राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन (भिडिओ) – Nepal Press

राप्रपाको घोषणापत्र : सुत्केरीलाई ३ हजार भत्तादेखि छात्रालाई सेनिटरी प्याडसम्मका आश्वासन (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय चुनावलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ ।

‘हाम्रै जीवनकालमा सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव छ’ भन्ने नारासहितको प्रतिबद्धता पत्र आज पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक गरेका हुन् ।

परम्परागत रूपमा चलिआएका मूल्यमान्यतालाई निरन्तरता दिँदै समयानुकूल सुधार गर्ने राप्रपाको प्रतिबद्धता पत्रमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतमा उच्च प्राथमिकता दिने तथा भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने भनिएको छ ।

राप्रपाले आफूले जितेका स्थानीय तहमा ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने तथा सबै स्थानीय ऐनको निर्माण तथा परिमार्जन गरिसक्ने जनाएको छ ।

यस्तै, हरेक वडामा स्वास्थ्य चौकी, तथा प्रसूति सेवा दिने, हरेक स्थानीय तहमा न्यूनतक एक सुलभ औषधि पसल खोल्ने, किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध खोप दिने लगायतका कार्यक्रम समेटिएका छन् । निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार रुपैयाँ मासिक भत्ता दिने आश्वासन राप्रपाले दिएको छ ।

छात्राहरूलाई निशूल्क सेनिटरी प्याड उपलब्ध गराउने तथा छात्रा शौचालय अनिवार्य गर्नेजस्ता योजनाहरू पनि छन् ।

राप्रपाले १२ कक्षासम्म पूर्ण निःशुल्क बनाउने तथा सबै स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने जनाएको छ । १–१ प्रतिभाशाली विद्यार्थीलाई चिकित्सा शास्त्र र इन्जिनियरीमा छात्रवृत्ति दिने भनिएको छ ।

अध्यक्षले लिङदेनले आफ्नो पार्टीको प्रतिबद्धता पत्र ठूलाठूला आश्वासनहरूले भरिएको लम्बेतान नभएर पार्टीले पूरा गर्न सक्ने विषयहरू मात्र समेटेर छोटो छरितो बनाइएको बताए । उनले राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेन्डा पार्टीको आधार स्तम्भ रहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर