएको भन्ने सुनिएको छ नि के हो ?

त्यो त हामीले पनि सुनिरहेका छौं र देखिरहेका पनि छौं । पार्टी महासचिव र प्रवक्ताले अख्तियारको दुरुपयोग गरी रहनुभएको छ । जसरी बुर्जुवा निर्वाचनमा साम, दाम, दण्ड र भेदको नीति प्रयोग हुन्छ नि, त्यो नीति अहिले हाम्रो पार्टीका नेताहरुबाट प्रयोग भइरहेको हामीले देखिरहेका छौं । त्यो नहोस् भनेर हामी लागिरहेका छौं र खबरदारी गरिरहेका छौं । उहाँहरुले त्यसो गर्नु शोभनीय होइन । क्रान्तिकारी पार्टीको नेतृत्वले त्यसो गर्नु राम्रो पनि होइन ।

-तपाईंले आर्थिक हिनामिना गरेको आरोप पनि छ । समयमै हिसाबकिताब देखाउनुभएन र बुझाउनुभएन भने कारबाही गर्ने चेतावनी पनि दिइएको छ भन्ने सुनिन्छ नि ?

यसको वास्तविकता अर्कै छ । यसबारेमा पार्टीको केन्द्रीय समितिलाई सबै कुरा जानकारी छ । त्यतिबेलाका न्याय विभागमा रहेका आदर्श कमरेडलाई पनि त्यो धेरै जानकारी छ । उहाँ त अहिले निर्वाचनमा होमिई सक्नुभएको छ । उहाँले नै केन्द्रीय समितिको बैठकमा नै सबै कुरा स्पष्ट पारिसकेको विषय हो ।

खासमा विचारमा असफल भइसकेपछि उहाँहरु आफूलाई बचाउन यो सानो त्यान्द्रोलाई बोकेर हिँड्न खोज्नुभएको हो । यदि यस्ता खालका प्राविधिक कुरा ल्याएर सैद्धान्तिक पक्षलाई मार्ने हो भने त महासचिव र प्रवक्ता पनि जोगिन सक्नुहुन्न नि ! उहाँहरुले अख्तियार प्रयोग गरेर आर्थिक क्षेत्रमा जो अराजकता मच्चाउनुभएको छ, कुनै स्रोत नदेखाएर थुप्रै भवन बनाउनुभएको छ । थुप्रै बैंक खोल्नुभएको छ । सहकारी खोल्नुभएको छ । त्यसको हिसाबकिताब पनि गर्नुपर्ला नि ! तर, त्यो कुरा अझै भन्ने बेला भएको छैन । मनोमानी ढंगले जुन हामीमाथि आरोप लगाउनुभएको छ, त्यो सबै कुरा वाहियात हो । म के चुनौती दिन्छु भने यदि मैले बदमासी नै गरेको हो भने ममाथि अनुसन्धान गरेर कारबाही गरे हुन्छ ।

उहाँहरूले स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्न सकिने, राष्ट्रियताको पक्षधर, एमसीसीको विरोधमा लाग्ने दल र व्यक्तिलाई सहयोग गर्न खोजेको भन्नुभयो । तर, उहाँहरुले त्यो बहानामा चोर दुलोबाट ठूलै दुलो प्रयोग गर्न खोज्नुभएको छ ।

अन्नपूर्ण होटलको हकमा भन्दा साढे ४ करोड रुपैयाँ पचाउन उहाँहरुले ५० लाखको कुरा उठाउनुभएको छ । त्योबारेमा उहाँहरुलाई सबै जानकारी छ । पार्टी महासचिव विप्लवले उहाँ सही हुँदाका बखत नै ‘सुदर्शन कमरेडले कुनै पनि आर्थिक हिनामिना गर्नुभएको छैन, उहाँलाई सीधा देखेर उहाँ वरिपरि बसेका साथीहरुले दुरुपयोग गर्नुभएको छ’ भनी सक्नुभएको छ । तर अहिले महासचिव कमरेड किन यो विषयमा बोली रहनुभएको छैन ? म अचम्ममा परेको छु ।

-आर्थिक विभागको जिम्मेवारी पार्टी प्रवक्ता प्रकाण्डले नै लिइरहेको अवस्थामा तपाईं आर्थिक हिनामिनामा कसरी जोडिन पुग्नुभयो ?

होइन, त्यो पार्टीमै थियो । म मध्य कमाण्ड इञ्जार्ज भएको हुनाले मकहाँ ५० लाख आइपुगेको हो । योबारेमा मैले केन्द्रीय समितिको बैठकमा नै स्पष्ट रुपमा भनिसकेको छु । म मध्य कमाण्ड इञ्जार्ज रहेका बेला मलाई साथीहरुले अन्नपूर्ण होटलको केसकोे ५० लाख रुपैयाँ राखिदिन भनेका थिए । केही साथीहरुले त पाँच करोड नै उठाउन खोजेका थिए ।

जो काठमाडौं उपत्यकामा नेतृत्व गर्ने आधिकारिक साथीहरु हुनुहुन्थ्यो, उहाँहरुले ५० लाख लिएर आउनुभयो । त्यो अर्थ विभागका प्रमुख प्रकाण्ड कमरेड र महासचिव कमरेड विप्लवलाई मन परेन । त्यसपछि उहाँहरुले फिर्ता गर्ने भनेर मध्य कमाण्डको नेतृत्व मैले गरेको हुनाले मलाई राख्न भनियो । मैले साथीहरुलाई राख्न दिएँ । राख्नुभएका साथीहरुले पनि बुझाउछौँ नै भने ।

पार्टी महासचिव र प्रवक्ताले अख्तियारको दुरुपयोग गरी रहनुभएको छ । जसरी बुर्जुवा निर्वाचनमा साम, दाम, दण्ड र भेदको नीति प्रयोग हुन्छ नि, त्यो नीति अहिले हाम्रो पार्टीका नेताहरुबाट प्रयोग भइरहेको हामीले देखिरहेका छौं ।

तर, वर्षसम्म यो विषय नउठाएर अहिले आएर उठाइएको छ । कतिपय साथीहरु जेलमा हुनुहुन्छ । फर्किएपछि तिर्छौं पनि भनी रहनुभएको छ । यति हुँदा पनि मलाई आरोप लगाएर सैद्धान्तिक कुरा मार्न खोज्नु एकदमै गलत हो । नभएको कुरा जोडेर बदनामी गर्न खोजेको हो भने उहाँहरुका बारेमा पनि धेरै कुरा बाहिर ल्याउन सक्छौं हामी पनि ।

-भर्खरै पार्टी परित्याग गर्नुभएका भीम चापागाईंसँग जोडेर पनि ७७ लाख हिनामिना गरेको भन्ने आरोप तपाईंमाथि छ नि ?

त्यो त कस्तो हुँदो रहेछ भने यहाँ भीम चापागाईं मन परुञ्जेलसम्म मज्जाले काममा खटायो पार्टीले । उहाँले रातो खबरमा बसेर महत्वपूर्ण काम पनि गर्नुभएको थियो । त्यस क्रममा उहाँबाट पैसा उठाएर आफ्नो घरको तला पनि उठाएका छन् साथीहरुले । जो अहिले बढी चुरीफुरी गरिरहेका छन् नि, उनीहरुले नै बढी पैसा असुलेका छन् उहाँबाट नै ।

मैले केन्द्रीय समिति बैठकमा भनेको थिएँ, आम जनताका बीचमा पनि भन्नुपर्ने भयो । मसँग भीम चापागाईं जोडिएको भनेको पछिल्लो वार्ताको समयमा हो । उहाँसँग बाइक भएको हुनाले उहाँ कार्यक्षेत्रमा पनि खासै नखटिएको हुनाले उहाँको बाइकको सदुपयोग गरेर म पछिल्लो समय सँगै भएको हो ।

महासचिव र प्रवक्ता पनि जोगिन सक्नुहुन्न नि ! उहाँहरुले अख्तियार प्रयोग गरेर आर्थिक क्षेत्रमा जो अराजकता मच्चाउनुभएको छ, कुनै स्रोत नदेखाएर थुप्रै भवन बनाउनुभएको छ । थुप्रै बैंक खोल्नुभएको छ । सहकारी खोल्नुभएको छ । त्यसको हिसाबकिताब पनि गर्नुपर्ला नि !

साथीहरुसँग त गाडी छन् नि ! हामी त पैदलयात्री हो । मैले बाइकको सदुपयोग गरेर उहाँसँग हिँडिरहेको अवस्थामा पुरानो हिसाबकिताब निकालेर बुझाएका छन् । त्यो सबै आरोप फतुर नै हो । यदि म दोषी हो भने त कारबाहीको भागीदार भइहाल्छु नि ! गर्नुस् न भनेर भनिसकेको छु ।

यो खासमा के हो भने आफ्ना ठूल्ठूला भ्रष्टाचारका काण्ड लुकाउन सानातिना कुरा देखाउन खोजिएको हो । म यसबाट भाग्न खोजेको पनि होइन । भर्खरै जेलबाट आएर पार्टीभित्र भइरहेको गढबडी सम्हाल्न खोजिरहेको बेला सहयोग गर्नुपर्ने अवस्थामा अझ मलाई बदनाम गर्ने हिसाबले जुन काम र गतिविधि भइरहेका छन् र आरोप लगाइएका छन्, त्यसको हिसाबकिताब त इतिहासले गरिहाल्छ नि !

-त्यसो भए के निर्वाचनको विपक्षमा उभिएकै कारणले तपाईंलाई आरोप लगाइएको हो ?

हो, पक्कै पनि त्यही अभ्यास हो । क्रान्तिमा लागेका कतिपय नेताले सत्ताको प्रयोग गर्न घटिया काम गर्ने रहेछन् । यतिमात्र होइन सत्ताको प्रयोग गर्न हाम्राविरुद्ध पनि जान सक्छन् । शारीरिक रुपमा पनि हमला गर्न सक्छन् । त्यस्ता संकेत मिल्न थालेका छन् । तर, हामी डटेर सामाना गर्न तयार छौं ।

-केन्द्रीय समितिको बैठकमा निर्वाचनको विपक्षमा उभिएका सबै नेता कार्यकर्ता अझै पनि तपाईंहरुकै पक्षमा छन् कि अदलबदल भए ?

त्यस्तो धेरै अदलबदल त भएको छैन । सामान्य असर त परिहाल्छ नै किनभने भावना, दबाबसँग जोडिन्छ । जो वैचारिक र राजनीतिक हिसाबले परिपक्व हुँदैनन्, उनीहरु त फेरबदल भइरहन्छन् । अरु अधिकांश साथीहरु आफ्नो अडान र निर्णयमा स्थिर हुनुहुन्छ ।

-तपाईंहरु निर्वाचनमा नजाने निर्णयमा किन उभिनुभएको हो ?

खासमा निर्वाचन रणनीतिक विषय हो । संसदीय व्यवस्थाको निर्वाचनमा जाने निहुँ बनाएर संसदीय व्यवस्थामा रहने अवस्था बन्ने देखियो । जस्तो २०६४ को निर्वाचनमा जानेहरु गइरहने, त्यसैमा रमाइरहने अवस्था आयो नि त ! प्रचण्ड पनि त त्यसरी नै जानुभएको हो । त्यतै बिलाउनुभयो ।

म मध्य कमाण्ड इञ्जार्ज रहेका बेला मलाई साथीहरुले अन्नूपर्ण होटलको केसकोे ५० लाख रुपैयाँ राखिदिन भनेका थिए । केही साथीहरुले त पाँच करोड नै उठाउन खोजेका थिए ।

निर्वाचनमा जानेमात्र होइन, केपी ओलीले नेतृत्व गरेको बहुमतको सरकार पनि देख्यौं हामीले । आखिर त्यो पनि त टिक्न सकेन । त्यसैले संसदीय व्यवस्थाबाट समाजवादी व्यवस्था प्राप्त गर्न सकिँदैन भन्ने नै हाम्रो निष्कर्ष हो । यसमा उल्टो बाटोतिर लागेर सफलता हासिल गर्न सकिँदैन भन्ने हाम्रो तर्क हो । जता जाने हो, त्यसैको बाटो तताउनुपर्छ भन्ने हो । अब संसदीय व्यवस्थामा जान बाँकी त हामीमात्र त हौं नि ! किरणजी पनि हुनुहुन्छ ।

अहिले तर्क के गर्छन् भने साथीहरु, जिते पनि हारे पनि एक महिनामा आइहाल्छौं रे ! कसरी आउने हो एक महिनामा ? स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा जान खोजिएको हो नि त । अहिले साथीहरुको जुन खालको बसाइ, उठाइ भइरहेको छ, जुन व्यवस्थापन भइरहेको छ नि साथीहरुको त्यो सबै हेर्दा त उल्टो दिशातिर गइसकेको छ नि ! उहाँहरु एकातिर हिँडिरहनुभएको छ भने हामी अर्कोतिर हिँडिरहेका छौं । त्यसैले अब कसरी मिल्न सकिन्छ ?

-तपाईंहरु समाजवाद ल्याउँछौं भनेर माओवादीसँगै विद्रोह गरेर जानुभएको थियो । १२ जनाको हत्या गर्नुबाहेक केही गर्न सक्नुभएन नि ?

हो, तपाईंले भनेको विषयमा स्वाभाविक प्रश्न उठ्छ । एकीकृत जनक्रान्तिको कुरा गर्दा तिमीहरु पनि प्रचण्ड, बाबुराम हुँदैनौं भन्ने के ग्यारेण्टी छ भन्ने प्रश्न उठेको थियो । साथीहरुको अहिलेको अवस्था हेर्दा जनताको त्यो प्रश्न प्रमाणित भएर छोड्यो नि ! खासमा सैद्धान्तिक अडान छ कि छैन भन्ने हो । भावनात्मक कुरा त ज्ञानेन्द्र शाहीले पनि गर्छन् । खासमा सैद्धान्तिक कुरा नै प्रमुख हो ।

-समाजवाद ल्याउने बहानामा यहाँहरु टुक्रा टुक्रा हुँदै एक–दुई जनामा पुग्ने अवस्था आउन थाल्यो, होइन ?

सफल हुन्छौं र गर्छौं पनि । कसरी गर्छांै भने यो सबै साथीहरुलाई अहिलेको व्यवस्था चित्त बुझेको छैन । क्रान्तिकारी धार टुक्रिएका छन् । महान सर्वहारा क्रान्तिकारी तीव्र गति नयाँ एजेण्डा लिएर जान्छौं । सबै साथीहरुसँग छलफल गर्छौं ।

-हामी भनेको को को जानुहुन्छ ?

हामी भनेको सबै क्रान्तिकारी साथीहरु । अहिले नै को जाने, को नजाने भनेर नछुट्याऔं । अहिले छलफल पनि सुरु गरिसकेका छौं । केपी ओलीको पार्टीमा पनि समाजवादको एजेण्डा बोक्ने क्रान्तिकारी साथीहरु हुनुहुन्छ । प्रचण्ड कमरेडको पार्टीमा पनि हुनुहुन्छ कतिपय क्रान्तिकारी साथीहरु । हामी के भन्छौं भने पुराना गुँड सबै भत्काउँ र एउटा विशाल शक्ति बनाएर अभियान चलाऔं ।

-विप्लवलाई यो बेला आएर सांसद र मन्त्री हुने रहर चढ्यो होला नि ? तपाईंहरु किन बाधक ?

होइन, त्यहाँ गए पनि त्यहीं गाडी चढ्ने हो । हामीले उहाँहरुलाई गाडी चढ्न दिएकै छौं । हामीले धूलो धुवाँ खाएर पनि उहाँहरुलाई सुविधा दिएकै छौं । विप्लवजीले दुई–दुईवटा गाडी प्रयोग गरिहनुभएको छ । घर पनि बनाइ सक्नुभयो । धेरै घर पनि नबनाउनुस्, एउटा भए हुन्छ । धेरै किन चाहियो भन्दा पनि मानी रहनुभएको छैन । त्यो सबै सुविधा भनेको १७ हजार पहिले र अहिले १२ जना गरेर १७ हजार १२ जना सहिदको रगत–पसिनाको दुरुपयोग हो ।

क्रान्तिमा लागेका कतिपय नेताले सत्ताको प्रयोग गर्न घटिया काम गर्ने रहेछन् । यतिमात्र होइन सत्ताको प्रयोग गर्न हाम्राविरुद्ध पनि जान सक्छन् । शारीरिक रुपमा पनि हमला गर्न सक्छन् । त्यस्ता संकेत मिल्न थालेका छन् । तर, हामी डटेर सामाना गर्न तयार छौं ।

यति भन्दाभन्दै पनि मान्नुभएन भने भिरमा जाने गाईलाई रामराम त भन्न सकिन्छ तर काँधै थाप्न त सकिँदैन नि !

-पार्टीका नेताले घर बनाउने र गाडी चढ्ने पैसा कताबाट आएको हो ?

यसको सबै छिनोफानो गर्दै जाउँला, कताबाट आयो, कसरी आयो भन्नेबारेमा । यो सबै साथीहरुको रगत–पसिनाको योगदान हो । त्यो नगरेको भए आउने थिएन । यो कुरा भन्दा पनि अहिले साथीहरु राजनीतिक उद्देश्यबाट नै विचलित भएर अर्को बाटो जान थाल्नुभएकोप्रति हाम्रो चिन्ता हो । उहाँहरु गलत ढंगले जान खोज्दा जनताले अविश्वास गर्ने बाटोमा पुर्याइदिनुभयो र समाजवादको बाटो धमिल्याइदिनुभयो ।

-तपाईंहरु कसरी जानुहुन्छ अब ? नयाँ पार्टी नै निर्माण गरेर जाने कि अरुसँग मिलेर अघि बढ्ने ?

अब त्यो त स्वाभाविक रुपमा क्रान्तिकारीले क्रान्तिकारी बाटो नै अपनाउँछन् । यो पार्टी त विघटन करिब–करिब भई नै सक्यो । नेतृत्वले नै संसदीय व्यवस्थाको बाटो अपनाएपछि फर्काउन धेरै गाह्रो हुँदो रहेछ । प्रचण्डलाई पनि हामीले फर्काउन सकेनौं । अहिले हामी जसरी पनि जान दिन्नौं भनेर कस्सिएकै हो । त्यसबाट बचाएर यहाँसम्म ल्याइयो । यहाँसम्म ल्यउाँदा पनि अगाडि बढ्न सकिएन ।

-त्यसो भए मनोनयन दर्ता गरुञ्जेलसम्म पर्खिने र त्यसको भोलिपल्ट निर्णय गर्ने योजना हो ?

कहाँनेर हुन्छ भन्ने कुरा त उहाँहरुको गतिविधिले निर्धारण गर्छ । उहाँहरुले गतिविधि गर्नुभयो भने चाँडै पनि हुनसक्छ । नभए ढिलो पनि हुनसक्छ । हामी तयारी गरिरहेका छौं ।

विप्लवजीले दुई–दुईवटा गाडी प्रयोग गरिहनुभएको छ । घर पनि बनाइ सक्नुभयो । धेरै घर पनि नबनाउनुस्, एउटा भए हुन्छ । धेरै किन चाहियो भन्दा पनि मानी रहनुभएको छैन । त्यो सबै सुविधा भनेको १७ हजार पहिले र अहिले १२ जना गरेर १७ हजार १२ जना सहिदको रगत–पसिनाको दुरुपयोग हो ।

-तपाईंले पार्टी फुटाएर मोहन वैद्य नेतृत्वसँग वा प्रचण्डसँग एकता गर्न यस्तो गरेको हो भन्ने आरोप पनि छ नि ?

होइन, त्यो सबै गलत कुरा हो । हामीले त्यस्तो गर्नुपर्ने जरुरी छैन । यदि प्रचण्डलाई भेटेको आधारमा भन्न खोजिएको हो भने कञ्चनजी र म महासचिव र प्रकाण्डकै सल्लाहअनुसार प्रचण्डलाई भेट्न गएका हौं । माधव नेपाललाई पनि उहाँहरुकै सल्लाहमा भेट्न गएको हो ।
हामीले त हाम्रो पार्टीका जेलमा रहेका नेता कार्यकर्ताको रिहाइका लागि उहाँसँग भेटघाट गरेको हो । त्यस्तो एकता गर्न र पार्टी फुटाउन होइन । उहाँहरुको बारेमा पनि हामी स्पष्ट हुन जरुरी छ । त्यहाँ जानुभन्दा यहीं बसे भइहाल्यो नि ! प्रचण्डसँग त झन हाम्रो मिल्दै मिल्दैन । प्रचण्डसँग जाने मन हाम्रो भएको भए उहाँहरुले सिंगै पार्टी लिएर गए भैहाल्यो नि !

-तपाईंले अधिकांश कम्युनिष्ट नेतासँग संगत गर्नुभयो । प्रचण्ड, बाबुराम, किरण, बादल, विप्लवलगायतका नेतामध्ये तपाईंलाई सही र योग्य कम्युनिष्ट नेता को लाग्यो ?

यसमा भन्नुपर्दा म आफै पनि वैद्यजीको चेलो हो । त्यो भन्न पनि रुचाउँछु । उहाँले पढाएको दर्शनबाट म प्रभावित छु । इमानदारिताको हिसाबले उहाँ जति कोही नेता पनि छैन । प्रचण्डलाई मैले १० वर्षे जनयुद्धको नाइकेको हिसाबले हेर्दा एउटा डाइनामिक लिडरको हिसाबले हेर्छु । तर जबदेखि प्रचण्ड संसदीय भासमा डुब्नुभयो, त्यसलाई म घृणा नै गर्छु ।

सुरुमा उहाँले माया नै गर्नुहुन्थ्यो, पछि टक्कर परिहाल्यो । बाबुरामजीसँग बारम्बार टक्कर भइरह्यो । मैले त विदेशीको एजेण्ट हो भनेर आक्षेप पनि लगाएँ । मैले आलोचना गरेबापत कारबाही पनि भोग्नुपर्यो । त्यो पुष्टि नै भयो । बाबुरामले मलगायतका नेता कार्यकर्ता जेलमा रहेका बेला प्रकाण्डको रिहाइको माग गर्नुभयो तर हाम्रो नाम पनि लिनुभएन । उहाँको पूर्वाग्रहले नजिकबाट खासै छलफल हुन सकेन । बादलजीसँग पनि म बसेँ । उहाँ पनि भावनात्मक लिडर हो । एउटा कालखण्डमा शास्त्रीय ज्ञान प्राप्त गर्नुभयो तर अहिले अल्छी हुनुभयो ।


प्रतिक्रिया

One thought on “‘पार्टी लगभग विघटन भइसक्यो, विप्लवलाई कारबाही गरेर आफ्नो बाटो लाग्छौं’ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर