लिङदेनको नेतृत्वमा उत्साहित राप्रपा, आमसभामा देखिएको भिड भोटमा बदलिएला ? – Nepal Press

लिङदेनको नेतृत्वमा उत्साहित राप्रपा, आमसभामा देखिएको भिड भोटमा बदलिएला ?

काठमाडौं । भन्ने गरिन्छ कि, राजनीतिक दलहरूप्रति जनतामा चरम वितृष्णा छ । सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मानिसहरू थाक्दैनन् । तर, तीनै दलले आयोजना गर्ने सभामा तीनै नेताका भाषण सुन्न भने जता पनि भीड नै देखिन्छ ।

कांग्रेस, एमाले माओवादीजस्ता ठूला दलले आयोजना गर्ने सभामा भीड जम्मा हुनु त्यति ठूलो कुरा होइन । तर, गत चुनावमा राष्ट्रिय दलको हैसियतसमेत गुमाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत ठूला दलहरूकै हाराहारीमा भीड जम्मा गरिरहेको छ । पछिल्लो समय राप्रपाले गरेका सभाहरूको उपस्थिति यदि स्वतःस्फूर्त हो भने आगामी चुनावहरूमा यो पार्टीले ठूला दलहरूको टाउको नदुखाउला भन्न सकिन्न ।

दुई महिनाअघि सम्पन्न भएको केन्द्रीय महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै राप्रपामा नयाँ रक्तसञ्चार भएको थियो । जनजाति नेता राजेन्द्र लिङदेन अध्यक्ष बनेका छन् भने पुराना हस्ति कमल थापा पाखा लागेका छन् । राप्रपाले बोकेका एजेन्डाहरू भने पुरानै छन् । राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापना तथा संघीयताको खारेजी यो पार्टीको मूल एजेन्डा हो जसलाई परिवर्तन पक्षधरहरू प्रतिगामी मान्छन् ।

चुनाव घोषणा भएसँगै राप्रपाले पछिल्लो समय देशव्यापीरुपमा आमसभाहरू गर्दै आएको छ । अध्यक्ष लिङदेन आफैँ सभाहरूमा भाषण गर्न पुगिरहेका छन् । ती सभामा हजारौँको उपस्थिति देखिने गरेको छ । यद्यपि, मूलधारका सञ्चारमाध्यममा राप्रपाले विवेकशील साझाको जति पनि महत्त्व पाउँदैन ।

प्रतिगामी एजेन्डा बोकेर पूर्वपञ्चहरुको पार्टी भनेर चिनिन्छ राप्रपा । देशमा गणतन्त्र स्थापनापछि लामो समय त यो पार्टी राजनीतिक बहिष्करणमा नै पर्‍यो । अत्यन्त प्रतिकुल अवस्थामा तत्कालीन अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई जीवित राखेका थिए । तर, अहिले उनी नेपालमा राजा फर्किन नसक्ने लाइनमा उभिएका छन् र गणतन्त्रवादीको लाइनमा उभिएका छन् । उनले खोलेको पार्टी राप्रपा नेपालले एमालेको सूर्य चुनाव लिएर चुनाव लड्ने तयारी गरेको छ ।

दुई महिनाअघि सम्पन्न भएको केन्द्रीय महाधिवेशनबाट नेतृत्व परिवर्तन भएसँगै राप्रपामा नयाँ रक्तसञ्चार भएको थियो । जनजाति नेता राजेन्द्र लिङदेन अध्यक्ष बनेका छन् भने पुराना हस्ति कमल थापा पाखा लागेका छन् । राप्रपाले बोकेका एजेन्डाहरू भने पुरानै छन् ।

राप्रपाले पनि एमालेसँग हात मिलाउन खोजेको थियो । तर, एमाले र कमल थापाको सहकार्यले त्यो सम्भावनालाई टाढा धकेलेको छ । त्यसैले सम्भवतः राप्रपा एक्लै चुनावमा जानेछ । एक्लै लड्दा पनि सुखद नतिजा ल्याउनेमा राप्रपा नेताहरू आशावादी देखिन थालेका छन् । कमल थापा निस्कँदा पार्टीलाई तात्त्विक असर नपरेको उनीहरूको बुझाइ छ ।

२०७० सालको संसदीय चुनावमा राप्रपा नेपालको पक्षमा सानोतिनो लहर आएको थियो । त्यस बेला समानुपातिकतर्फ २५ सिट जितेको राप्रपा नेपालले २०७४ सालको चुनावमा भने धक्का खायो । स्थानीय तह, प्रदेश र संघीय कुनै पनि चुनावमा उल्लेख्य नतिजा ल्याउन सकेन ।

प्रतिनिधिसभामा नेकपा एमालेको सहयोगले झापा–३ मा लिङदेन निर्वाचित हुनुबाहेक थप सिट जित्न त परै जाओस्, राप्रपाका उम्मेदवार प्रतिस्पर्धामै देखिएन । समानुपातिकतर्फ ३ प्रतिशत मत नपुर्‍याउँदा राष्ट्रिय पार्टीको हैसियत बनाउन पनि चुक्यो ।

यही राप्रपाले पछिल्ला गतिविधिमा भने भीड उतार्न थालेको छ । जनआन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रणाली, संविधानमार्फत बद्लिएको राजनीतिक परिवेशमा राजतन्त्रको वकालत गर्ने पार्टीका कार्यक्रममा देखिएको भीडले धेरैलाई सोच्न बाध्य बनाएको छ ।

राप्रपाको यो भीडमा पूर्व राजसंस्थाको पनि हात रहेको कतिपयले बताउने गर्छन् । पूर्वराजसंस्था आर्थिक लगानीसमेत गरेर आरोप लगाउने जमात पनि व्यापक छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठ मुख्य तीन कारणले राप्रपामा जनताको आकर्षण बढेको बताउँछन् । पहिलो कारण भनेको २०६२/०६३ पछि मुलुकले कोरेको मार्गचित्रलाई ‘रिभ्यू’ गर्ने बेला भएकाले यस्तो भीड आफ्नो पार्टीतिर आइरहेको उनको बुझाइ छ ।

‘नेपालमा बेलाबेला जनताको मनोविज्ञान परिवर्तन भइरहन्छ । २०६२/०६३ मा देशले जुन मार्गचित्र अबलम्वन गर्‍यो, त्यो गलत थियो भन्ने जनताले बुझ्न थालेका छन्,’ उनले भने, ‘त्यही भएकाले त्यसको रिभ्युका लागि जनताले राप्रपालाई रोज्न थालेका छन् ।’

दोस्रो कारण भनेको जनतामा हिन्दुराष्ट्र र राजतन्त्रप्रतिको आस्था बढ्नु रहेको प्रवक्ता श्रेष्ठको धारणा छ ।

‘माओवादीको हिंसात्मक आन्दोलनले त्रस्त भएका जनताले यदि देशमा शान्ति र स्थिरता कायम हुनेभए गणतन्त्र र धर्मनिरपेक्षता भएपनि सही भनेर त्यसमा जान तयार भएका हुन्,’ उनी भन्छन्, ‘डेढ दशकमा त्यो सबै देखियो । तर न शान्ति भयो र स्थिरता । त्यसैकारण जनताले आफ्नो प्यारो राजतन्त्रतर्फ नै ध्यान फर्काएका छन् ।’

यस्तै, राप्रपाको पछिल्लो नेतृत्व परिवर्तनले पनि नयाँ उभार आएको श्रेष्ठ बताउँछन् । वर्षौसम्म एउटै व्यक्तिले नेतृत्व सम्हाल्दा उत्पन्न वितृष्णा लिङ्देन अध्यक्षमा निर्वाचित भएर आउँदा हटेको उनको भनाइ छ ।

श्रेष्ठले भने, ‘उहाँले दुई कार्यकाल अध्यक्ष, दुई कार्यकाल देशको नेतृत्व भनेर एजेण्डा अघि सार्नुभएको छ । जसमा परिवर्तन चाहने जनताको कुरा छ ।’

राप्रपा नेपालले एमालेसँग चुनावी तालमेल गर्दैछ । एमालेकै चुनाव चिन्ह सूर्य लिएर राप्रपा नेपालका उम्मेदवारहरु मैदानमा उत्रिने छन् । जबकि एजेन्डाका हिसाबले एमाले र राप्रपा नेपाल फरक धारका पार्टी हुन् ।

स्थानीय तह निर्वाचनमा राप्रपाले उल्लेख्य सिट जित्ने र लोकप्रिय मत हासिल गर्ने उनले दाबी गरे । अहिलेकै अवस्थामा संसदीय चुनाव भए पहिलो दल नै बन्नेसमेत उनको दाबी छ ।

राप्रपाको यो भीडमा पूर्व राजसंस्थाको पनि हात रहेको कतिपयले बताउने गर्छन् । पूर्वराजसंस्था आर्थिक लगानीसमेत गरेर आरोप लगाउने जमात पनि व्यापक छ । राप्रपामा लिङ्देनसँग अध्यक्षमा पराजित भएका पूर्वअध्यक्ष कमल थापाले शितलनिवासका कारण आफू हारेको बताएका थिए ।

कतिपय विश्लेषकहरु चाहिँ पुराना दल र नेताहरुको प्रवृत्तिबाट आजित भएको ‘फ्रस्टेड’ जनमत राजा नै ठीक भन्ने मनस्थितिमा पुगेको छ । त्यही मनस्थितिले राप्रपालाई फाइदा मिलेको उनीहरु तर्क गर्छन् ।

वरिष्ठ पत्रकार जीवराम भण्डारीले लामो समय शासन गरेका नेपाली कांग्रेस र कम्युनिष्टको विकल्प खोज्नेहरूको भीड अहिले राप्रपामा देखिन थालेको बताए ।

‘३१/३२ वर्षदेखी कि कांग्रेस कि कम्युनिष्टले देशको शासन सञ्चालन गरे, तर जनतालाई खुशी पार्न सकेनन् । उनीहरुसँग दिक्क भएका जनता अहिले विकल्पको खोजीमा छन्,’ भण्डारीले भने, ‘यसका लागि तत्कालको जल्दोबल्दो बिकल्प राजेन्द्र लिङ्देन देखिएका हुन् । राप्रपाप्रति आकर्षणको मूख्य कारण यही हो ।’

यद्यपि, देशमा विकल्प नखोज्ने जनमत नै प्रभावशाली रहेको उनी बताउँछन् ।

‘सत्ता चलाएका पार्टीसँग लाभ लिएर बसेकाहरू विकल्प खोज्दैनन् । अन्धभक्त हुन्छन् । जो तटस्थ छ, फाइदा लिएको छैन, उसले विकल्प खोज्छ,’ उनले भने ।

यसबाहेक अर्को मुल आकर्षण हिन्दू धर्मको एजेण्डा पनि रहेको वरिष्ठ पत्रकार भण्डारीको बुझाई छ ।

उनले भने, ‘नेपालमा हिन्दू धर्मालम्बीको संख्या ठूलो छ । यसबाहेक ओमकार परिवार झन् भयानक छ । उनीहरूका लागि यो मुद्दा प्रियकर हुनु स्वभाविक हो ।’

हिन्दू राष्ट्र ब्राह्मण/क्षेत्रीको मात्र एजेन्डा हो भन्ने बुझाइ रहेका बेला राप्रपा अध्यक्ष लिङ्देनले एक लिम्बुको छोरो भएर पनि यो मुद्दा उठाएकाले उनीप्रति बाहुन–क्षेत्रीकै आकर्षण बढेको भण्डारीले बताए । अर्को कारण चाहिँ प्रमुख दलहरूबीचमा अप्राकृतिक गठबन्धन पनि एक रहेको उनी बताउँछन् ।

‘अहिले कम्युनिष्ट र कांग्रेस मूल प्रतिस्पर्धी नै हुन् । उनीहरूबीचमै गठबन्धन हुँदा त्यसको असन्तुष्टीको फाइदा राप्रपा वा विप्लवजस्ता शक्तिलाई पुग्छ नै,’ उनले थपे ।

विभाजनको असर कति ?

महाधिवेशन लगत्तै राप्रपा विभाजित बनेको छ । कहिल्यै पार्टी नफुटाउने भन्दै गीता छोएर कसम खाएका पूर्व अध्यक्ष कमल थापा राप्रपाबाट अलग्गिएर नयाँ पार्टी खोलेका छन् । उनले बनाएको राप्रपा नेपालले माउ पार्टीलाई कति हानी गर्ला भन्ने प्रश्न पनि ।

राप्रपा नेपालले एमालेसँग चुनावी तालमेल गर्दैछ । एमालेकै चुनाव चिन्ह सूर्य लिएर राप्रपा नेपालका उम्मेदवारहरु मैदानमा उत्रिने छन् । जबकि एजेन्डाका हिसाबले एमाले र राप्रपा नेपाल फरक धारका पार्टी हुन् ।

मकवानपुर लगायतका एकाध जिल्लामा बाहेक अन्यत्र राप्रपा नेपालको उपस्थिति नरहेको राप्रपा नेताहरु बताउने गर्छन् । राजसंस्थाको एजेन्डा त्यागिसकेकाले सो पार्टीले राप्रपालाई कुनै असर नपुर्याउने उनीहरुको तर्क छ ।

‘हाम्रो मुख्य एजेन्डा राजसंस्था पुनर्स्थापना हो । उहाँहरुले यो एजेन्डा त्यागिसक्नुभएको छ । त्यसैले हाम्रो भोट बैंक प्रभावित हुँदैन,’ राप्रपाका एक नेताले भने ।


प्रतिक्रिया

One thought on “लिङदेनको नेतृत्वमा उत्साहित राप्रपा, आमसभामा देखिएको भिड भोटमा बदलिएला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर